स्वदेशमै दुःख गर्नसके बिदेसिनु पर्दैन « Khabarhub

स्वदेशमै दुःख गर्नसके बिदेसिनु पर्दैन


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्को कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उनी बाध्य भएर बिदेसिनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुगेकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन ।  

के कामका लागि विदेश जाँदै छु भन्नेसमेत थाहा नपाइ उनी बिदेसिइन् । बदलामा दुई वर्षसम्म निकै सास्ती खेप्नुपर्‍यो, ऋणधन गरेर गएकी अधिकारीलाई रित्तो हात घर फर्किने सुविधा थिएन । पछि जसोतसो साथीभाइको सहायतामा उनले अरबीको घरमा घरेलु कामदारका रुपमा काम पाइन् । 

‘त्यहाँ राम्रो घरमा काम पाउनु भनेको निकै भाग्यको कुरा हो, त्यस्तै भाग्यमानी रहेछु म । मैले काम पाएको घरका मान्छे निकै मनकारी रहेछन्’, अधिकारीले स्मरण गरिन्, ‘काम भने धेरै गर्नुपर्थ्यो । २४ सै घण्टा काममा खट्नुपर्ने अवस्थासमेत आउने ।’ 

अचेल अधिकारीलाई त्यति समय नेपालमै श्रम बगाएको भए पनि धेरै आर्थिक लाभ हुने रहेछ भन्ने लागिरहेको छ । ‘वैदेशिक रोजगारीमा जानु हामीजस्ता महिलाका लागि रहरभन्दा पनि बाध्यता नै हो । विदेश गएर दुई चार पैसा ल्याई बस्ने बास र छोराछोरी पढाउने आशमा बिदेसिनुपर्ने अवस्थाका कति छन् कति’, उनी भन्छिन् । 

त्यही बाध्यता अधिकारीलाई पनि थियो, त्यसैले त साढे दश वर्षसम्म छोराछोरी पढाउनकै लागि चाहेर पनि उनले स्वदेश फिर्कन पाइनन् । ‘घर आउने चाहना कसलाई हुँदैन र ? छोराछोरी काखमा च्याप्ने रहर त थियो नि मलाई पनि’, उनी भन्छिन्, ‘तर, के गर्नु आउँदा जाँदा खर्च लाग्छ भनेर मन बाँधेर बस्थेँ । त्यसो गर्दा गर्दै साढे दश वर्ष कुवेतमा श्रम बगाएँ ।’

४० वर्षीया अधिकारी जब स्वदेश फर्किन, आफ्नै देशमा पनि शान्तले बस्न पाइनन् । परिवार, समाज र आफन्तले हेर्ने दृष्टिकोण सकारात्मक भएन । उनले आर्थिक अभावभन्दा पनि यस्तै दृष्टिकोणका कारण समस्या भोगिन् । ‘छोराछोरी छोडेर बिदेसिएकी महिलालाई राम्रो नजरले हेर्दा रहेनछन्, मैले धेरै नराम्रो सुन्नुपर्‍यो’, अधिकारीले पीडा सुनाइन्, ‘समाज, परिवार र आफन्तको त्यही असहयोगी वातावरणले मानसिक समस्या भोग्नु पर्‍यो । डिप्रेसनको औषधि खानुपर्‍यो । आत्महत्या गर्ने सुर चल्यो ।’

लाञ्छनाले भरिएको गह्रुङ्गो र विक्षिप्त मन बोकेर बाँचिरहेकी अधिकारीलाई केही समय निकै गाह्रो भयो । पछि सहकर्मी र केही सकारात्मक सोच भएका मानिसहरूमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण (रेमी)  परियोजनासँग जोडिए । 

‘त्यहाँ गएपछि पहिलो चरणमा आत्मबल बढाउने खालको सहयोग पाएँ, पछि आर्थिक मनोबल बढाउने सामग्री उपलब्ध गराइयो’, अधिकारीले भनिन्,’डिपफ्रिज र केही व्यवसाय गर्ने सामग्री उपलब्ध भयो । त्यसैको सहयोगमा चटपटे, पानीपुरीको व्यापार र किराना पसल सञ्चालन गरिरहेकी छु ।’

त्यसपछि उहाँको दैनिकी फेरिएको छ । समाजका लाञ्छना पन्छाउँदै त्यही व्यापारबाट राम्रो आम्दानीसँगै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्ने आधार बनिरहेको अधिकारले बताइन् । 

सुनसरीबाट अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काठमाडौँ आएकी उनले आफ्नो प्रगति सुनाउँदै भनिन्,’वैदेशिक रोजगारमा गएर मात्रै समस्या सुल्झिन्न रहेछ । हामीले स्वदेशमै लाज नमानी काम गर्ने हो भने अर्काको देशमा दुःख गर्नु पर्दैन । परिवारसँगै बसेर सम्मानित जीवन बाँच्न सकिने रहेछ ।’

उनीजस्तै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यमी बनेकी जनकपुरका नन्दु यादवको सङ्घर्ष पनि रोचक छ । कतारमा १८ वर्षसम्म श्रम गरेर फर्किएकी उनले हाल माछा तथा पशुपालन व्यवसाय गरिरहेका छन् । ५६ वर्षीय यादवले आफ्नो अनुभव सुनाउँदै भने, ‘विदेश जानु नराम्रो होइन, सीप सिकेर जाँदा राम्रै हुन्छ । जाँदा सीप सिकेर गइएन भने धेरै दुःख पाइन्छ । होस् गर्नुपर्छ ।’ 

२० वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था सुधार्न रु ७० हजार  ऋण लिएर कतार पुगेका उनले त्यहाँ सोचेजस्तो कमाइ नभएको बताए  । 

‘ऋणको ब्याज तिर्दै विदेशको पैसा सकियो । केही रकम परिवारको आवश्यकता पूर्तिकै काममा सकियो’, यादव भन्छन्, ‘समस्या त घर फर्किएपछि भयो । लगानी गर्न पैसा छैन, के गर्ने, कसो गर्ने भयो । पछि रेमी परियोजनाको सहयोगमा माछा तथा पशुपालन व्यवसाय सुरु गर्दा धेरै राहत भएको छ ।’

यादवका अनुसार हाल उनको फार्ममा अन्य दुई जना युवाले पनि रोजगार पाएका छन् । यसले धेरैपछि कर्म गर्नेलाई स्वदेशमै पनि आम्दानीका विभिन्न अवसर रहेको भन्ने महसुस भएको यादवले सुनाए । रासस

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ४० बजे

देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ