ओलीको विरोधी होइन, पार्टी, पद्धति र विधिको पक्षमा कर्ण थापा « Khabarhub

ओलीको विरोधी होइन, पार्टी, पद्धति र विधिको पक्षमा कर्ण थापा


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कर्णबहादुर थापा, नेपाली राजनीतिमा परिचित नाम हो । उनी अहिले नेकपा एमाले स्थायी कमिटी सदस्य छन् । २०४४/०४५ सालदेखि नै राजनीतिमा सक्रिय थापा, २०४८ सालमा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति नै भएका थिए । सुरूदेखि नै वामपन्थी आन्दोलनमा जोडिएका थापा हाल नेकपा एमालेभित्र स्थापित नेताका रुपमा छन् । सर्वाधिक विकट भूगोलको मान्छेले सबैभूगोलमा आफ्नो प्रभाव छोड्ने विषय नै उनको राजनीतिक सफलताको जग हो ।

विद्यार्थी संगठनहुँदै पार्टी राजनीतिमा जोडिएका थापा, नेकपा एमाले बाजुराको तत्कालीन सचिव भएर काम गरे । जतिबेला पार्टी संगठनमा जोडिन त के, एमालेको नाम लिन समेत डराउने, तर्सिने बेला थियो । एमाले फूटेर माले भएपछिको पहिलो आमनिर्वाचन २०५६ सालमा उम्मेदवार बनेका थिए । तत्कालीन मालेका नेता हिक्मतजंग शाही उम्मेदवार बनेका कारण उनले हार बेहोर्नु पर्‍यो । नेपाली कांग्रेसका नेता जनकराज गिरीले चुनाव जिते । थापाले हारे ।

हारपछि उनी थप बलियो र सशक्त हुन थाले । पार्टी संगठनलाई बलियो बनाउन थापासहितका नेताहरूको योगदान छ । तत्कालीन समयमा पार्टीको नेतृत्व लिइरहेका हिक्मतजंग शाही, लालबहादुर थापा, प्रकाश शाहसहित प्रभावशाली नेताहरू नेकपा मालेतिर लागे । थापा एक्लै एमालेको पक्षमा उभिए । पार्टी एकतासम्म आफ्नो राम्रो प्रभाव छोडिसकेका थापा २०६४ मा उम्मेदवार बनेपनि फेरि पराजित हुन पुगे ।

थापा आफू ओलीविरोधी नभएको दाबी गर्छन् । विधि, पद्धति र प्रक्रियाले मात्रै पार्टी चल्छ, सामूहिकतामा विश्वास राख्दा मात्रै पार्टीको उचाइ बढ्छ, पार्टी समर्थक बढ्छन् भन्ने मान्यता उनको छ ।

पार्टीभित्रको अन्तर्घात र माओवादीको त्रास र कांग्रेसको बलियो पकडका कारण उनले त्यो चुनाव पनि गुमाउनु पर्‍यो । तर पार्टी राजनीतिमा भने उनी पार्टीबाट पहिलो केन्द्रीय सदस्य हुन पुगे । पछि पोलिटब्यूरो र हाल स्थायी कमिटी पनि उनै पहिलो हुन् । भीम रावलपछि एमालेभित्र उनको बलियो पकड रह्यो । सिनियर नेता भानुभक्त जोशी भए पनि थापाले त्यो बेला नै आफ्नै अलग प्रभाव र पहिचान बनाइसकेका थिए ।

राजनीतिक जीवनमा सक्रिय भएदेखि उनी केपी शर्मा ओली पक्षधर नेता हुन् । मदन भण्डारीको रहस्यमय मृत्युपछिका सबै दिनहरूमा ओली र विद्या भण्डारीकै निकट भएर थापाले काम गरे । २०७० को चुनाव जितेपछि सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारमा उद्योग मन्त्री भए । जुन समय केपी शर्मा ओली संसदीय दलको नेता थिए । नवौँ पार्टी महाधिवेशनको चर्को बहस चलिरहेको थियो ।

केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन थापाले भएभरको शक्ति खर्चिए । यतिसम्मकी ओलीले जितिसकेपछि आफू नेपाल सरकारका तर्फबाट भारतको मुम्बईमा हुने कार्यक्रममा भाग लिने हिँडेका थिए । ओलीको जित उनका लागि एउटा सपना जस्तै थियो । पार्टीभित्रका बलिया शक्ति माधव कुमार नेपालसँग चुनावी प्रतिस्पर्धा गर्नु थियो । तत्कालिन अध्यक्ष झलनाथ खनालहरूको साथ पनि माधवकुमार नेपालतिरै थियो । आठौं महाधिवेशनमा ओली झलनाथ खनालसँग पराजित भइसकेका थिए ।

जतिबेला थापा आफ्नो राजनीतिमाथि ओलीको पद र उचाइलाई राख्ने गर्थे । ओलीले पनि थापालाई बढी नै विश्वास राख्थ्ये । पार्टीभित्रको लडाइँ होस् या मिडिया क्षेत्रमा ओली पक्षमा उभिनु पर्ने तर्कमा, थापा अडिग रहन्थे । ओलीसँग के विमति र असहमति हुन्, त्यो थापाले जानुन्, तर उनको दाबी फरक छ ।

थापा आफू ओलीविरोधी नभएको दाबी गर्छन् । विधि, पद्धति र प्रक्रियाले मात्रै पार्टी चल्छ, सामूहिकतामा विश्वास राख्दा मात्रै पार्टीको उचाइ बढ्छ, पार्टी समर्थक बढ्छन् भन्ने मान्यता उनको छ । भदौ २० देखि २२ गतेसम्म चलेको दोस्रो विधान महाधिवेशनमा सबै एकतिर हुँदा थापा एक्लै फरक मतका साथ उभिए । उनको फरक मत बाँड्न दिइए पनि प्रस्तुत गर्न ओलीले दिएनन् । उनी त्यसपछि झन् खरो आलोचक देखिने गरेका छन् ।

थापा एमालेको यही मंसिर २७ देखि २९ सम्म हुने एघारौँ महाधिवेशनमा सचिव पदका उम्मेदवार हुन् । ओलीले विश्राम लिएर ईश्वर पोखरेललाई जिम्मेवारी दिनु पर्ने र पार्टी सामूहिकतामा चल्नु पर्ने विचार उनको छ । जसको विचार बोकेर पार्टी हिँडिरहेको छ । उही परिवारको सदस्य र मदनकै जत्तिको योग्यता र योगदान भएको मान्छेलाई सदस्यता नै दिन नहुने भन्ने निर्णयको थापा विरोध गर्दै आएका छन् ।

तर ओलीले केन्द्रीय कमिटीबाटै सम्मानित व्यक्तिलाई देशकै अभिभावक र सम्मानितका रुपमा राख्नु पर्ने भन्दै सदस्यता नवीकरणमा रोक लगाएका छन् । जुन निर्णयले २०७२ पछि नेकपा एमालेभित्रको ओली युग र ओली एकाधिकारमा विराम लागेको छ । ओलीमय एमालेको संगठनभित्र अर्को गुट बलियो सिर्जना भएको छ । जसको नेतृत्व अदृश्य रूपमा पूर्व राष्ट्रपति विद्या भण्डारीले गरिरहेकी छन् । देखिने गरि अगुवाइ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् ।

पोखरेलले ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनको पक्षमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिव गोकर्ण विष्ट, योगेश भट्टाराई, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र गोकुल बास्कोटासहित देखिएका छन् । तर यो गुटको निर्माण र सूत्रधार भने कर्ण थापा नै हुन् । विधान महाधिवेशनका २ हजार बढी प्रतिनिधि एकतिर हुँदा पनि थापाले फरक मत राखिरहे । मस्यौदा सबैको हातमा पुर्‍याउन सफल मात्रै भएनन्, ओलीमाथि पनि प्रश्न गर्न सक्ने नेता एमालेभित्र रहेको प्रमाणित गरिदिए ।

हुन त एमाले अध्यक्ष केपी शर्मा ओलीका असल अनुयायी मात्रै थिएनन्, अफ्ठ्यरो पर्दा सबैभन्दा नजिकका सहयोगी पनि थिए, थापा । पार्टीका हरेक महाधिवेशनमा उनले ओलीकै लाइनमा मत राखे । २०७० पछिको ओलीको खुलेरै समर्थन मात्रै गरेनन्, सारथि भएर काम गरे । देशभर ओली-विद्या गुट निर्माणको अगुवाइ पनि गरे ।

यतिसम्मकी नेकपापछिको ओली समूह र प्रचण्ड-माधव समूहको शक्ति विभाजन हुँदा मूलधारमै उभिएर ओलीको पक्षमा खुलेर लडे । आफ्नो राजनीति नै बिर्सेर, उनले सबै संघर्षको सामना गर्न तयार भए । सामाजिक सञ्जाल र अनलाइन मिडियामा कर्ण थापाको आवाज मात्रै ओलीको पक्षमा सुनिने दिन आएको थियो । तर अहिले त्यो ठिक उल्टो जस्तो देखिन थालेको छ ।

टिमको लडाइँ एकातिर छ । तर थापाले बोकेको आदर्श र मान्यताको लडाइँ अर्कोतिर देखिन्छ । अध्यक्ष ओली हुने कि ईश्वर त्यो प्रतिनिधिले फैसला गर्ने कुरा हो । टिम कसको जित्ने, त्यो पनि महाधिवेशनको हलबाटै निर्णय होला ? तर यहाँ मूल्य मान्यताको लडाइँ जित्नु पर्ने कुरा छ ।

तर पनि यो स्तरको बहसलाई कर्ण थापाले तिक्तता र विरोधको रूपमा लिएका छैनन् । उनले पार्टीलाई पार्टीलाई विधी पूर्वक चलाउने बहसका रूपमा लिएका छन् । उनी आफू ओली विरोधी नभएको भन्छन् । ‘म ओली विरोधी होइन्, विधिपूर्वक पार्टी चलोस्, जनस्तरको आवाजको सुनुवाई होस्, सबैखालका विचार र व्यक्तिको सम्मान होस्, भन्ने पक्षधर हो’, थापाले भन्ने गरेका छन् ।

‘ओलीलाई सी चिनफिङ र नरेन्द्र मोदी माथिको उचाइ भएको नेता भनेर मैले नै भन्या हो, त्यो स्थानमा उहाँ रहिरहनु पर्छ भन्ने मेरो मान्यता हो, तर अर्को पुस्तालाई नस्वीकार्ने र बेवास्ता गर्ने स्वभाव-शैली बेठिक छ । त्यसले उहाँको व्यक्तित्व र पार्टी आन्दोलनलाई क्षति पुग्छ, भन्ने कुरा मात्रै बुझाउन खोजिएको हो’, थापा प्रष्ट छन् ।

तर यस पटकको महाधिवेशनमा दुई लाइन प्रतिस्पर्धा हुने देखिन्छ । ओली चिट बाँडेरै आफूअनुकुल कमिटी ल्याउने पक्षमा छन् । ईश्वर पोखरेल महाधिवेशन प्रतिनिधिको आदेश मान्न तयार भएर चुनाव लड्न तयार देखिन्छन् । तर एउटा कुरा सत्य केहो भने, ईश्वरलाई ओली भारी नै हुन् । सहज जित्ने आधार छैनन् । प्रतिनिधिको मनोविज्ञान र शीर्ष नेताहरूको समर्थनले पनि ओलीमाथि नै भरोसा देखिन्छ । महाधिवेशनको फैसला पनि त्यहीअनुसार आउने अनुमान पूर्ण असत्य होइनन् ।

जब नेतृत्वबीचको चुनावी प्रतिस्पर्धा हुन्छ । त्यो बेला सबैले आफ्नो जिम्मेवारी र स्थान खोज्नेछन् । त्यो बेला ओलीले सबैलाई समेट्न भने जस्तो सहज हुने छैन् । त्यो असन्तुष्टिको सम्बोधन ईश्वर पक्षले गर्ने देखिन्छ । कतिपयले एकल निर्णयको पार्टी सञ्चालन प्रक्रियालाई भन्न नसके पनि मनदेखि नै स्वीकार गरिसकेका छैनन् । तिनीहरूको समर्थन पनि ईश्वरलाई नै रहने छ ।

उसो त, त्यो अवस्थामा बढी लाभ कर्ण थापालाई व्यक्तिगत रूपमा हुने देखिन्छ । थापा एक्ला व्यक्ति हुन्, जसले कार्यकारी पदमा २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउन आन्दोलन गरिरहे । ईश्वरहरूले ओलीको निर्णयलाई समर्थन दिइरहँदा पनि थापा विपक्षमा बोलिरहे । आफ्नो मत राख्ने अधिकारको पक्षमा लडिरहे । जुन बेला ईश्वरहरू ओलीकै पक्षमा नतमस्तक भए । योगेश भट्टराईहरूले ओली नै आवश्यक हुने भनेर सार्वजनिक रूपमै समर्थन गरिरहेका थिए ।

विधि र व्यवस्थाको पक्षमा बोल्ने थापा नै थिए । पार्टी भित्र बोल्नु पर्छ । ओलीले पनि सबै कुरा ठिक गरेका छैनन् । सुधार्न पर्छ । खबरदारी गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्ने थापालाई यो महाधिवेशनले न्याय गर्ने देखिन्छ । विरोधीकाबीच पनि अराजक शैली नै किन नहोस्, महेश बस्नेतले जसरी देशव्यापी साथ र साहस बटुले, कर्ण थापाले पनि पार्टीमाथिको राजनीति जितिसकेका छन् ।

टिमको लडाइँ एकातिर छ । तर थापाले बोकेको आदर्श र मान्यताको लडाइँ अर्कोतिर देखिन्छ । अध्यक्ष ओली हुने कि ईश्वर त्यो प्रतिनिधिले फैसला गर्ने कुरा हो । टिम कसको जित्ने, त्यो पनि महाधिवेशनको हलबाटै निर्णय होला ? तर यहाँ मूल्य मान्यताको लडाइँ जित्नु पर्ने कुरा छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि पद्धतिसहितको संगठनात्मक संरचनाको सञ्चालन र सबैको सामूहिक भावनालाई बुझ्ने नेतृत्वलाई स्थापित गर्नु पर्ने विषय कर्ण थापाको एकल एजेण्डा हो । त्यो एजेण्डा जित्न कर्ण थापाले जित्नु पर्नेछ । कर्ण थापालाई जिताउनु पर्नेछ ।

प्रतिनिधि त्यति धेरै प्रभाव र दबाबमा पनि पर्ने छैनन् । एकल शासन शैली र एकल निर्णय हाबी हुने, निषेध गर्ने, सामूहिकतालाई विस्थापित गर्ने विषयविरूद्धमा उनीहरूको मत जाहेर हुने छ । त्यो मत कर्ण थापाले पाउने मत हो । जुन मूल्य मान्यतालाई स्थापित गर्न र संस्थागत रूपमा अघि बढाउन नेतृत्व तहमा थापा अनिवार्य चाहिन्छन् ।

पार्टीभित्र नेतृत्व पुनरावलोकन, नेतृत्व परिवर्तन वा नयाँ नेतृत्व चयनको सम्भावनाबारे खुला हुन थापाकै जोडबलमा चुनावी प्रतिस्पर्धा हुने र प्रतिनिधिले स्वतन्त्र मतदानको अधिकार पाउने देखिन्छ । उमेरहद, कार्यकाल सीमा, पदाधिकारी संख्या, पदाधिकारी चयन प्रक्रिया — यी सबैलाई अधिक पारदर्शी र लोकतान्त्रिक बनाउने प्रस्ताव थापाको नै हो ।

वर्तमानमा पार्टीमा ‘विधान, नेतृत्व, निर्णय प्रक्रिया’जस्ता संरचनात्मक विषयहरू जो स्पष्ट नभएका र विवादको केन्द्रमा छन् । ती विषयको न्यायिक उठान र कार्यान्वयनका लागि पनि अनुभवी नेता चाहिन्छ । विशेषगरी पिछडिएका भेग, आदिवासी-जनजाति, दलित, महिलाहरूको समावेशी प्रतिनिधित्व र विकास सुनिश्चित हुनेगरी नीति निर्धारण गर्न, सबैलाई समेट्न र सबैको सामूहिकतामा विश्वास गर्न भन्ने कुरा विरोध होइन्, सहयोग हो ।

विधि र व्यवस्थाको पक्षमा बोल्ने थापा नै थिए । पार्टी भित्र बोल्नु पर्छ । ओलीले पनि सबै कुरा ठिक गरेका छैनन् । सुधार्न पर्छ । खबरदारी गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्ने थापालाई यो महाधिवेशनले न्याय गर्ने देखिन्छ ।

त्यसैले पार्टीभित्रको विवाद, भेदभाव, कटुता, फूटलाई टुंगो लगाउने- सबै हिस्साहरूसँग संवाद र समावेशी वार्ता गर्ने वातावरण बनाउने कुराको अगुवाई कर्ण थापाले गर्न सक्छन् । ओली देखि ईश्वर सबैको संवादको पुल र सहकार्यको आधार बनाइदिन सक्छन् ।

नयाँ पुस्ता, युवाहरू, साधारण सदस्य, टोल कमिटी तहका कार्यकर्ताहरू र आम जनता जसले नयाँ अपेक्षा राखेका छन्, उनीहरूको विश्वास खस्किने खतरा छ । यदि पार्टीले सुधार र समावेशीकरण नलागु गर्‍यो भने यो जनसेवा, लोकप्रियता र मजबुती दुवैमा असर गर्छ । यसका साथै, नेपालको बदलिँदो सामाजिक-राजनीतिक परिवेश, विकासको माग, युवाहरूको अपेक्षालाई पनि सम्बोधन गर्नु पर्ने छ । त्यसको आधार र भरोसा कर्ण थापा बन्न सक्छन् । त्यसैले उनको मान्यता विरोध होइन, समर्थन हो ।

लेखक जोशी हाल त्रिभुवन विश्वविद्यालय काठमाडौंमा स्नातकोत्तर तहमा अध्यनरत छन्

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ०४ बजे

बादल भन्छन्- अहिले नेतृत्व फेर्ने होइन, ओलीकै अगुवाइमा एमालेलाई ठूलो पार्टी बनाउने हो 

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान

काठमाडौं– एमालेको ११ औं महाधिवेशनको पुर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा आज

बीमाका लागि पशुको नामसारी अनिवार्य

चितवन– पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको

‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति

मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक