जङ्गल छेउका घरबारविहीन परिवारको सङ्घर्ष « Khabarhub

जङ्गल छेउका घरबारविहीन परिवारको सङ्घर्ष


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– कैलालीको चुरे गाउँपालिका–४ बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनि रात काटिरहेको छ । यो कुनै रहरले रोजिएको क्याम्पिङ होइन, बरु प्राकृतिक प्रकोप र गरिबीले थुपारेको बाध्यताको भारी हो ।

कुनै समय चुरे गाउँपालिका–४ स्थित मसुरी गाउँमा आफ्नो छुट्टै संसार भएका घर्ती भीषण पहिरोले थातथलो नै बगाएर विस्थापित गरेपछि परिवारसहित अर्काको जमिन  माथमा (पैसा तिरेर निश्चित समयका लागि प्रयोग गर्ने सहमति) लिएर घर बनाएर बसे ।

उनीहरूको कठिनाइ यहीँ रोकिएन । जग्गाधनीले जमिन फिर्ता लिएपछि नवलको परिवार फेरि घरबारविहीन बन्यो । ‘मिति त याद छैन, तर चार वर्षअघि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न गयौँ’, नवलसिंह विगत सम्झिँदै भन्छन्, ‘त्यहाँ धेरै परिवार थियौँ, वन कार्यालयले अतिक्रमण गरेको भन्दै त्यहाँ बस्ने सबैलाई हटाएपछि अरु त आफ्नो बाटो लागे, तर हाम्रो त कतै जाने ठाउँ नै थिएन, अन्त्यमा यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।’

नवलकी श्रीमती नन्नी घर्तीको आँखामा निराशा झल्किन्छ । उनी भन्छिन्, ‘आफ्नै जमिन छैन, भोलि कहाँ जाने भन्ने चिन्ताले सताइरहन्छ, हाम्रो लागि यो जङ्गलबाहेक संसारमा अरु कुनै ठाउँ बाँकी छैन ।’ घरमा आर्थिक अभाव चुलिएपछि नन्नीका छोरा रोजगारीका लागि भारत पलायन भएका छन् भने बुहारी खोलामा गिट्टी कुटेर छोराछोरीको भविष्य खोज्दै छन् ।

नवलसिंह जस्तै नियति भोगिरहेका अर्का पात्र हुन् रतन नाथ । डडेल्धुरा पुर्ख्यौली घर भएका रतनको कथा झनै पीडादायी छ । सानै उमेरमा अभिभावक गुमाएपछि रतन रोजगारीका लागि भारत जानुपर्‍यो । भारतमा हुँदा गाउँमा जग्गा नापी टोली आएको रहेछ । आफन्तले रतनले पाउनुपर्ने जमिन पनि आफ्नै नाममा बनाएछन् ।

‘बुबाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ’, उनी भन्छन्, ‘आफन्तले नै हाम्रो सबै जमिन आफ्नो नाममा गराइदिएछन्, म फर्किँदा मलाई टेक्ने जमिनसम्म बाँकी थिएन ।’ विसं २०६० मा डडेलधुरा छाडेर चुरे–४ मा रहेको गुठीको जमिनमा बसोबास गरेको बताउँदै रतन भन्छन्, ‘त्यहाँ पनि बस्न नदिएपछि अहिले यहाँ आएर बसोबास गरिरहेका छौँ ।’

रतनका अनुसार छोराबुहारी कमाउन भारत रहेका र खानपिनमात्रै ठीक हुन्छ, घर–जमिन जोड्न सकिएको छैन । विस्थापित यी परिवारहरू अहिले स्थानीय सूर्यमुखी आधारभूत विद्यालयको जङ्गल छेउमा रहेको खेलमैदानमा पालमुनि बसोबास गर्छन् । रतन भन्छन्, ‘यो हाम्रो इच्छा होइन, बाध्यता हो, यहाँबाट पनि स्कुलले खेलकुद मैदान खाली गर्दिनु भनिरहेको छ, खै कता जाने हो थाहा छैन ।’

त्रिपालमुनिको जोखिमपूर्ण जीवन

अहिले बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । तीमध्ये केही परिवारका अभिभावक रोजगारीको खोजीमा भारत गएकाले घरमा बालबालिका मात्रै बस्न बाध्य भएका छन् ।

अस्थायी टहरामा बसेका परिवारको जीवन चुनौतीको चाङले भरिएको छ । घरवार गुमाएर जङ्गलको बसोबास उनीहरूका लागि कष्टकर छ । 

जङ्गलमा पाल टाँगेर बनाइएका टहराले मौसमी मार खेप्न सक्दैनन् । यी टहराले न त जाडो छेक्छ न त वर्षाको झरी नै । स्थानीय कलि नाथका अनुसार वर्षायाममा प्लास्टिकको टहराबाट पानी चुहिएर रासन, लत्ताकपडा र बालबालिकाका किताब–कापी सबै भिज्छन् ।

‘पानी पर्दा टहराभित्रै भेल पस्छ’, कलि भन्छन्, ‘रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ, कतिपटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनुपर्छ, तर जाने ठाउँ कतै नभएपछि यही मृत्युसँग जुधेर बस्नुपर्ने अवस्था छ ।’

सोही स्थानमा बसोबास गर्ने रञ्जिता रोकायाका अनुसार वर्षायाममा चिस्यान बढेपछि कीराको समस्या झनै बढ्छन् । अस्थायी रूपमा बसिरहेका यी परिवारहरूको समस्या स्थायीझैँ बनेको छ । वर्षैँपिच्छे जाडोको मौसम, पानीको डर, कीरा–काटीको त्रास, चुहिने टहरा, बिग्रने रासन, असुरक्षित बालबालिका यस्ता थुप्रै समस्या झेल्नु परिरहेको छ । 

उनका अनुसार विस्थापित परिवार आफ्नै स्थायी घरबास नभएकाले जीवनयापन निकै कठिन भएको छ । दैनिक आवश्यकता पूरा गर्न र बच्चाको शिक्षा सुनिश्चित गर्न निकै चुनौतीपूर्ण छ ।

गिट्टी कुटेर जीविकोपार्जन

यस बस्तीका महिलाको दिनचर्या बालुवा खोलामा सुरु हुन्छ र त्यहीँ सकिन्छ । बिहान सबेरै घरधन्दा सकेर बुदीसरा सिजाली मगर हथौँडा बोकी खोलातिर लाग्छिन् । दिनभरिको कडा परिश्रमपछि सङ्कलन गरिएको गिट्टी नै उनको आम्दानीको स्रोत हो । ‘अहिले छोराछोरीको परीक्षा आइरहेको छ’, बुदीसरा भन्छिन्, ‘गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने योजना छ ।’

उनी जस्तै रन्जिता र आशा पनि विगत तीन वर्षदेखि यही खोलामा ढुङ्गासँग सङ्घर्ष गरिरहेका छन् । बिहान खाना खाइसकेपछि खोलातिर लाग्ने र बेलुका मात्र घर फर्किने उनीहरूको दैनिकी बनेको छ । आफ्नो जमिन र घर छैन जङ्गल छेउमा बसेका छौँ परिवार छाडेर कहाँ जाने रन्जिता भन्छिन्, ‘घर खर्च चलाउनका लागि गिट्टी कुट्छु ।’

गिट्टी कुटेर घर खर्च चलाउने आशा भन्छिन्, ‘श्रीमान् र छोरा कमाउनका लागि भारत गएका छन्, तर खान पनि धौधौ हुन्छ, गिट्टी बेचेर पाएको थोरै पैसाले घर खर्च चलाउने गरेको छु ।’ प्रति घन मिटर एक हजार ५०० रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने थोरै पैसाले उनीहरूको घरको नुन तेल चल्छ ।

त्यहाँका महिलाहरूका लागि गिट्टी कुट्नु रोजाइ होइन, बाध्यता हो । स्थायी  घरबास र जमिन छैन, रोजगारी छैन, सीपमूलक तालिम र वैकल्पिक आयआर्जनका अवसर पनि छैनन् । पुरुषहरू मजदुरीका लागि बाहिरिन्छन् । घरको जिम्मेवारी महिलाको काँधमा आउँछ । यस्तो अवस्थामा नदी किनारमा गिट्टी कुट्नु नै जीविकोपार्जनको आधार बनेको आशा बताउँछिन् ।

सो क्षेत्रमात्र होइन चुरेका विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारविहीन परिवारको अवस्था उस्तै छ । वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म पीडितहरू हाल बसिरहेको स्थानमै बस्नुपर्ने बाध्यता रहेको चुरेका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगर बताउँछन् । 

उनका अनुसार २०७७ सालमा आएको बाढीलगायत अन्य कारणले विस्थापित ११६ परिवार चुरे–४ को पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ को खामाहाले, खानीडाँडालगायत क्षेत्रमा अस्थायी रूपमा बसोबास गरिरहेका छन् ।

सुरुमा घरबारविहीन भन्दै वनक्षेत्रमा करिब सात सय परिवार बसेका भए पनि गाउँपालिकाले छानबिन गर्दा ११६ परिवार मात्र पूर्ण रूपमा घरबारविहीन पाइएको हो । 

उनीहरूलाई वन क्षेत्र अतिक्रमण गरेको भनी २०७९ सालमा वन कार्यालयले हटाएको अध्यक्ष मगर बताउँछन् । गाउँपालिकाले छानबिन गरेपछिको वास्तविक पीडित अहिले पनि जङ्गल क्षेत्रमा नै बसोबास गरिरहेको वडाध्यक्ष मगरले जानकारी दिए ।

‘विस्थापितहरूको समस्या वास्तवमै गम्भीर छ’, वडाध्यक्ष मगर भन्छन्, ‘तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन, वन क्षेत्रबाट वन कार्यालयले हटाउन खोज्छ, यता उनीहरूको जाने ठाउँ छैन, यही कारणले उनीहरू जोखिमपूर्ण स्थानमै बस्न बाध्य भएका छन् ।’

चुरेका यी विस्थापित परिवार आज पनि सरकारको बाटो हेरिरहेका छन् । एउटा सुरक्षित घरबास पाउने आशामा उनीहरूले कैयौँ बर्खा र हिउँद टहरामै बिताइसके । 

जङ्गलभित्र टहरामुनिको बास, गिट्टी कुटेर बालबालिका पढाउँदै गरेका यी नागरिकको स्थायी व्यवस्थापनमा सरकारले अभिभावको भूमिका निर्वाह गरिदेओस् भन्ने उनीहरू चाहन्छन् । रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : ३७ बजे

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा