काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सम्पन्न वरिष्ठ व्यवस्थापन टोलीको पहिलो बैठकले मुख्य तिन वटा विषयमा निर्णय गरेको छ ।
बैठकले मन्त्रालय र मातहतका विभाग, केन्द्र तथा महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना अनुरूप स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्नो–आफ्नो कार्यक्षेत्र अनुसारका कार्यक्रमहरूको कार्य योजना तयार गर्ने निर्णय गरेको छ ।
ती कार्य योजनाहरूलाई तत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरु हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) गरी वर्गीकरण गर्न निर्देशन दिइएको छ । यी सूचीहरू मिति २०८२ मंसिर १२ गतेभित्र मन्त्रालयमा पेश गर्नुपर्ने र नीति, योजना तथा अनुगमन महाशाखाले मंसिर १३ गतेभित्र एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरिएको छ।
साथै मन्त्रालय मातहतका विभाग तथा संघीय अस्पतालहरूबाट हुने सार्वजनिक खरिद प्रक्रिया, औषधी दर्ता प्रक्रियालाई अत्यन्तै पारदर्शी बनाई सम्बन्धित निकायले आफ्नो कार्यक्षेत्र अनुसार पूर्ण जिम्मेवारी एवं जबाफदेहीताका साथ कार्यान्वयन गर्ने साथै आफ्नो निकायबाट सम्पादन हुने कार्यहरूको बारेमा आउने गुनासाहरूको तत्काल सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नर्सिङ कर्मचारी लगायतका तलब तथा सुविधा सम्बन्धी विषयमा भएको विरोध प्रदर्शन, जेन-जी घाइतेहरूको वर्गीकरण, जेन-जी क्लिनिक सञ्चालनको अवस्था र तयारी तथा मनोसामाजिक परामर्श सेवा सञ्चालनमा सहजीकरणको लागि सानो टोली सातै प्रदेशमा खटाउने निर्णय पनि बैठकले गरेको छ ।













प्रतिक्रिया