डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू « Khabarhub

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सोफिया– बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ । 

धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ (इयु) को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।

यस वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ भन्ने नारासहित विरोध अभियान नै चलाइएको थियो । यसले युरोप्रति जनसाधारणमा रहेको नकारात्मक धारणा र महँगीको डरलाई थप उजागर गरेको छ । 

तर पछिल्ला सरकारहरूले युरोजोनमा सामेल हुन निरन्तर जोड दिँदै आएका छन् । समर्थकहरूका अनुसार युरोले अर्थतन्त्रलाई बलियो बनाउने, पश्चिमी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र रुसको प्रभावबाट टाढा राख्नेछ ।

एकल मुद्रा युरो सन् २००२ मा १२ देशबाट सुरु भएको थियो । त्यसयता यसको विस्तार हुँदै आएको छ । क्रोएसिया सन् २०२३ मा अन्तिम पटक सामेल भएको देश हो । 

बुल्गेरियाले भने राजनीतिक अस्थिरता, भ्रष्टाचारविरोधी आन्दोलन र बारम्बारका चुनावका कारण विशेष चुनौतीको सामना गरिरहेको छ । हालै कन्चरभेटिभ  सरकार पतन भएपछि देश पाँच वर्षमै आठौँ चुनावको सङ्घारमा पुगेको छ ।

अल्फा रिसर्चका विश्लेषक बोर्याना दिमित्रोभाका अनुसार युरो अपनाउँदा देखिने कुनै पनि समस्यालाई इयु–विरोधी राजनीतिज्ञहरूले राजनीतिक हतियार बनाउने सम्भावना छ ।

उनका अनुसार यस्ता विषय इयु विरुद्धको बयानबाजीको आधार बन्न सक्छन् । अति–दक्षिणपन्थी र रुस समर्थक दलहरूले युरो विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका भए पनि ग्रामीण र गरिब क्षेत्रका धेरै नागरिक नयाँ मुद्राप्रति स्वाभाविक रूपमा चिन्तित छन् ।

उत्तरपश्चिमी बुल्गेरियाको चुप्रेन गाउँकी किराना व्यवसायी ५३ वर्षीया बिल्याना निकोलोभाले पश्चिमी युरोपमा बस्ने साथीहरूबाट मूल्य बढेको अनुभव सुनेको भन्दै यहाँ पनि महँगी बढ्ने डर व्यक्त गरेकी छन्  ।

युरोपेली सङ्घ (इयु) को युरोबेरोमिटर सर्वेक्षणअनुसार ४९ प्रतिशत बुल्गेरियालीहरू अझै युरोको विरोधमा छन् । सन् १९९० को दशकको अत्यधिक मुद्रास्फीति पछि बुल्गेरियाले आफ्नो मुद्रा जर्मन मार्क र पछि युरोसँग बाँधेको थियो । यसले देशलाई युरोपेली केन्द्रीय बैंकमा निर्भर बनाएको छ ।

ओपन सोसाइटी इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री जोर्जी एन्जेलोभका अनुसार युरो अपनाएपछि बुल्गेरिया मौद्रिक सङ्घभित्र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बन्नेछ । सन् २००७ देखि इयु सदस्य रहेको बुल्गेरिया सन् २०२० मा क्रोएसियासँगै युरोको ‘वेटिङ रुम’ मा प्रवेश गरेको थियो ।

इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले युरोमा सामेल हुने लाभ ‘पर्याप्त’ रहेको बताउँदै सहज व्यापार, कम वित्तीय लागत र मूल्य स्थिरता मुख्य फाइदा भएको उल्लेख गरेकी छन् । 

उनका अनुसार साना तथा मध्यम व्यवसायहरूले मात्रै विनिमय शुल्कमा करिब ५० करोड युरो बचत गर्न सक्छन् । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब आठ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्र युरोबाट विशेष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

लेगार्डले उपभोक्ता मूल्यमा पर्ने असर सामान्य र अल्पकालीन हुने बताएकी छन् । विगतका अनुभवअनुसार यसको प्रभाव ०.२ देखि ०.४ प्रतिशत अङ्कसम्म मात्र हुने अनुमान छ । तर उपभोक्ताहरू पहिले नै मुद्रास्फीतिको चपेटामा परेकाले थप बोझ पर्न सक्ने चिन्ता छ ।

राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार नोभेम्बरमा खाद्यान्नको मूल्य वार्षिक रूपमा पाँच प्रतिशतले बढेको थियो, जुन युरोजोनको औसतभन्दा धेरै हो । संसद्ले यस वर्ष मूल्यवृद्धि अनुगमन गर्न र युरो परिवर्तनसँग जोडिएका ‘अन्यायपूर्ण’ मूल्य वृद्धि रोक्न विशेष निरीक्षण संयन्त्र स्थापना गरेको छ ।

यद्यपि विश्लेषकहरू राजनीतिक अनिश्चितताका कारण आवश्यक भ्रष्टाचारविरोधी सुधारहरू ढिलाइ हुने जोखिम रहेको बताउँछन् । एन्जेलोभका अनुसार कम्तीमा एक–दुई वर्ष स्थिर सरकार भए मात्रै युरो क्षेत्रबाट प्राप्त हुने लाभलाई पूर्ण रूपमा उपयोग गर्न सकिनेछ । रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ४० बजे

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत