काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित आज नेपाली कांग्रेसका कार्यवाहक सभापतिसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
युनियनको गत २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरूको ज्ञापनपत्र कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष बुझाएको हो ।
ज्ञापनपत्रमा मूलतः महासङ्घ फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांग्रेसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूलाई कार्यस्थलबाट नै निर्वाचनको व्यवस्था गर्नुपर्ने, जेन-जी आन्दोलनपश्चात्को उद्योग कलकारखाना, पर्यटन क्षेत्रका प्रतिष्ठानहरूमा देखिएको समस्यालाई सरकारले तथा राजनीतिक दलहरूले गम्भीरताका साथ लिनुपर्ने लगायतका १३ बुँदे निर्णीत बुँदाहरू रहेका छन् ।
युनियनका अध्यक्ष योगेन्द्र कुँवरले कार्यवाहक सभापति खड्कालाई युनियनका माग कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको बताए। उनले उद्योग कलकारखाना बन्दको अवस्थामा पुगेको र पुँजी पलायन हुने खतरा बढेकामा चिन्ता व्यक्ति गरे ।
अध्यक्ष कुँवरले कांग्रेसभन्दा जेठो संस्थाका रूपमा क्रियाशील ट्रेड युनियनमा कांग्रेसको चार लाख सदस्य सङ्ख्या रहेको छभने विभिन्न पेसाकर्मीहरू रहेको २७ वटा श्रमिक सङ्गठन महासङ्घको सदस्य रहेको पनि प्रस्ट पारे ।













प्रतिक्रिया