म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरी पोखरेबगर–घार–चित्रे सडक स्तरोन्नति थालेको हो ।
यो पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो । अन्नपूर्ण गाउँपालिका– ६ का वडा अध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोकदेखि भुन्या खण्डमा ढलान गर्न थालिएको जानकारी दिए । उनले भने, ‘सडक ढलान भएपछि घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकलाई पनि सहज हुनेछ ।’
२१ किलोमिटर दूरीको यो सडकअन्तर्गत चित्रे–घोडेपानी खण्डको तीन किलोमिटर फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने जनाइएको छ ।
पोखरेबगर–बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बिनियोजन गरेको छ ।













प्रतिक्रिया