पेरिस- फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठवटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरहरूको खोजी तीव्र बनाएको छ । अधिकारीहरूका अनुसार करिब ६० जना अनुसन्धानकर्ताको टोली उक्त घटनामा संलग्न आपराधिक गिरोहको सुराकीका लागि खटिएको छ । प्रारम्भिक अनुसन्धानले यो चोरी एक सङ्गठित अपराध समूहद्वारा योजनाबद्ध रूपमा गरिएको सङ्केत गरेको छ ।
फ्रान्सका न्यायमन्त्री जेराल्ड डार्मानिनले सोमबार लुभ्र सङ्ग्रहालयको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै भने, “हामी असफल भयौँ भन्ने निश्चित छ । किनभने कसैले पेरिसको बीचमा नै केही मिनेटभित्र अमूल्य गहना लुट्न सके र यसले फ्रान्सको छविलाई गम्भीर असर पुर्याएको छ ।”
यसैबीच, गृहमन्त्री लरेन्ट नुनेजले पनि हालै फ्रान्सका अन्य सङ्ग्रहालयहरूमा भएका डकैतीहरूलाई स्मरण गर्दै स्वीकार गरे । “सङ्ग्रहालयहरूमा सुरक्षाको अवस्था हाम्रो प्रमुख कमजोरी बनेको छ ।” अनुसन्धानका अनुसार, चोरहरूको टोली आइतबार बिहान ९ः३० देखि ९ः४० बजेसम्म (०७३०–०७४० जिएमटी) सङ्ग्रहालयमा प्रवेश गरेको थियो । उक्त सङ्ग्रहालय जनसाधारणका लागि बिहान ९ बजे मात्र खुलेको थियो ।
उनीहरूले शाही सङ्ग्रहहरू प्रदर्शनमा राखिएको ‘अपोलो ग्यालरी’ मा प्रवेश गर्नका लागि मुभरहरूले प्रयोग गर्ने जस्तै विस्तारयोग्य सिँढी भएको ट्रक प्रयोग गरेका थिए । त्यसपछि उनीहरूले झ्याल काटेर भित्र पस्न र डिस्प्ले केसहरू फोड्न उपकरणहरूको प्रयोग गरेका थिए ।
सङ्ग्रहालयमा रहेका एक आगन्तुकले मोबाइल फोनमा खिचेको छोटो भिडियो क्लिप फ्रान्सेली समाचार माध्यमहरूले प्रसारण गरेका छन् । मास्क लगाएका चोरहरूले १९औँ शताब्दीका नौवटा गहना चोरी गरेका थिए । तिनमा महारानी युजेनीको मुकुट समेत रहेको थियो ।
भाग्ने क्रममा उनीहरूले मुकुट खसाल्दा क्षति पुगेको बताइएको छ । लुभ्रको वेबसाइटका अनुसार उक्त मुकुटमा एक हजार ३५४ वटा हीरा र ५६ वटा पन्ना जडित छन् । संस्कृति मन्त्रालयका अनुसार चोरीमा आठवटा ‘अमूल्य’ गहना हराएका छन्, जसमा नेपोलियनले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई दिएको पन्ना र हीराको हार पनि समावेश छ ।
चोरी भएका अन्य वस्तुहरूमा महारानी युजेनीको अर्को मुकुट र फ्रान्सकी अन्तिम रानी मेरी–एमेलीको हार पनि रहेको छ, जसमा आठ नीलम र ६३१ हीरा छन् । सम्पूर्ण चोरी प्रक्रिया करिब सात मिनेटमै सम्पन्न भएको र सम्भवतः ‘विदेशी’ अनुभवी टोलीले सञ्चालन गरेको बताइएको छ ।
सङ्ग्रहालयका कर्मचारीहरूले तत्काल हस्तक्षेप गरेपछि चोरहरूले केही उपकरण त्यहीँ छोडेर भागेका थिए । प्रसिद्ध लिलामी गृह ड्रुटका अध्यक्ष अलेक्जान्ड्रे गिकेलोले भने, “यी चोरी भएका गहनाहरूलाई हालको अवस्थामा बेच्नु लगभग असम्भव छ ।” यो घटना सन् १९९८ पछि लुभ्रबाट भएको पहिलो ठूलो चोरी हो । त्यसबेला चित्रकार क्यामिली कोरोटको चित्र हराएको थियो । सङ्ग्रहालयहरूको कमजोर सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ ।
आलोचकहरूले सङ्ग्रहालयहरूलाई ‘बैंकभन्दा पनि कम सुरक्षित’ भएको भन्दै सरकारप्रतिको असन्तुष्टि व्यक्त गरेका छन् । गत महिनामात्रै अपराधीहरूले पेरिसको प्राकृतिक इतिहास सङ्ग्रहालयबाट करिब सात लाख डलर मूल्यको सुनको नमूना र लिमोजेस सहरको सङ्ग्रहालयबाट ७६ लाख डलर मूल्यका भाँडाकुँडाहरू चोरी गरेका थिए ।
आइतबारको लुटपाटले फ्रान्समा राजनीतिक प्रतिक्रियाहरू पनि जन्माएको छ । दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले यस घटनालाई ‘राष्ट्रका लागि असहनीय अपमान’ भन्दै सरकारको असफलताको प्रतीक बताउनुभएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले भने सामाजिक सञ्जालमार्फत् अपराधीहरूलाई समात्न र चोरी गरिएका गहना पुनः प्राप्त गर्न ‘सबै प्रयास भइरहेको’ जनाएका छन् ।
प्रतिक्रिया