लुभ्रको गहना चोरीमा मुख्य सहित पाँच जना नयाँ संदिग्ध पक्राउ « Khabarhub

लुभ्रको गहना चोरीमा मुख्य सहित पाँच जना नयाँ संदिग्ध पक्राउ


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनाको चर्चित गहना डकैतीमा संलग्न ठानिएका पाँच जना नयाँ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना मुख्य अभियुक्त रहेको पेरिसका सार्वजनिक अभियोजक लरा बेकुआउले बिहीबार जानकारी दिइन् ।

अभियोजक बेकुआउका अनुसार ती मुख्य संदिग्धमाथि प्रहरीले लामो समयदेखि निगरानी राखिरहेको थियो । उनले भनिन्, “हामीले उसलाई हाम्रो नजरमा राखेका थियौँ ।”

करिब १० करोड २० लाख अमेरिकी डलर मूल्य बराबरका चोरी गरिएका गहनामध्ये कुनै पनि वस्तु हालसम्म बरामद गर्न नसकिएको उनले बताइन् ।

बेकुआउका अनुसार डीएनए प्रमाणले उक्त मुख्य अभियुक्तलाई अक्टोबर १९ मा भएको निर्भीक चोरीसँग सीधा रूपमा जोडेको छ । ती व्यक्ति चार सदस्यीय टोलीका एक थिए, जसले अत्याधुनिक उपकरण र योजनाबद्ध तरिकाले चोरीको कार्य सञ्चालन गरेका थिए ।

अभियोजकले भनिन्, “अन्य पक्राउ परेकाहरू ती व्यक्तिहरू हुन्, जसले घटनाको क्रम र सञ्चालनबारे अनुसन्धानकर्तालाई उपयोगी जानकारी दिन सक्ने सम्भावना छ । अहिले नै विस्तृत विवरण दिनु उचित हुने छैन ।”

पाँचै जनालाई बुधबार पेरिस र वरपरका क्षेत्रमा, विशेष गरी राजधानी बाहिर रहेको सेन–सेन्ट–डेनिस क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पक्राउ परेका दुई अन्य व्यक्तिलाई पनि बुधबार चोरी र आपराधिक षड्यन्त्रको आरोप लगाइएको अभियोजन कार्यालयले जनाएको छ । ती दुवै जनाले ‘आंशिक रूपमा’ आरोप स्वीकार गरेका छन् र उनीहरूलाई पूर्व–परीक्षण हिरासतमा राखिएको छ ।

फ्रान्सेली प्रहरीका अनुसार दर्जनौँ जासुसको टोली अहिले पनि ती चारजना मुख्य चोरहरूको खोजीमा खटिएको छ । ती व्यक्तिहरूले चल्ती लिफ्ट र काट्ने उपकरणयुक्त ट्रकको प्रयोग गरी सङ्ग्रहालयको पहिलो तलाको ग्यालरीमा प्रवेश गरेर आठवटा अत्यन्त बहुमूल्य गहना लिएर भागेका थिए ।

चोरी गरिएका वस्तुमध्ये एक पन्ना र हीराले जडित हार पनि रहेको बताइएको छ । यो नेपोलियन प्रथमले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई उपहार दिएका थिए । त्यसैगरी, महारानी युजेनीको मुकुट पनि चोरी भएको पुष्टि भएको छ । यसमा करिब दुई हजार हीरा जडित छन् ।

फ्रान्सेली अधिकारीहरूले चोरीमा संलग्न सम्पूर्ण समूहको पहिचान र चोरी गरिएका अमूल्य ऐतिहासिक गहनाको पुनः प्राप्तिका लागि विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ५ : १७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर