‘सिडिओ’ पैदलै गाउँमा आएपछि… | Khabarhub Khabarhub

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न भएको छ ।

किमाथाङ्का भन्सार कार्यालयको नाम किमाथाङ्का भए पनि हाल खाँदबारीमा नै अवस्थित रहेको छ । कार्यालयले यस आर्थिक वर्षमा भन्सारसम्बन्धी कार्य नगरेको बताइएको छ ।

भन्सार कार्यालय भन्सार नाकामा नै व्यवस्थित गर्न जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गराइएको हो । यसले गर्दा आगामी दिनमा अन्य संरचना निर्माणको सुरुवात सहज हुनेछ ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित जिल्लाका विभिन्न कार्यालयका प्रमुख सहित प्रतिनिधि संलग्न टोलीले किमाथाङ्का क्षेत्रको निरीक्षण गरेको थियो ।

किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थपलियाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली सहितको सो टोलीले हालै किमाथाङ्कास्थित बिओपी एवं नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको थियो ।  असहज भूगोल र सीमित स्रोतका बीच स्थानीयवासीसँगको समन्वय र सहकार्यमा किमाथाङ्कास्थित सशस्त्र प्रहरी बल, सीमा सुरक्षा पोष्ट (बिओपी)ले उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

यसक्रममा सो टोलीले चीनतर्फका समकक्षीसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, स्थानीय बासिन्दाको सहज आवतजावत, विपद् व्यवस्थापनका सम्बन्धमा सूचना आदानप्रदान समन्वय र सहकार्यका विषयमा अनौपचारिक छलफलसमेत गरेको थियो ।

प्रजिअ थपलियाका अनुसार स्थानीय बासिन्दा र जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार हालसम्म किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ता भएको छैन । सो अवसरमा उनले किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ताका लागि पहल गरिने जानकारी दिए ।

किमाथाङ्का पैदलयात्रा गर्ने पहिलो प्रजिअ थपलिया
प्रजिअ थपलियाका अनुसार किमाथाङ्का जाने क्रममा सो टोलीले स्थानीयवासीका गुनासालाई तत्काल सम्बोधन एवं जिल्लामा गर्नुपर्ने र कार्यसम्पादन सम्झौताअनुसार तोकिएका निकै महत्त्वपूर्ण काम पनि सम्पन्न गरेको थियो ।

टोलीले जिल्लाकै दुर्गम भोटखोला गाँउपालिकाको हटियामा स्थानीय समस्याका विषयमा अन्तरक्रियासमेत गरेको थियो । उनले स्थानीय समस्यालाई संवाद र समन्वयबाट समाधान गर्न सकिन्छ । अतः यस्ता अन्तरक्रियाहरू प्रशासनिक कार्यसम्पादनमा निकै महत्त्वपूर्ण हुने बताए । प्रजिअ थपलियाले प्रहरी चौकी निरीक्षण, शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पनि लिएका थिए ।

त्यसैगरी, भोटखोला र मकालु गाउँपालिका क्षेत्रहरू समेट्दै प्रहरी नायब उपरीक्षक मैनालीका नेतृत्वमा प्रहरीले लामो दूरीका गस्ती सञ्चालनसमेत गरेको थियो । गस्तीले लागूऔषध कारोबार, ओसारपसारलगायत विभिन्न अपराध नियन्त्रण हुने अपेक्षा लिइएको छ ।

प्रजिअ थपलियाले जिल्ला सञ्चालित जलविद्युत् आयोजनाहरू किमाथाङ्का हाइड्रो, अपर अरुण, अरुण तेस्रो र अन्य निजी तवरबाट सञ्चालित विभिन्न आयोजनाको स्थलगत अवलोकन गरी जग्गा मुआब्जालगायत आयोजनासँग सम्बन्धित नागरिक गुनासो सुनुवाइ र सम्बोधन भएको जानकारी दिए ।

पैदल आफ्नो गाउँघर हुँदै आएकी प्रमुख जिल्ला अधिकारीसमक्ष आफ्ना कुरा राख्न गाउँवासी आतुर थिए । प्रजिअ थपलियाले भने, ‘स्थानीयवासीको कुरा प्रत्यक्ष ग्रहण गर्नपाउनु मेरा लागि ठूलो अवसर हो । यस मौकालाई गुमाउन चाहिन र बाटोमा पर्ने सबैजसो गाउँ हेदाङनागढी, लिङ्गम, छुम्सुर र किमाथाङ्कामा स्थानीयसँग अन्तरक्रिया गरेँ ।’ सो क्रममा स्थानीयले प्रजिअ समक्ष शान्ति सुरक्षा, सडक तथा विभिन्न आयोजना र अन्य स्थानीय सरोकारका विषय उठान गरी आफ्ना समस्या समेटी ज्ञापनपत्रसमेत बुझाएका थिए ।

मतदानस्थल अनुगमन
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रजिअ थपलियाले भ्रमणका क्रममा भोटखोला गाउँपालिकाका अधिकांश र मकालुका  मतदानस्थल  निरीक्षण गरेका थिए । उनका अनुसार ती मतदानस्थल मध्ये केही सामान्य र केही भौगोलिक अवस्था एवं दूरीका हिसाबले संवेदनशील छन् ।

प्रजिअ थपलियाले सम्बन्धित कार्यालयका प्रमुख र जिम्मेवार व्यक्तिहरूलाई साथमा लिई यसरी समग्र भोटखोला गाउँपालिकामा हिँडेर नै यात्रा गरी स्थानीयका गुनासा सुन्ने र समस्या बुझ्ने गरेकामा स्थानीय निकै खुसी भएका थिए ।

स्थानीयका अनुसार यसरी हिँडेर नै किमाथाङ्कासम्म यात्रा गर्ने प्रमुख जिल्ला अधिकारी थपलिया पहिलो हुन् । स्थानीयवासीले भनेका थिए, ‘अरु त सरर.. हेलिकप्टरमा आउँथे किमाथाङ्का हेर्थे, केके गर्थे जान्थे, तपाईँ हामीले देखेदेखि पहिलो सिडिओ हो यसरी भोटखोलाको सबै भूगोल र समाज बुझ्दै आउनुभएको ।’ (रासस)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : ५३ बजे

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत