काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति फेसबुकमा नेपाली कांग्रेस, नेकपा एमाले र अमेरिका, चीन तथा भारतजस्ता शक्ति राष्ट्रलाई लक्षित गरी अशोभनीय शब्द प्रयोग गर्दै लेखेको स्टाटसले विवादमा परेका छन् ।
उक्त स्टाटस लेखेको आधा घण्टाभित्र हटाए पनि उनको अहिले तीव्र आलोचना भइरहेको छ। देशको भूराजनीतिक संवेदनशीलतामै प्रहार गर्दै त्यसरी लेखेको भन्दै उनी आलोचनाको केन्द्रमा परेका छन् । उनकै डाइ हार्ट फ्यानसमेत अहिले उक्त विचारलाई लिएर विरोधमा उत्रिएका छन् ।
उनलाई अबको समयमा आशलाग्दा नेताका रुपमा लिने जेन-जी युवा माजिद अन्सारीले बालेनको उक्त व्यवहार र अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।
अधिवक्तासमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नै बालेनलाई संयमित र जिम्मेवार बन्न सुझाव दिएका छन् ।
‘बालेन्द्र शाहजी, तपाईं वैकल्पिक नेपाली राजनीतिको एउटा आशालाग्दो अनुहार हुनुहुन्थ्यो, शायद अहिले पनि केही हदसम्म आशा बाँकी नै छ,’ अन्सारीले लेखेका छन्, ‘तपाईं सम्हालिनुहोस्, संयमित हुनुहोस् । तपाईं भोलि नेपाल हाँक्न सक्ने सम्भावना बोकेको, पपुलिजमको सशक्त प्रतिनिधि हुनुहुन्छ ।’
बालेनले प्रयोग गरेका शब्द र अभिव्यक्ति भोलिका दिनमा देशको कूटनीतिमा गम्भीर असर पार्न सक्ने खालका रहेका पनि उनले बताएका छन् । उनले बालेनलाई रवीन्द्र मिश्रजस्ता वैकल्पिक नेताहरूले गरेजस्तो राजनीति नतुहाउन आग्रह गरेका छन् ।
‘फेसबुकले देश चल्दैन । देश चलाउन डच कर्ज होइन , पोलिटिकल विल र र पोलिटिकल कल्चर चाहिन्छ’, माजिदले भनेका छन्, ‘तपाईंले युवाहरूको आशा नमार्नु, आफ्नो राजनीतिक छवि जोगाउनु ।’
उनले भोलिका दिनमा प्रधानमन्त्री भएको अवस्थामा लागुऔषध र धुमपान नगर्न जनतालाई भन्नुपर्ने कुराको पनि ख्याल गर्न सुझाएका छन् । ‘भोलि प्रधानमन्त्री भएको खण्डमा तपाईंले लागू औषध, धुमपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भनेर जनतालाई भन्नुपर्ने हुन्छ’, उनले भनेका छन्, ‘त्यसको नैतिक धरातल आजैदेखि तयार गर्नुहोस् ।’
बालेनले अंग्रेजी अश्लील शब्द प्रयोग गर्दै देशभित्रका राजनीतिक शक्ति र शक्ति राष्ट्रहरूलाईसमेत तथानाम भनेको स्टाटस हटाएका छन् । मध्यरातिको स्टाटसबारे बालेन अहिलेसम्म बोलेका छैनन् ।













प्रतिक्रिया