सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ? « Khabarhub

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?



काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ । आजको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।

सुदूरपश्चिम रोयल्सले फाइनलसम्मको यात्रामा आफूलाई निकै बलियो रुपमा प्रस्तुत गरेको छ । लिग चरणमा लगातार पाँच खेल जितेर प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम केवल एक खेलमा पराजित भयो । लिग चरणको अन्तिम खेलमा विराटनगर किङ्ग्ससँग सुदूरपश्चिम रोयल्सले हार व्यहोरेको थियो । अन्तिम खेलमा पराजय भोग्यो । तर, पहिलो क्वालिफायरमा त्यही विराटनगर किङ्सलाई नै ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले सीधै फाइनल यात्रा तय ग¥यो । गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।

सुदूरपश्चिमको टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अब्बल देखिएको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोलीले लिग चरणमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र चितवन राइनोजमाथि प्रभावशाली जित हासिल गरेको छ । व्यक्तिगत प्रदर्शनमा विनोद भण्डारीले ८ खेलमा आफ्नो टिमका लागि सर्वाधिक २६४ रन बनाएका छन् । आरिफ शेखले १८०, कप्तान ऐरी १४९, इशान पाण्डे १२७ र हरमित सिंहले १२३ रन बनाएका छन् ।

बलिङमा अविनाश बोहराले १६ विकेटसहित प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिएका छन् । हरमित सिंहले १२, स्कट कुगेलाइनले १० र कप्तान ऐरीले ८ विकेट लिएका छन् । कप्तान ऐरीले १० क्याच र डाइरेक्ट हिट रन आउटमार्फत फिल्डिङमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।

अर्कोतर्फ, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको थियो । तर, यस संस्करणमा निरन्तर सुधारिएको खेल देखाउँदै ट्रफी उठाउने दृढ संकल्पका साथ लुम्बिनीले फाइनल खेल्दैछ । सुरुवाती खेल जितेपछि लगातार तीन खेलमा पराजित भए पनि अन्तिम तीन खेलमा विजय हासिल गर्दै प्लेअफमा स्थान बनाएको लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हरायो ।

त्यसपछि दोस्रो क्वालिफायरमा पनि लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गर्यो । प्रतियोगिताको बीचमा विदेशी खेलाडी र टिम संयोजनमा परिवर्तनले टोलीमा सकारात्मक प्रभाव पारेको छ । मध्यक्रमको ब्याटिङ अझ बलियो बन्ने सम्भावना छ भने बलिङमा पनि लुम्बिनी बलियो देखिएको छ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ९ खेलमा २६० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । अस्ट्रेलियन डार्शी शर्टले २४२ रन बनाएका छन् भने निरोशन डिक्वेलाले ५ खेलमा १२६ रन योगदान दिएका छन्। बलिङमा शेर मल्ल १४ विकेटसहित सर्वाधिक विकेट लिएका छन् भने नामिबियाका खेलाडी रुबेन ट्रम्पलमनले १२ विकेट लिएका छन् । यी दुई बलरले विपक्षीलाई सुरुवातदेखि नै दबाबमा राखेका छन् । कप्तान रोहित पौडेलले पनि ७ विकेट लिएका छन् ।

यसरी, फाइनल खेल सुदूरपश्चिम रोयल्सको स्थिर प्रदर्शन र बलियो समग्र टोली क्षमताको सामना लुम्बिनी लायन्सको उतारचढाव पछिको मजबुत पुनरागमन र प्रभावशाली बलिङसँग हुनेछ । दुवै टोलीका खेलाडीहरूको प्रदर्शन र रणनीतिले फाइनल खेललाई अत्यन्तै रोमाञ्चक र निर्णायक बनाउने देखिन्छ । यो खेल दर्शकहरूका लागि निश्चित रूपमा उत्कृष्ट रोमाञ्चक क्षण प्रदान गर्नेछ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको यस प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । आज दुई सबल टोलीमध्ये एकले पहिलो पटक एनपीएल ट्रफी उचाल्ने छ । एनपीएलको विजेताले रु १ करोड १० लाखको आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ । उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख हात पार्नेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ४४ बजे

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं– सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल