कञ्चनपुरमा आजदेखि जलपंछी गणना « Khabarhub

कञ्चनपुरमा आजदेखि जलपंछी गणना


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पन्छीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंछी गणना सुरु गरिएको छ ।

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ । 

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधि संलग्न छन् ।

नेपाल पंछी संरक्षण सङ्घका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएसलगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपंछी गणना भइरहेको छ । हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने छ ।

उनका अनुसार निकुञ्जभित्र जलपंछीका लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ । त्यसैगरी निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिनेछ । 

गणनाका क्रममा जलपंछीका प्रजाति, सङ्ख्या, सम्भावित खतरा, मानव गतिविधि र बासस्थानसँग सम्बन्धित समस्याहरूको विवरण सङ्कलन गरिनेछ ।

जलपंछी गणना प्रत्येक वर्षझै यस वर्ष पनि जनवरीको पहिलो शनिबारदेखि गरिन्छ । यसवर्ष यही पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

चराविज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्रहरू जलपंछीका लागि महत्त्वपूर्ण भए पनि पछिल्लो समय विभिन्न चुनौतीहरू देखिन थालेका छन् ।

सिमसार क्षेत्र अतिक्रमण, अवैज्ञानिक रुपमा माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि, प्रदूषण तथा जलवायु परिवर्तनका असरले जलपंछीको बासस्थान खुम्चिँदै गएको उनको भनाइ छ ।

‘केही वर्षयता कञ्चनपुरका सिमसार क्षेत्रमा जलपंछीको सङ्ख्या घट्दो क्रममा देखिन थालेको छ’, उनले भने, ‘विशेषगरी आगन्तुक जलपंछीको आगमनमा उतारचढाव देखिएको छ, जसको प्रमुख कारण बासस्थानको असुरक्षा रहेको छ ।’ ंपहिले एकै तालमा ७० बढी प्रजाति जलपंछी देखिने गरेकोमा हाल त्यो सङ्ख्या आधाले घटेको उनले उल्लेख गरे । 

‘जलपंछी जोगाउनका लागि ताल तलैया र सीमसार क्षेत्रमा पछिल्लो अवस्थामा भइरहेको अतिक्रमण हटाउनुपर्ने देखिन्छ’, उनले भने ।

चरा विज्ञ डगौराका अनुसार नेपाल सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्ने महत्त्वपूर्ण देश भएकोले एसिया, युरोप तथा साइबेरियाबाट आउने प्रवासी जलपंछीहरू नेपालका सिमसार क्षेत्रमा आश्रित रहन्छन् । जलपंछी गणनाले राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा संरक्षण रणनीति तय गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १२ : ५३ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत