ढाका – भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद यूनुसबीच भेट नभएको खुलेको छ ।
बंगलादेशकी बीएनपी अध्यक्ष खालिदा जियाको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न ढाका पुगेका जयशंकर र यूनुसको औपचारिक भेट नहुनुलाई लिएर विभिन्न चर्चा र विश्लेषण भइरहेका छन्।
जयशंकर भारत सरकारको तर्फबाट शोक सन्देश लिएर ढाका पुगेका थिए। यसक्रममा उनले खालिदा जियाका छोरा तारिक रहमानसँग भेट गरी प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र हस्तान्तरण गरेका थिए। तर अन्तरिम सरकार प्रमुख यूनुससँग भने कुनै औपचारिक भेट भएन।
खालिदा जियाको निधनपछि श्रद्धाञ्जली दिन भारतसहित पाकिस्तान, भूटान, नेपाल, श्रीलंका र मालदीवका उच्चस्तरीय प्रतिनिधि ढाका आएका थिए। पाकिस्तानको संसदका सभामुख सरदार अयाज सादिक र नेपालका विदेशमन्त्री बाला नन्द शर्मा भने प्रोफेसर यूनुससँग औपचारिक भेटमा सहभागी भएका थिए।
तर भारत, भूटान, श्रीलंका र मालदीवका प्रतिनिधिसँग अन्तरिम सरकार प्रमुखको भेट नभएको पुष्टि भएको छ। अन्य देशको हकमा खास चर्चा नभए पनि भारतीय विदेशमन्त्रीसँग भेट नहुनुलाई लिएर कूटनीतिक वृत्तमा विभिन्न व्याख्या भइरहेका छन्।
बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता महबूबुल आलमले जयशंकर र मुख्य सल्लाहकारबीच भेट नभए पनि भ्रमण निरर्थक नभएको बताए। उनका अनुसार जयशंकरले विधि सल्लाहकार आसिफ नजरुल र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग छुट्टाछुट्टै भेट गरेका थिए।
यस घटनाले भारत–बंगलादेश सम्बन्धको वर्तमान अवस्थाबारे थप बहस जन्माएको छ ।













प्रतिक्रिया