त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’ « Khabarhub

अन्तर्वार्ता

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विद्यार्थीलाई अतिरिक्त कामको व्यवस्था अपरिहार्य 



विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी सङ्गठन रहने अभ्यास छ । जसले विद्यार्थी आवाजलाई संस्थागत गर्दै विश्वविद्यालयलाई लोकतान्त्रिक अभ्यासको केन्द्र बनाउन मुख्य भूमिका निर्वाह गर्छन् । यिनै विभिन्न विचार बोक्ने सङ्गठनहरूको साझा संस्था हो स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) । यी सङ्गठन विगतदेखि नै शिक्षा क्षेत्रमा मात्र नभई देशले खोजेको परिवर्तनमा पनि सधैँ अग्रपङ्क्तिमै उभिए ।

शैक्षिक गुणस्तर, पारदर्शिता, समानता र विद्यार्थी हितसँगै दललाई जिम्मेवार बनाउँदै परिवर्तन र देश विकासको सवाल उठाउनु यसको मुख्य दायित्व हो । तर पछिल्लो दशक यता यी सङ्गठन दलीय प्रभाव, गुटबन्दीमा सीमित देखिँदा यसको मूल उद्देश्य नै प्रश्नको घेरामा परेको छ ।

सरकारी क्याम्पसमा विद्यार्थी सङ्गठन किन आवश्यक ? स्ववियु गठनको औचित्य के? लोकतान्त्रिक अभ्यासको प्रयोगशाला मानिने विश्वविद्यालयमा स्ववियुले वास्तवमै विद्यार्थीको आवाज प्रतिनिधित्व गरिरहेको छ ? दलीय प्रभाव र गुटबन्दीको आरोप लागिरहँदा स्ववियुको वास्तविक उद्देश्य कमजोर बनेको त होइन ? यी यावत् प्रश्नसहित खबरहबले त्रिभुवन विश्वविद्यालय मातहतको सबैभन्दा पुरानो त्रिचन्द्र कलेजका स्ववियु सभापति गोविन्द कोइरालासँग संवाद गरेको छ । प्रस्तुत छ संवादको सम्पादित अंश ।

लामो अलमलबीच गतसाल चैतमा भएको निर्वाचनले स्ववियु जगायो । सो निर्वाचनबाट यहाँ त्रिचन्द्र कलेजको अध्यक्ष बन्नुभयो । खासमा एउटा स्ववियु सभापतिको दैनिकी के हुन्छ ?
विद्यार्थीद्वारा स्ववियु कार्यसमितिमा निर्वाचित भइसकेपछि त्रिभुवन विश्वविद्यालयको ऐनअनुरूप सङ्गठन सम्बन्धी नियमले तोकेबमोजिम  रातो पुस्तकले दिएको जिम्मेवारीभित्र रहेर हामीले सीमित काम गर्ने हो । सभापति हुनुपूर्व म अस्तव्यस्त गफगाफमा हुन्थेँ भने यतिबेला औपचारिक भेटघाट र विद्यार्थीका मुद्दाको दौडधुप चलिरहेको छ ।

विद्यार्थीको हकहितका लागि बोल्ने, धेरै भन्दा धेरै रचनात्मक कार्यक्रम गरेर क्षमता अभिवृद्धिमा सहयोग गर्ने हो । स्ववियुसँग कार्यान्वयनको अधिकार त छैन तर हामीसँग विद्यार्थीको आशा भने धेरै छ । खासमा सरोकारवाला निकाय र विद्यार्थीका मुद्दाबीच पुलको काम स्ववियुकाे मुख्य जिम्मेवारी हो । त्यसैले हामीले आफ्नो अधिकार क्षेत्र आफैँले निर्माण गर्नुपर्छ भन्ने सोच राख्छौँ ।

हामीले कक्षा कोठामा पढाइ हुने मात्रै नभएर उनीहरूले पढिरहेको विषयसँग सम्बन्धित सीप विकासको कार्यक्रम स्ववियूमार्फत ल्याएका छौँ । जसअन्तर्गत डिजिटल अर्थशास्त्र, वित्तीय साक्षरता, माइक्रोसफ्ट लगायतमा विद्यार्थीको सीप तिखार्ने काम गरिरहेका छौँ । विश्वविद्यालयको स्वायत्तता, पारदर्शिता, परीक्षा प्रणालीलाई स्वच्छ बनाउनेसँगै कस्तो शिक्षा प्रणाली अपनाउँदा मानव स्रोतसाधन दक्ष र प्रतिस्पर्धात्मक बनाउन सकिन्छ भन्नेमा काम गरिरहेका छौँ ।

यहाँले कार्यक्षेत्र साँघुरो छ भन्नु भयो, के कस्ता सीमा अनुभूत गर्नुभयो ?
बौद्धिक हिसाबले त हामीसँग कुनै सीमा छैन तर हामी कानुन र निर्णय कार्यान्वयन गराउने निकाय भने होइनौँ । सबै काम विश्वविद्यालयको प्रशासनले नै गर्ने हो । प्रशासनमा कस्तो नीति जान्छ, त्यसलाई कसरी कार्यान्वयन गरिन्छ र विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे हामीले वकालत गर्न भने पाउँछौ । कार्यान्वयन गर्ने अधिकार नभएपछि हामीले चाहेअनुसार समयमै नतिजा दिन सक्ने अवस्था रहँदैन ।

२८ वर्ष मुनिको पुस्तालाई स्ववियु कुन चरीको नाम हो थाहा छैन । त्यहीँ पढ्नेहरू पनि यो संस्थाका बारेमा अनभिज्ञ देखिए । यसले स्ववियुको औचित्यमाथि प्रश्न उठ्यो नि हैन ?
विद्यार्थी संगठन सरकारी विद्यालयमा हुन्छ । यसले समयानुकूल आफ्नो मुद्दा बोक्न नसकेको सत्य हो । स्ववियुको निर्वाचन नै हुनुपर्ने समयभित्र भइरहेको छैन । त्योसँगै यसले काम गर्ने तौरतरिका बदल्नुपर्नेछ । स्ववियु समितिमा जेन–जी पुस्ता २८ वर्ष मुनिका नै रहने हो । हामीले विश्वविद्यालय सुधारका लागि गर्नुपर्ने काममध्ये क्याम्पसमा आफ्ना कार्यक्रमलाई कसरी इनोभेटिभ र रचनात्मक गराउने, विश्वविद्यालयमा हुने राजनीतिक आन्दोलनबारे कमै बोल्ने र विद्यार्थी राजनीतिमा लाग्दा दलको विचार बोक्ने व्यक्तिको रूपमा मात्रै हेरिने गर्दा हामीले सान्दर्भिकता गुमाउँदै गएको हो । अब यसलाई बदल्न लामो यात्रा तय गर्नुपर्नेछ ।
सुरुमा विद्यार्थी सङ्गठनले आफूलाई पार्टीको भ्रातृसंस्थाबाट स्वायत्त बनाउनु पर्‍याे । पार्टीको भाषा बोल्नुभएन । विद्यार्थी संगठन नेपालमा मात्रै होइन, विश्वभर सक्रिय छन् । उनीहरूको आन्दोलन रचनात्मक छ । त्यसैले त्यहाँ सङ्गठनको सान्दर्भिकता छ । हामीले विद्यार्थीको आशा, आवश्यकतामा काम गर्न नसकेको भान भएको छ ।

विगतमा प्रजातन्त्रदेखि गणतन्त्र स्थापनासम्म अग्रपङ्क्तिमा देखिने गरेको विद्यार्थी संगठन भदौ २३ र २४ गते भएको विद्यार्थीकै आन्दोलनमा सहभागी भएन । विद्यार्थी संगठन विद्यार्थीका मुद्दा भन्दा पनि कांग्रेस, एमाले, माओवादीका नेता कोरल्ने ठाउँ मात्र बनेको हो ?
पक्कै पनि होइन, अनौपचारिक रूपमा विद्यार्थी संगठनमा भएकै अधिकांश साथीहरूलाई त्यहाँ देखियो । उहाँहरूले स्वतन्त्र रूपमा सहभागी हुन आह्वान गरेकाले पार्टीको झण्डा बोकेर उपस्थित हुन सक्ने अवस्था थिएन । भ्रष्टाचार अन्त्य, सुशासन लगायत उहाँहरूका मुद्दा छन् । यी मुद्दा स्थापित हुन देशका विभिन्न निकायको संस्थागत विकास अपरिहार्य रहन्छ । भ्रष्टाचार अन्त्य गर्नुछ भने हामीले बारम्बार आवाज उठाइरहनुपर्छ । तर आवाज कहाँ उठाउने भन्ने पनि थाहा पाउनुपर्छ । संवैधानिक निकायमा हुने नियुक्तिको प्रावधान बदल्नुपर्ने होला । अख्तियारलाई बलियो बनाउनुपर्ने होला । यी विषयमा वकालत गर्नुपर्ला ।

जेन–जी पुस्ताका मुद्दाहरू अझ यो भन्दा पृथक छन् । मैले विश्वविद्यालयमा भएका जेन–जी पुस्तासँग कुरा गर्दा मुख्य समस्या रोजगारीको छ । जस्तै, अहिले ५ देखि ६ लाख विद्यार्थी १२ पछि जागिरका लागि मार्केटमा आउनुहुन्छ । उहाँहरूलाई सरकारले दिने अवसर करिब ५०/६० हजार मात्रै छ । त्यो बाहेक साढे चार लाखका लागि अवसर चाहियो । त्यो निजी संस्थाले ल्याउनुपर्ने हो ।

सरकारले निजी संस्थाको लगानीका लागि वातावरण बनाउन सकेको छैन । त्यसैले अब विश्वविद्यालय कस्तो बन्नुपर्छ भने कुनै विद्यार्थीसँग आइडिया छ भने त्यसलाई सरकारले स्टार्टअपसम्म बदल्नु पर्‍याे । त्यसलाई ‘पार्ट टाइम जब’का रूपमा प्रयोग गर्ने अवसर दिनुपर्छ । संसारका टप विश्वविद्यालयमा हेर्ने हो भने उनीहरूले ७५ प्रतिशत बढी विद्यार्थीलाई उनीहरूको सोचलाई प्रयोगात्मक रूपमा जाँच गर्ने अवसर दिलाइरहेका हुन्छन् । यस्तै ७० प्रतिशतलाई ‘पार्टटाइम जब’ दिलाइरहेका हुन्छन् । ती विश्वविद्यालयमा पर्याप्त स्रोतसाधनसहितको ‘इन्क्युबेसन सेन्टर’ हुन्छ ।  त्यहाँ विद्यार्थीले मेन्टरको सहयोगमा आफ्नो सोचअनुरूप एक वर्ष ६ महिना काम गर्नैपर्ने हुन्छ । त्यसरी नतिजा देखिन्छ ।

त्यस्ता सेन्टर नेपालका विश्वविद्यालयमा छैनन् ?
त्रिभुवन विश्वविद्यालयमा इन्क्युबेसन सेन्टर छ तर त्यसलाई प्रभावकारी बनाउन सकिएको छैन । किनभने, म अहिले मास्टर्स पढ्दै छु । तर अहिलेसम्म त्यो अप्रोच म सम्म आएको छैन भनेपछि अरूसम्म पनि पुगेको छैन । त्यसैले त्रिचन्द्र कलेज लगायतका देशका सबै विश्वविद्यालयका क्याम्पसमा इन्क्युबेसन सेन्टर राख्नुपर्छ भनेर हामीले पहल गरिरहेका छौँ ।

स्ववियुबिनाकाे त्रिचन्द्र कलेज परिकल्पना गरियो भने के फरक पर्छ ? स्ववियु सभापति त पार्टी नेतृत्व तहबाट विभिन्न स्वार्थमा चयन हुने गर्छ भनिन्छ नि ?
विश्वविद्यालयमा विद्यार्थीको चुनाव भएर निर्वाचित हुनु सबल पक्ष हो । निर्वाचन लोकतन्त्रको आधार हो । निर्वाचनमा आफ्ना मुद्दा राम्रो हुनेले नै जित्ने हो । स्ववियु किन हुनुपर्छ भने विद्यालय र विद्यार्थीमा धेरै मुद्दाहरू छन् । देश र राजनीतिक दलले गति लिन नसकिरहेको अवस्थामा ती मुद्दा राज्यका सम्बन्धित निकायबाट पक्कै पनि ओझेलमा पर्छन् । सो अवस्थामा विश्वविद्यालय र विद्यार्थीका मुद्दा बोक्न यस्ता संगठनले भूमिका खेल्छन् । तर अझै रचनात्मक रूपमा काम गर्न सकिएको छैन, त्यो म स्वीकार गर्छु ।

स्ववियु सभापतिले त प्रशस्त पैसा पनि कमाउँछ भन्छन् नि ?
त्यस्तो सुन्नमा आउँछ तिनै कारणले त यी सङ्गठनहरूले सान्दर्भिकता गुमाउँदै गएका होलान् ।

देशमा भएका ठूला राजनीतिक आन्दोलनको अग्रणी भागमा सधैँ विद्यार्थी सङ्गठन नै थिए । अहिले ती सङ्गठनका विद्यार्थीमा त्यो उर्जा हराएको हो ?
पछिल्लो समय विद्यार्थी आन्दोलन नतिजामुखी हुन सकेको छैन । विद्यार्थी राजनीति पार्टीबाट परिचालित छ । पार्टीका मुद्दा मात्रै सडकमा आउने परिपाटी बढ्दो देखियो । अहिले नेपालमा डिजिटल इकोनोमीको मार्केट कति राम्रो छ, त्यसमा ती सङ्गठन लाग्ने उद्यमी बन्ने अरूलाई अनुसरण गर्न प्रेरित गर्ने छवि बनाउन नेतृत्व लाग्न नसकेको भान हुन्छ । यी सबै चुनौतीलाई चिर्न सक्ने स्ववियुले हो भन्ने मलाई लाग्छ ।

तपाईँ कांग्रेस निकट हुनुहुन्छ । परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व चाहिन्छ भन्ने बहस चलिरहँदा कांग्रेसबाट गोविन्द कोइरालाजस्ता युवाहरूको आगामी चुनावमा सम्भावना कत्तिको होला ?
जेन–जी पुस्ताको आन्दोलनपछि विद्यार्थी राजनीति भन्दा पनि अब केन्द्रीय तहमै हामीजस्ता युवा आउनुपर्छ भन्ने लाग्थ्यो । अहिले मलाई विद्यार्थी साथीहरूले २ वर्षका लागि त्रिचन्द्रको स्ववियुको अध्यक्षमा चुनेका छन् । यो कार्यकाल मैले कलेजसहित विश्वविद्यालयलाई थप व्यवस्थित बनाउनेमा लगाउनेछु । यसोभन्दै गर्दा मैले विश्वास गरेको प्रजातान्त्रिक सिद्धान्त र कांग्रेस पार्टीसँगै यसको नेतृत्व कस्तो हुनुपर्छ भन्नेमा मेरो पनि हक लाग्छ । त्यही कमिटीमा बसेर काम गर्नेमा त म अग्रसर हुन्न तर त्यहाँ मेरो भूमिकाको प्रतिनिधित्व भने हुनुपर्छ भन्ने मेरो धारणा हो । पार्टीको नेतृत्व र विचारले पार्टीको भविष्य निर्धारण गर्ने हुँदा त्यहाँ कस्तो नेतृत्व हुने भन्नेमा हाम्रो पनि सहभागिता हुनुपर्छ भन्नेमा विश्वास गर्छु ।

यहाँले आन्दोलनपछि विकास भएका घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?
सुशीला कार्की नेतृत्वको सरकार गठन प्रकृया संविधान सम्मत छैन । त्यसमा विकल्प थिए, त्यो सुनिएन । अझ भनौँ हतासमा निर्णय भए । धारा ७६ अनुरूप जेन–जीको डिस्कर्डमा संसदमै रहेका केही स्वच्छ छवि बोकेका व्यक्तिलाई पनि राख्न सकिन्थ्यो र उहाँलाई प्रधानमन्त्री बनाउनु पर्दथ्याे । त्यो ठाउँमा त हामी अहिले छैनौँ । आवश्यकताको सिद्धान्त अनुरूप बनेको यो सरकारको सफलतासँगै देशको सफलता पनि जोडिएको छ । त्यसैले अब निर्वाचन समयमै हुनुपर्छ । नयाँ जनादेशबाट मात्रै देशलाई निकास दिनेतर्फ जानुपर्छ ।

तोकेको समयमा कांग्रेसको महाधिवेशन भयो भने के हुन्छ, भएन भने के हुन्छ ?
कांग्रेसको महाधिवेशनको विकल्प नै छैन । कांग्रेसको महाधिवेशनमा जति सक्दो धेरै परिवर्तन आउनुपर्छ भन्ने म सोच्छु । जस्तो, पार्टीको सामान्य कार्यकर्ताले पनि नेतृत्व चयन गर्न पाउनुपर्छ भन्नेमा हामीले वकालत गर्दै आएको हो । कांग्रेस बाहेकका पार्टीमा महाधिवेशन प्रतिस्पर्धी देखिदैनन् । नेतृत्वमा को आउँछ भन्ने पहिलेनै पक्का गरिन्छ । महाधिवेशनमा अझै केही परिवर्तन चाहिन्छ भन्ने हाम्रो माग हो । गाउँटोलका कार्यकर्ताले ‘तेरो नेताले यस्तो गर्‍याे’ भन्ने दोष लिनुपर्छ भने ती केन्द्रका नेता चुन्ने अधिकार उनीहरूले किन नपाउने भन्ने हाम्रो प्रश्न हो ।

यो महाधिवेशन नेतृत्व चयनको मात्र होइन, नीतिको पनि अधिवेशन हुनुपर्छ । लामोसमयदेखि पार्टीले मान्दै आएको प्रजातान्त्रिक समाजवादलाई मान्दै आइयो । वर्तमान विश्वको परिदृश्यमा अब उक्त सिद्धान्तमा फेरबदल गर्दै पार्टी उदारवादी लोकतान्त्रिक प्रणालीमा जानुपर्छ । नीतिसँगै पार्टीमा नेतृत्व सही आयो भने त्यसले छलफलको वातावरण बनाउँछ । तलसम्मको आवाज समेटिन्छ । त्यसले कांग्रेसको भविष्य कस्तो हुन्छ भन्नेमा पनि भूमिका खेल्छ ।

पार्टीको कुन तहको नेतृत्वबाट यो सम्भव देख्नुहुन्छ ?
यो परिवर्तनका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतको पंक्तिको विकल्प म देख्दिन । यो पुस्ताले विगतका संघर्ष पनि देखे, भोगेका छन् भने युवालाई पनि समेट्ने क्षमता राख्छन् । योसँगै कांग्रेसका भित्र र बाहिरका साथीहरूले पनि यसलाई एउटा बलियो पार्टी भनेर महशूस गर्न पाउँछन् ।

नेपालमा भएका आन्दोलनले अनुहार मात्र फेर्‍याे, प्रवृत्ति फेरेन । कार्यशैली नफेरेसम्म पार्टी र सरकारमा जो नेतृत्वमा आएपनि के फरक पर्‍याे र ?
यस विषयमा हामीले ठूलो बहस छुटाइरहेका छौँ । हामीले त्यस्तो पात्रको परिकल्पना गरिरहेका छौँ, जसले आएर एक्लै देश बचाइदिन्छ । जसकारण कुन आन्दोलनमा को हिरो बनेको कुनमा को चर्चामा आएको छ । यो हुनुहुँदैन हामीले संस्थागत विकास खोज्नुपर्छ महत्वाकांक्षी मुद्दा बोकेको व्यक्ति होइन । संस्थागत विकास अर्थात् प्रणालीगत विकासले मात्र देशलाई स्थायित्व दिन्छ ।

अख्तियार बलियो बनाएर भष्ट्राचारीलाई जेलमा हाल्ने हो न कि एउटा व्यक्ति गएर तँ भ्रष्टाचारी होस् भन्ने होइन् । अहिले नेपालमा डिजिटल्ली डिस्कर्डमा फलानो भ्रष्टाचारी, दोषी भन्ने बहस चल्ने गरेको छ । त्यसरी हुँदैन । विद्यालयको सुधारदेखि संघीयताको पूर्ण कार्यान्वयन, पार्टी कस्तो बन्ने, सरकारले कसरी काम गर्ने भन्नेबारे सुरुमा चाहिने भनेको नीतिनियम हो । जुन संविधान कार्यान्वयनको दश वर्ष बितिसक्दा पनि पुरा भएको छैन । सुरुमा ती ऐनहरू बन्नुपर्छ, जसले गर्दा सरकारका सबै निकायहरूले काम गर्न पाउँछन् ।

योसँगै वर्तमान सरकारको मुख्य काम निर्वाचन गराउने मात्रै होइन । जेन–जीको मुद्दा के–के छन् । आफूहरू सरकारबाट बाहिरिए पनि अब आउने सरकारले त्यसलाई कार्यान्वयनमा लगोस् भनेर सरकार दल र जेन–जीबीच साझा प्रतिवद्धता गराउनुपर्छ । यो सरकारसँग समय र संविधान संशोधन गर्ने, नयाँ ऐन निर्माण गर्ने पूर्ण अधिकार छैन । त्यसका लागि त संसद नै चाहिन्छ । यस्तो अवस्थामा २०६२/०६३ पछि पनि यो तरिका अपनाइएको थियो । सोअनुरूप गणतन्त्र ल्याउने, संविधान लेख्ने, समावेशिता चाहिने भनेर त्यसपछि बनेको पहिलो संसदले त्यो विषय पारित गरेको थियो । त्यो जस्तै अहिले पनि भष्ट्राचार अन्त्य गर्न, सुशासन कायम गर्न संविधानमा कहाँकहाँ संशोधन  र कुनकुन ऐन बनाउने अहिले नै सम्झौता हुनुपर्छ ।

यतिका वर्षसम्म सरकारमा खिचातानी गर्दा ऐन बनाउन फुर्सद नपाएका तिनै नेता र पार्टी सरकारमा फर्किएर त्यो काम गर्लान् ?
उहाँहरू एजेण्डासहित सुधारिएर आउनुपर्छ । उहाँहरूले आगामी निर्वाचनमा जनादेश पाउने आधार के हो भन्ने स्पष्ट खाका लिएर जनातामाझ जानुपर्छ । जस्तो कांग्रेसले जेन–जी आन्दोलनपछि केही हदसम्म आफू सुधारिनुपर्ने स्वीकार गरेको छ । त्यस्तै नयाँ दर्ता भएका तथा पुराना पार्टीले पनि समयानुकूल आफूलाई बदलेर आउनुपर्छ ।

गैरराजनीतिक व्यक्तिहरू पनि राजनीतिमा भित्रिने क्रम बढ्दो छ । यसले कस्तो प्रभाव पार्ला ?
उहाँहरू आउनु स्वाभाविक हो, आउनुपर्छ । तर उहाँहरू लामोसमयसम्म टिक्न उहाँहरूको मुद्दा के त ? संस्थागत विकास कसरी गर्ने ? के–के कुरामा परिवर्तन ल्याउने ? त्यो विषय स्पष्ट छैन । मेरो विचारमा यतिबेला नेपालका ठूला पार्टीहरूको एजेण्डा के हुनुपर्छ भने संविधान कसरी कार्यान्वयन गर्ने ? १–२ वर्ष समय राखेर भएपनि ऐनहरू बनाइहाल्नु पर्‍याे । स्थानीय र प्रदेश सरकारलाई स्वतन्त्र र बलियो बनाउनु पर्‍याे । सरकारले विदेशिएका युवाहरूलाई देशमा फर्काउन र रोक्न अवसर सिर्जना गर्नुप¥यो । डिजिटल इकोनोमीमा युवालाई जोड्नु पर्‍याे । ६८ प्रतिशत जनसंख्याले टुक्राटाक्रीमा गरेको कृषिलाई चक्लाबन्दी गरेर काम गर्ने वातावरण सरकारले सिर्जना गर्नु पर्‍याे ।

त्यत्रो जनधनको क्षतिपछि जेन–जीको आडमा बनेको सरकारको कार्यशैलीमाथि सरकार गठनको महिनादिन नबित्दैदेखि उनीहरूले नै औँला उठाइरहेका छन् । यस्तो किन भइरहेछ ?
जेन–जी आन्दोलन एउटा कारणका लागि गरियो र त्यसको परिणाम अप्रत्याशित आयो । त्यसले गर्दा उहाँहरूले संविधान र सरकार गठनको प्रकृया नै नबुझी निर्णय गर्नुभयो । जसका कारण उहाँहरूको अपेक्षा अनुरूप संविधानको पूर्ण अधिकार नपाउँदा यो सरकारले काम गर्न सकेन । उहाँहरू यतिबेला आफूलाई अधिकार प्राप्त ठानेर कसैले डोजर लिएर हिँड्नुहुन्छ, कसैले कर्मचारीलाई धम्क्याउने गरेको देखिएको छ ।

सिस्टम चाहेको जेन–जी पुस्ता आफैँ त्यही सिस्टमको अपमान गरेर हिँडेको छ । कानुन र संस्थागत विकासबाट मात्र सिस्टम आउने हो । जेन–जी पुस्ताले गालीगलौज गरेर ताली पाउँछ भने महेश बस्नेतले किन गाली पाउने ? यदि परिवर्तन चाहेको हो भने दल दर्ता गरेर प्रक्रियागत रूपमा सरकारमा आउँदा हुन्छ । सरकारलाई दबाब दिने, प्रभावित पार्न खोज्ने गर्न त भएन नि । नागरिक समाजबाट पनि कानुन र प्रक्रियागत रूपमा नभएका कुराहरूमा जोकोहीलाई प्रश्न गर्न छोड्नु हुँदैनथ्यो । नागरिक समाज अहिले सुस्ताएको जस्तो लाग्छ ।

राष्ट्रलाई बलियो बनाउन पार्टी र जेन–जी पुस्ता संयमित भएर जानुपर्छ । आफ्ना मुद्दा स्थापित गर्न संविधानले थुप्रै बाटोहरू दिएको छ, त्यसबाट समाधान खोज्नु पर्‍याे । मिडियाले पनि व्यक्ति र आक्रोसलाई स्थान दिएको पाइन्छ । यतिबेला देशमा कसैले कसैलाई विश्वास गर्ने अवस्था छैन । एकअर्काको अस्तित्व स्वीकार गरेको अवस्था छैन ।

चुनाव नजिकिँदै गर्दा दल, जेन–जी र सरकारलाई एक सचेत युवाको हैसियतले के सुझाव दिन चाहनुहन्छ ?
हामीहरूले बोकेका मुद्दा धेरै छन् । जस्तै, उच्च शिक्षा ऐन, पूर्व बालविकासदेखि १२ कक्षासम्मलाई समेटेर विद्यालय शिक्षा ऐन आउनुपर्छ । विश्वविद्यालयले इक्युवेसन सेन्टर तत्काल सुचारु गर्ने र विद्यार्थीलाई स्टार्टअपका लागि प्रेरित गर्दै पार्टटाइम जबको पनि व्यवस्था गर्नुपर्छ । नेपालमा कृषि प्रविधि, वित्तिय प्रविधि, डिजिटल इकोनोमी र आईटी क्षेत्रको विज्ञ उच्च सङ्ख्यामा उत्पादन भइरहेका छन् । हामी सबै आईटी र अनलाइनसँग जोडिएका छौँ । यहाँ युवाको आकर्षण पनि उत्तिकै छ र नेपालको भविष्य पनि यही नै हो ।

अहिले नेपालको ७० हजार बढी आईटी जनशक्तिले फ्रिलान्सरको रूपमा देशसँगै विश्व बजारबाट कमाइरहेको तथ्याङ्क छ । हामी विश्वविद्यालयका विद्यार्थीले पनि यसमा जोड दिनुपर्नेछ । योसँगै सरकारले क्याम्पसलाई विश्वविद्यालयबाट स्वायत्त बनाउनुपर्छ । जस्तै, त्रिभुवन विश्वविद्यालयमा एक हजार ४ सय बढी क्याम्पस सम्बद्ध छन् । जसकारण विश्वविद्यालयले समयमै परीक्षा गराउन, नतिजा प्रकाशन गर्न सकेको छैन । कुनै पनि क्याम्पसमा विद्यार्थी सो क्याम्पसको गुण हेरेर आउने हो । जस्तो, त्रिचन्द्र किन आउने भन्दा आईटीमा राम्रो पढाइ हुन्छ ।

क्याम्पसहरूलाई कुनै विशेष सङ्कायमा गुणस्तरीय बनाउन जरुरी छ । स्ववियुसँगै अन्य युवापुस्तालाई के भन्न चाहन्छु भने हाम्रो भविष्यसँग जोडिएका हरेक विषयमा एक भएर आवाज उठाऊँ । विश्वविद्यालय बलियो बनेपछि देश विकासको आधार बलियो हुन्छ  । योसँगै व्यक्ति भन्दापनि समग्र जेन–जी आन्दोलनको मर्म र माग पूरा गर्न सरकार र दल सहमतिमा आएर समयमै निर्वाचन सम्पन्न गर्न सघाउनु नै अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ९ : ५६ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन