ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी र अवसरवादी « Khabarhub

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी र अवसरवादी


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न तयार गरेको दस्तावेजमा अन्य राजनीतिक दलको पनि मूल्याङ्कन गरिएको छ।

पोखरेलले सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता गराएको अवधारणा-पत्रले देशको वर्तमान राजनीतिक संकट,  जेन-जी आन्दोलनको समीक्षा र पार्टीको आन्तरिक लोकतान्त्रिकरणलाई मुख्य विषय बनाएको छ।

पत्रमा भदौ २३–२४ गतेका घटनालाई ‘अकल्पनीय’ र ‘सुनियोजित विध्वंस’ का रूपमा चित्रण गर्दै अन्तरिम सरकारको गठन र संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिइएको छ।

यो अवधारणा-पत्रले एमालेलाई राजनीतिक संकटबाट उकास्ने र युवा पुस्तासँग जोड्ने दिशातर्फ निर्देशित गरेको देखिन्छ। महाधिवेशनमा यसमाथि विस्तृत छलफल हुने अपेक्षा छ। तर अध्यक्ष केपी शर्मा ‌ओलीले निषेध गर्ने सम्भावना पनि बलियो छ ।

एमाले महाधिवेशनमा पेश गर्न तयार पारिएको अवधारणा-पत्रमा अन्य दललाई हेर्ने दृष्टिकोणबार पनि विस्तृत चर्चा गरिएको छ।

नेपाली कांग्रेस

कांग्रेससँग वैचारिक र राजनीतिक रूपमा ठूलो खाडल रहेको दस्तावेजमा उल्लेख छ । तर उसलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा दस्तावेजले स्वीकार गरेको छ।

कांग्रेसलाई ‘पुरानो दलाल–नोकरशाही पूँजीवादको प्रतिनिधि’ भने पनि ‘लोकतान्त्रिक गठबन्धन र संवैधानिक स्थिरताका लागि उसँग सहकार्य गर्न सकिन्छ’ भन्ने नरम लाइन दस्तावेजमा पोखरेलले लिएका छन् । तर कांग्रेस विदेशी शक्तिको इसारामा चलेको अप्रत्यक्ष आरोप पनि लगाइएको छ।

माओवादी केन्द्र

दस्तावेजमा सबैभन्दा कडा आलोचना नेकपा माओवादी केन्द्रलाई गरिएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यो दल अहिले प्रचण्डपथ र माओवाद छाडेर नेपाली कम्युनिस्ट पार्टीमा परिणत भएको छ।

पोखरेलको दस्तावजेजमा ‘जनयुद्धको नाममा हिंसा र आतंक मच्चाउने, पछि आएर दलाल पूँजीवादको सेवा गर्ने दोहोरो चरित्र’ भएको आरोप माओवादीलाई लगाइएको छ।

‘भदौ २३–२४ को जेन-जी आन्दोलन दबाउन र त्यसपछि सत्ता कब्जा गर्न माओवादीले विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्‍यो’ भन्ने गम्भीर आरोप पनि लगाइएको छ । ‘माओवादी अब क्रान्तिकारी होइन, अवसरवादी र सत्तालिप्सामा डुबेको शक्ति मात्र हो’ दस्तावेजको निष्कर्षमा भनिएको छ।

एकीकृत समाजवादी (माधव नेपाल पक्ष)

एमालेलाई कमजोर पार्न विदेशी शक्तिको इसारामा पार्टी फुटाउने काम माधव नेपालले गरेको आरोप पोखरेलको छ। ‘वैचारिक रूपमा पनि स्पष्ट छैनन्, कांग्रेस र माओवादीको पुछार मात्र बनेका छन्’, दस्तावेजमा भनिएको छ। ‘फुटेर गएकाहरूलाई फर्कन अपील गर्न सकिन्छ तर उनीहरूले गम्भीर आत्मालोचना नगरेसम्म विश्वास गर्न सकिँदैन’, पोखरेलले दस्तावेजमा भनेका छन् ।

राप्रपा, जसपा, लोसपा, जनमत,  नागरिक उन्मुक्ति जस्ता दलहरू स्थानीय र क्षेत्रीय मुद्दामा बलिया भए पनि राष्ट्रिय रूपमा निर्णायक शक्ति बन्न नसकेका निचोड दस्तावेजको छ । ‘एमालेसँग वैचारिक र राजनीतिक दूरी भए पनि संवैधानिक स्थिरता र राष्ट्रियताको मुद्दामा सहकार्य गर्न सकिन्छ’, दस्तावेजमा भनिएको छौ।

राप्रपालाई ‘राजावादी एजेन्डा बोकेको’ र अन्यलाई ‘पहिचानको नाममा विदेशी इसारामा चल्ने जोखिम’ भएको टिप्पणी उनले गरेका छन् ।

नयाँ पुस्ताका दलहरू (रवि लामिछानेको रास्वपा आदि)

‘सामाजिक सञ्जाल र युवा असन्तुष्टिको बलमा आएका हुन्, तर वैचारिक र संगठनात्मक आधार कमजोर छ’, पोखरेलले दस्तावेजमा भनेका छन्, ‘यी शक्तिहरूलाई व्यवस्थाविरोधी र अराजक बनाउन विदेशी शक्तिले प्रयोग गर्न सक्छन् ।’

तर उनीहरूका केही सकारात्मक मुद्दा (सुशासन, भ्रष्टाचार नियन्त्रण) लाई एमालेले आत्मसात् गर्नुपर्ने सुझाव पनि उनले दिएका छन् ।

समग्रमा वामपन्थी एकताको लाइनमा उभिएका उनले ‘सच्चा वामपन्थीहरू एमालेमै रहेको दाबी पनि गरेका छन् ।

‘माओवादी र एकीकृत समाजवादीले आत्मालोचना गरेमा वाम एकता सम्भव छ, नत्र एमाले एक्लै पनि समाजवादको नेतृत्व गर्न सक्षम छ’, उनले भनेका छन् ।

पोखरेलको अवधारणा-पत्रले अन्य दलहरूलाई मुख्यतः तीन श्रेणीमा राखेको छ – सहकार्य गर्न सकिने (कांग्रेस, क्षेत्रीय दलहरू) कडा आलोचना र अलग राख्ने (माओवादी केन्द्र) सशर्त एकताको अपील गर्ने (माधव नेपाल पक्ष र अन्य साना वाम दलहरू)।

यो दृष्टिकोणले एमालेलाई ‘राष्ट्रिय राजनीतिको केन्द्र’ का रूपमा स्थापित गर्दै अरूलाई परिधिमा राख्ने रणनीति पोखरेलको दस्तावजले लिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ५ : ०० बजे

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली

पूर्वराष्ट्रपति युनलाई सात वर्षको जेल सजाय, कानूनी संकट थप गहिरियो

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण