झलनाथको आक्रोश : माधव नेपाल सत्ताको लोभमा फस्दा चार वर्ष खेर गयो, हामीले पार्टी बनाउनै सकेनौँ « Khabarhub

झलनाथको आक्रोश : माधव नेपाल सत्ताको लोभमा फस्दा चार वर्ष खेर गयो, हामीले पार्टी बनाउनै सकेनौँ


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई माओवादीसँगको एकताका नाममा अर्को गलत दिशातिर नलैजान अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएका छन्।

काठमाडौंमा दुई दिनदेखि जारी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै खनालले माओवादी केन्द्रसँग एकता गर्ने कुरा गतल भएको बताएका छन्।

उनले भने, ‘हामी माओवादीसँग एकता गर्ने नाउँमा गलत दिशातिर नजाऊँ। अहिले हामीले अरूको होइन, आफ्नै पार्टीको बारेमा सोच्नुपर्छ। बलियो क्रान्तिकारी पार्टी बनाउनुपर्छ।’

खनालले पार्टी गठनदेखि हालसम्मको चार वर्षको यात्रामा अनेक गल्ती भएको स्वीकार गर्दै त्यसको आत्मसमीक्षा गर्न नेताहरूलाई आग्रह गरे।

‘एमालेबाट विद्रोह गरेपछि हामीले क्रान्तिकारी दिशा लिने भनेका थियौँ। तर विद्रोह गरेर बाहिरिएलगत्तै बालुवाटार गएर नेपाली कांग्रेसको सरकारमा मिसियौँ, त्यहीँबाट गल्ती सुरु भयो,’ उनले स्पष्ट शब्दमा भने।

खनालले सरकारमा जानेभन्दा पहिले पार्टी निर्माणमा देशभर जनतामाझ लाग्नुपर्नेमा गलत भएको बताए । तर एमालेबाट विद्रोह गरेर पार्टी खोल्नेबित्तिकै नेता र कार्यकर्ताहरू सत्ता र पदको खोजीमा बालुवाटार र सिंहदरबारतिर फर्किएको उनले बताए। ‘हामीले पार्टी खोलेर संगठन विस्तारमा ध्यान दिएनौँ। त्यसैले हाम्रो पार्टी अरूको विकल्प बन्न सकेन,’ खनालले भने।

सत्ताको लोभमा क्रान्तिकारी दिशा हरायो

खनालले सत्ताको लोभमा पार्टीको वैचारिक दिशा कमजोर भएको बताए। ‘हामी सत्तामा पुग्ने चाहनामा यति फस्यौँ कि नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको पार्टी भन्ने कुरा गर्न पनि नहुने भयो,’ उनले भने।

अमेरिकासँग जोडिएको एमसीसी परियोजनाको विरोध गर्न पनि पार्टी हिचकिचाएको उनले बताए। ‘उपेन्द्र यादवको पार्टीसँग मिल्ने कुरा भएको थियो, प्रचण्ड पनि तयार थिए। तर हामी दक्षिणपन्थी कार्यदिशाको शिकार भयौँ,’ उनले टिप्पणी गरे।

माधव नेपाल सत्ताको लोभमा अल्मिए

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्य शैलीप्रति तीव्र असन्तुष्टि जनाए। ‘२०७९ सालको चुनावी गठबन्धनका बेला कांग्रेसले दुई वर्ष, माओवादीले दुई वर्ष र माधव नेपालले एक वर्ष सरकार चलाउने सम्झौता भएको थियो। प्रधानमन्त्री हुने लोभमा परेपछि माधव नेपालले कांग्रेसप्रति आलोचनात्मक बोल्नै छाड्नु भयो,’ उनले भने।

खनालले कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी हो भनेर पनि माधव नेपालले बोल्नै बन्द गरेका बताए । खनालले माओवादी र कांग्रेससँगको ‘टु-टु वान’को सूत्रले माधव नेपालको सोचमा भ्रम पैदा गरेको दाबी गर्दै भने, ‘त्यो सूत्रले उहाँको दिमाग भुटिदियो, एक वर्ष प्रधानमन्त्री हुने लोभले उहाँ पार्टी बनाउनेभन्दा आत्मरितमा रमाउनु भयो।’

‘पार्टीभित्र गम्भीर पक्षपात’

खनालले केन्द्रीय कमिटी पुनर्गठनमा नेतृत्वले आफू अनुकूल र मनपर्ने व्यक्तिहरूलाई मात्रै ल्याएको भन्दै आपत्ति जनाए।

‘योग्य र अनुभवी साथीहरूलाई छोडेर मनपर्नेहरूलाई मात्र कमिटीमा राखियो। यसमा मेरो घोर आपत्ति छ,’ उनले भने। ‘संख्या र बहुमत आफ्नोतिर पार्ने हिसाबले कमिटी बनाउने काम राम्रो होइन। म भोलि नै सूची सार्वजनिक गर्छु।’

‘पार्टी विधिसम्मत सञ्चालन जरुरी’

उनले पार्टीलाई विधिसम्मत रूपमा चलाउनुपर्ने भन्दै हतारमा लिइएका निर्णयहरूले संगठनलाई कमजोर बनाएको बताए। ‘हामीले अहिले आत्ममूल्यांकन गरेर नयाँ वैचारिक र संगठनात्मक दिशा तय गर्नुपर्छ,’ उनले भने।

खनालले पार्टी इतिहास सम्झाउँदै भने, ‘हामीले माले र एमाले कालमा ३५ समूहसँग एकता गरेका थियौँ। तर ती एकता वैचारिक, कार्यशैलीगत, आर्थिक र सांस्कृतिक रूपमा मेल खाएपछि मात्रै भएका थिए। अहिलेका एकतामा त्यस्तो आधार देखिँदैन।’

‘कम्युनिस्ट आन्दोलनलाई अन्योलमा राख्न हुँदैन’

खनालले नेपाली कम्युनिस्ट आन्दोलनलाई बारम्बार अन्योलमा राख्न नहुने बताए । ‘एकता भावना राम्रो हो, तर त्यसका लागि वैचारिक स्पष्टता र संगठनात्मक सुदृढता अनिवार्य छ’, उनले भने ।

उनले यो बैठकले पार्टीको दिशा र भविष्यबारे गहिरो समीक्षा गर्ने अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरे। ‘म ६० वर्षदेखि कम्युनिस्ट राजनीतिमा छु। अहिलेको यो अवस्था अध्ययन गर्न पनि यो बैठक एउटा महत्वपूर्ण अध्याय हुनेछ,’ उनले भने।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ३२ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित