सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की « Khabarhub

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ सङ्कल्प आवश्यक रहेकामा जोड दिएकी छिन् ।

सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकाङ्क्षा पूर्ण गर्न सकिने उल्लेख गरेकी छिन् ।

‘झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो । उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ’, उनले सन्देशमा उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताएकी छिन् । खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनले उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले हालका अध्यक्षको रूपमा नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उल्लेख गरिन् ।

संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एक चौथाइ जनताका लागि ठोस लाभहरू पुर्‍याउन सकिने प्रधानमन्त्री कार्कीको भनाइ छ । उनले यस चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भन्ने कामना गरेकी छिन् ।

सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन् । यस सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौंमा स्थापना गरिएको हो ।

सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् । शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ । सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौंमा भएको थियो । त्यसयता र्साकको शिखर सम्मेलन हुन सकेको छैन ।

सङ्गठनका सबै तहका निर्णयहरू सर्वसम्मतिका आधारमा गरिने, साथै द्विपक्षीय तथा विवादास्पद विषयहरूलाई सङ्गठनको छलफलबाट बाहिर राखिनेलगायत सार्क चार्टरका उद्देश्य रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : २६ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै