चितवन– चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । बागमती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।
प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४६३ र मध्यमको तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् ।
माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरुले प्रतिक्विन्टल मोटा धान दुई हजार ६०० र मध्यम धानको तीन हजार १०० मा बिक्री गर्नुपरेको गुनासो गरे ।
भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए ।
आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धानम बेच्नु परेको गुनासो सुनाउँदै भने, ‘मोटा धान तीन हजार र मध्यम धान तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।’
जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएको बताए । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनले जोड दिए ।
चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ । बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ । (रासस)













प्रतिक्रिया