घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ « Khabarhub

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ



काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक आइतबार सकिएको छ । आइतबार करिब १० घण्टा लामो बैठक बसेर अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनपछि बैठक सकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

आजको बैठकमा मुख्य रूपमा अध्यक्ष केपी शर्मा ओलीले पदबाट बिदा लिनुपर्ने विषयमा थियो। अधिकांश पदाधिकारीले ओलीले स्वेच्छिक बिदा लिनुपर्छ भन्ने कुरा गरेपछि ओली अझ रिसाएका थिए।

सुरुमै ओलीले आफ्नो स्वास्थ्य अवस्था र आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको गिरफ्तारीका कारण लामो समय सचिवालय बैठक बस्न नसकेको स्वीकार गरे।

उनले आफूविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको सूचना पाएको भन्दै आफूले बहाना बनाएर बैठक ढिला नगरेको जानकारी गराएका थिए। हरेक दिनको बैठकभन्दा आइतबारको बैठकमा ओली रक्षात्मक ढंगले प्रस्तुत भएका थिए।

उनी विधि र प्रक्रियाबाट आफू अध्यक्ष भएकाले कसैले अध्यक्षबाट बिदा हो भन्दा हुने मान्छे नभएको उल्लेख गरे।

एमालेका १९ पदाधिकारीमध्ये चारजनाबाहेक अरू नेताले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने संकेतका आधारमा बोलेपछि ओली रिसाउँदै प्रस्तुत भएका थिए। बैठक सुरु हुनासाथ अध्यक्षले आएका कुराहरूलाई वेलकम गरेको समेत दाबी गरेका थिए।

‘पार्टीमा एकता र एकढिक्का, एकमन, एकचित्त हुनुपर्छ। बाहिरी रूपमा छरपष्ट नेकपा एमालेप्रति प्रहार जारी छ। अहिलेको परिस्थिति सामना गर्न पार्टीभित्र एकता अपरिहार्य छ। यस्तो बेलामा हामी विभाजित नहौँ,’ ओलीले भने, ‘बाहिर पार्टीभित्र हामी विभाजित हुने कुरा कहीँ कतै भएको छ भने यसलाई बन्द गरौँ। समीक्षा र पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन ल्याएपछि यसमा थप कुरा गरौँला।’

प्रतिवेदनपछि केन्द्रीय कमिटी बैठक

ओलीले निर्वाचन कार्यदलले एक महिनापछि रिपोर्ट पेश गर्ने र त्यसपछि केन्द्रीय कमिटी बैठक राख्ने प्रस्ताव गरेका थिए। बैठक राख्ने ओलीको प्रस्तावमा धेरै नेताहरूले जेठको अन्तिम साता बैठक राख्नुपर्ने माग गरे।

तर प्रतिवेदन नआईकन बैठक अगाडि बढाउन नसकिने बताउँदै ओलीले असार दोस्रो साता बैठक राख्ने प्रस्ताव गरेका हुन्। धेरै नेताहरूले विरोध गरेपछि अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई त्यस विषय टुंगो लगाउने जिम्मेवारी दिइएको छ।

‘कार्यदलले कुन नीति, नेतृत्व, कार्यशैली र व्यवहारमा परिवर्तन गर्नुपर्छ भन्ने सुझाव तयार गर्छ। त्यसका आधारमा केन्द्रीय कमिटीको बैठकपछि पार्टी अगाडि बढ्छ,’ आजको बैठकमा ओलीले भनेका थिए, ‘परिस्थिति आएपछि मैले छोड्छु भनेको भए बेग्लै कुरा हो। भन्नुभएको अवस्था पनि होइन र दबाब दिएर गलत्याउने अवस्था पनि भएन। विधि र प्रक्रियाबाट नेतृत्वमा आएको हुनाले सबै कुराको दोष उहाँलाई खन्याउने अवस्थामा पनि हामी पुगेनौँ। त्यसकारण केन्द्रीय कमिटी बैठक र प्रतिवेदनसम्म कुरौँ भन्ने कुरा भयो।’

बैठकमा उपस्थित एक नेताले भने, ‘समग्र समीक्षा आएपछि छलफल गरौँ भनेर ओलीले प्रस्ताव राखेपछि अरूले नाइँ भन्ने कुरै भएन। गलत्याएर फाल्नु पनि उचित हुँदैन। त्यसकारण राजनीतिमा धैर्यता पनि आवश्यक छ।’

ओलीले कुन विधि र प्रक्रियाबाट नेतृत्व हट्नु भनेपछि नेताहरू चुप

बैठकमा ओलीले पहिलो पुस्ता बिदा भएर दोस्रो र तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषय उक्काएनन्। ओलीले आफूलाई सांकेतिक रूपमा राजीनामा माग्नेहरूलाई पनि विधि र प्रक्रियाबाट आएकाले यस्तो कुरा उचित नभएको बताए।

‘नेताहरूले मार्ग प्रशस्त गरिदिए राम्रो हुन्थ्यो भन्ने टाइपले कुरा गर्नुभएको साँचो हो। डाइरेक्ट त नेतृत्वबाट हटिहाल, तेरो कारणले एमाले सकियो भन्ने कुरा गर्ने भएन। यस परिस्थितिमा नेतृत्वबाट हटिहाल्ने सम्भावना छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘कुन विधि र प्रक्रियाबाट हट्ने ? मलाई बुँदा दिनुस् भनेपछि हामीले थप दबाब दिने कुरा भएन। केन्द्रीय कमिटी र समीक्षा कार्यदलको निर्णय कुर्नुपर्ने भयो।’

ओलीले आफू सडकबाट नेतृत्वमा नआएको बताउँदै नेतृत्वबाट हट्ने र बस्ने दुवै प्रक्रिया हुने स्मरण गराएका थिए। केन्द्रीय कमिटीको निर्णय आफूले स्वीकार गर्ने बताउँदै ओलीले प्रतिवेदनको समीक्षापछि केन्द्रीय कमिटी बैठकसम्म कुर्न नेताहरूलाई आग्रह गरे।

ओलीको प्रश्न : जिम्मेवारी मैले मात्र लिनुपर्ने हो ?’

ओलीले बैठकमा सम्पूर्ण कुराको जिम्मेवारी केपी ओलीलाई छोडिदिएर अरू पदाधिकारीले के जिम्मेवारी लिने भन्ने विषयमा पनि प्रश्न गरेका थिए।

यो परिस्थिति आउनुमा केपी ओलीको मात्रै हात नभएको बताउँदै आफ्नै नेतामाथि देशी-विदेशी शक्तिको प्रहार हुँदा ताली पिट्ने नेताहरू देख्दा आश्चर्य लागेको अनुभव सुनाए।

कहिले भावुक हुँदै र कहिले धेरै कड्किएर बोलेका ओलीले पार्टी रिफर्म गरेर लैजानुपर्छ भन्ने कुरामा आफू सहमत भएको जानकारी गराए।

‘पार्टीलाई रिफर्म गरेर अगाडि लैजाऊ भनेर अधिकांश सचिवालय सदस्यले भन्नुभयो। जिम्मेवारी मैले मात्र लिनुपर्दैन,’ ओलीले भने, ‘नेतृत्वमा बस भन्यो भने बसिरहने र छोड भन्यो भने छोडिहाल्ने प्रवृत्ति पार्टीमा हुँदैन।’

प्रक्रियाबाट आएको अध्यक्ष भएकाले हट्नुपरे पनि प्रक्रियाबाटै हट्ने संकेत उनले गरेका थिए। ‘जिम्मेवारी मैले मात्र लिनुपर्दैन। वर्तमान परिस्थिति बन्नुमा सचिवालयका नेताहरूको उत्तिकै जिम्मेवारी छ। नेतृत्वमा म भएको हिसाबले अलि बढी मलाई फोकस भएको होला। तर मेरो कारण मात्रै पार्टी यो अवस्थामा पुगेको होइन,’ ओलीले भने, ‘समीक्षाको प्रतिवेदन आओस्। त्यसपछि केन्द्रीय कमिटी बैठक गरौँला अनि त्यहाँबाट आएको निष्कर्षलाई सबैले मान्नुपर्छ। मलाई ओली त अध्यक्षमा बस भनेर तपाईँहरूले राख्नुभएको त होइन होला। शिरदेखि पुछारसम्म पार्टीका अनेक खालका समस्या छन्। फेरि भन्छु, पार्टीलाई नयाँ ढंगले लैजानुपर्छ भन्नेमा मेरो विमति छैन। तर नेतृत्वलाई लछारपछार पारेर तपाईँहरू पनि कहाँ पुग्नुहुन्छ र ?’

बैठकमा बोल्ने अधिकांश नेताले पार्टीलाई रिफर्म गरेर नयाँ शिराबाट अगाडि लैजानुपर्छ भनेपछि ओलीले यस्तो जवाफ दिएका हुन्।

एमाले केन्द्रीय कमिटीका अधिकांश नेता ओलीको विपक्षमा खुल्ने दाबी

एमालेको अहिले केन्द्रीय कमिटीमा ३०१ जना नेताहरू छन्। यी नेताहरूमध्ये करिब २०० जना ओलीको विपक्षमा खुल्ने तयारी भइरहेको केन्द्रीय कमिटीका एक शीर्षस्थ नेताले बताए।

‘एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पनि १०० भन्दा बढी ओलीको पक्षमा खुल्ने अवस्था छैन,’ ती नेताले भने, ‘केन्द्रीय कमिटी बैठकसम्म हामीले कुरेका हौँ। केन्द्रीय कमिटी बैठक जति सक्दो चाँडो बसालौँ भनेर हामीले अहिले पनि दबाब दिइरहेका छौँ। अध्यक्षको स्वास्थ्य अवस्था लगायतका कारणले गर्दा हामीले यतिबेला पार्टी सचिवालय बैठक कुरेका हौँ। अब चुप बस्ने अवस्था भएन। नसकेको मान्छेले पद ओगटिरहनु भएन नि।’

विगतमा ओलीलाई दरिलो साथ दिँदै आएका र ओलीका हरेक निर्णयमा अग्रपंक्तिमा देखिने नेताहरू पनि अहिले पार्टीको पहिलो पुस्ता बिदा हुनुपर्ने पक्षमा छन्। एमाले नेता महेश बर्ताैला, पूर्व कानुनमन्त्री पदम गिरी लगायतले पनि पहिलो पुस्ताले सम्मानजनक स्वैच्छिक अवकाश लिनुपर्ने मुद्दा उठाइरहेका छन्।

भोलि वा पर्सिसम्मको परिस्थितिमा टसमस भएको देखिँदैन। तर केन्द्रीय कमिटी बैठकपछि उनलाई अर्ली महाधिवेशन वा विशेष महाधिवेशनमार्फत हटाउने तयारी भइरहेको बुझिन्छ।

सचिवालय बैठकमा विगतमा ओलीकै साथमा निर्वाचित भएका उपाध्यक्ष बिष्णु पाैडेल,पृथ्वी सुब्बा गुरूङ, उपमहासचिव लेखराज भट्ट, सचिवहरू शेरधन राई, हिक्मत कार्की, छविलाल विश्वकर्मा लगायतका नेताहरू पनि उनको विकल्प खोज्ने पक्षमा देखिएपछि ओलीलाई संकट देखिएको छ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ९ : ०३ बजे

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक