फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम « Khabarhub

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उहाँका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ । 

विसं २०७४ देखि फूलखेती सुरु गरेका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूलहरू ढकमक्क फुलेका छन् । उनले भने, ‘एक लाख लागतमा फूलखेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर विस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ’, उनले भने। 

फूलखेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ । अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित हुन्। तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन् ।

‘फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन’, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउँदै सीतारामले भने, ‘प्रतिमाला १३० र प्रतिकिलो रु ६०० को दरले बिक्री गरिरहेका छाैँ ।’

सयपत्री र मखमली फुलबाट एउटा याममा ४ लाख बढी आम्दानी हुने गरेको उनले बताए। एउटा बोटबाट चारवटासम्म माला बनाउन सकिन्छ । आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लगेका छन् । 

उनले भने, ‘धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ ।’ 

दश कट्ठा जमिनबाट व्यवसाय सुरु गर्नु भएका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूलखेती गर्दै आएका छन् । सजावटमा प्रयोग हुने कट फ्लावर (तारबारे, गुलाफ, जोखेडा र गोदावरी) पनि उनले लगाएका छन् । 

फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएका सीतारामले फूलखेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने समेत गर्छन्। उनको अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ । 

फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगार समेत दिने गरेको सीतारामले बताए। कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उहाँको ‘इन्द्रेणी पुष्पखेती फार्म’बाट फूल बिक्री हुने गरेको छ । सुरुआतमा गाउँलेको प्रतिक्रियाले उनलाई हतोत्साहित गरेको थियो । धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे । तर समयसँगै उहाँको प्रयासको मूल्य सबैले देखे । 

‘अब धेरैले मलाई पछ्याइरहेका छन् । मेरो खेती हेरेर अन्य किसानले पनि फूलखेती सुरु गरेका छन्’, सीतारामले भने। उनको लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु हो । तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उनी छन्। अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ । टीकापुरमा फूल भन्ने बित्तिक्कै जोकोहीले पनि मलाई सम्झन्छन्’, उनले भने, ‘फूलखेतीले मेरो जीवनलाई रङ्गीन मात्रै बनाएको छैन । आर्थिक रुपमा बलियो समेत बनाएको छ ।’ 
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : ४३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार

आज २०८२ साल पुस २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ