काठमाडौं- चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहर बढ्दै जाँदा मानिसको दैनिकी प्रभावित भइरहेको छ ।
पुस महिना सुरु भएदेखि नै २–४ दिन घाम लागे पनि बाँकी दिन शीतलहरसँगै अत्याधिक मात्रामा चिसो हावा चलेको स्थानीय बताउँछन् । लामो समयदेखि यो क्रम चलिरहँदा पूर्वी, मध्य र पश्चिम तराईका जिल्लाहरुको जनजीवन निकै प्रभावित भएको छ ।
यो वर्षेनी आउने समस्या हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत एघार वर्षको अवधिमा शीतलहरका कारण १ सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।
चिकित्सकको उपचार बिना आएका विवरणलाई मान्यता नदिएकाले पछिल्लो समय ज्यान गुमाएका घटनाहरु नआएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रभावित २१ जिल्लाहरुमा भने राहत तथा पूर्वतयारीका कार्यक्रमहरु भइरहेका छन् ।
किन हुन्छ शीतलहर ?
मौसमविद्हरूका अनुसार उत्तर भारत तथा हिमाली क्षेत्रबाट बग्ने चिसो र सुख्खा हावाको प्रभावका कारण तराई क्षेत्रमा शीतलहरको अवस्था सिर्जना हुन्छ ।
विशेषगरी हिउँदमा पश्चिमी वायुप्रणाली सक्रिय हुँदा उत्तरबाट आउने चिसो हावा तराईसम्म फैलिन्छ । यसका साथै आकाश खुला रहनु, राति विकिरणमार्फत ताप बाहिरिनु र जमिन नजिकै चिसो हावा थुप्रिनु पनि शीतलहरको प्रमुख कारण मानिन्छ ।
तराई भेग समथर भूभाग भएकाले चिसो हावा लामो समयसम्म जमिन नजिकै अड्किन पुग्छ । घना कुहिरो लाग्दा घाम नलाग्ने भएकाले दिनभर तापक्रम बढ्न नसक्दा चिसो अझ बढ्ने गर्दछ ।
मौसमविद्हरूले अत्यावश्यक कामबाहेक चिसो समयमा बाहिर ननिस्कन, न्यानो कपडा प्रयोग गर्न र आगो ताप्दा सतर्कता अपनाउन सुझाव दिएका छन् । आगामी केही दिनसम्म शीतलहरको अवस्था कायमै रहने पूर्वानुमान गरिएको छ ।
शीतलहर र स्वास्थ्य
पुस महिना सुरु भएदेखि नै घाम लागेको छैन, जसका कारण जनजीवन धेरै प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा परेको छ । अस्पतालमा बिरामीको चाप बढ्दो छ । बहिरङ्गभन्दा अन्तरङ्ग विभागमा बिरामीहरुको संख्या बढिरहेको सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ फिजिशियन डा. निराजन दत्त शर्माले बताए ।
उनका अनुसार बाफ लगाउनुपर्ने, सुईबाट औषधी दिनुपर्ने बिरामी धेरै छन् । मुख्य कारण चिसोले गर्दा साधारण समस्या जस्तै, टाउको दुख्ने, रुघाखोकी लाग्ने, शरीर दुख्ने, चिसो धेरै भएर पानी कम पिउँदा पिसाब पोल्ने जस्ता समस्याहरु लिएर बिरामीहरु आउने गरेका छन् ।
चिसोमा धेरै बल्झिने बाथका बिरामीहरुमा पनि चिसोले जोर्नीको दुखाईसंगै शरीर कक्रक्क परेर चलाउनै गाह्रो हुने समस्या भइरहेको छ त्यस्ता बिरामीलाई मुखबाट दिने औषधीले मात्रै हुँदैन । भर्ना गरेर नसामार्फत दिइने औषधीहरु दिनुपर्ने हुन्छ उनले भने ।
सुदुरपश्चिमका ९ ओटा जिल्लाको एउटै रेफरल अस्पताल भएकाले बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको र त्यो अनुसार बेडसंख्या नहुँदा अब आउने बिरामीलाई राख्न समस्या रहेको उनले सुनाए । डा. शर्माका अनुसार आइसीयूमा जम्मा १५ वटा मात्रै बेड रहेका छन् यो एकदमै थोरै हो तर पनि अहिलेसम्म जसोतसो धानिएको छ । लामो समयदेखि घाम नलागेकाले बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दो छ ।
बालबालिका र वृद्धवृद्धा बढी प्रभावित
शीतलहरको असर बालबालिका र वृद्धवृद्धाहरुमा अधिक देखिएको डा. शर्मा बताउँछन् । उनका अनुसार छातीका समस्या जस्तै दम, निमोनिया हुने, पिनास बढ्ने, पहिले दम भइरहेका बिरामीको श्वासनलीमा एलर्जीको समस्या हुने लगायतका समस्याहरु लिएर आउने गरेका छन् । यस्ता बिरामीहरुलाई अक्सिजन नै दिनुपर्ने हुन्छ ।
त्यस्तै बाहिरतिर हिँड्ने, व्यायाम गर्ने, सुगर प्रेसरको औषधी खाइरहेका बिरामीहरु पनि चिसो बढ्दै गएपछि घरमा बसीबसी मिठो खाने नाममा धेरै खाने माछामासु खाने, मदिरा सेवन गर्ने र शारीरिक क्रियाकलाप एकदमै कम गर्ने गर्नाले प्रेसर, कोलेस्टोरल बढ्ने, हृदयाघातदेखि लिएर मष्तिष्कघात हुने सम्भावना एकदमै धेरै हुने गरेको पाइएको डा. शर्माले बताए ।
शीतलहरको असर मानसिक स्वास्थ्यमा
शीतलहर तथा चिसोको असर शारीरिक स्वास्थ्यमा मात्रै नभई मानसिक स्वास्थ्यमा पनि त्यत्तिकै मात्रामा पर्ने गरेको पाइएको छ । डा. शर्माका अनुसार पहिलेदेखि नै मानसिक समस्या भएका बिरामीहरुका लागि घाम नलागेको दिन थप पीडादायी हुनपुग्छ ।
चिसो दिनमा उदासिनता बढ्ने, डिप्रेशनको अवस्था एकदमै उत्कर्षमा पुग्ने हुन्छ भने कतिपय बिरामी जीवनदेखि नै दिक्क भएर बाँच्नै मन नलागेको समस्या लिएर पनि आउने गरेका छन् । त्यस्ता बिरामीहरुलाई भर्ना गरेरै मनोपरामर्श दिनुपरेको उनले बताए ।
शीतलहरमा देखिने स्वास्थ्य समस्याबाट बच्न के गर्ने ?
सबैभन्दा पहिला त खानपान, आहारबिहारमा ध्यान दिन डा. शर्मा सुझाउँछन् ।
त्यस्तै भित्रै बसेर गर्न मिल्ने खालको काम छ भने भित्रै बसेर काम गर्ने तातो पानीको मात्रा बढाउने, कपडा धेरै बाक्लो भन्दा पनि भित्र थर्मकोट, ट्राउजर, ज्याकेट गरेर लेयर लेयरमा लगाउने । त्यस्तै मोजा पञ्जाहरु लगाउने, टोपी लगाउने गर्नु पर्दछ, उनले भने ।
शरीरमा मात्रै बाक्लो कपडा लगाएर नहुने बतउँदै डा. शर्माले भने हात खुट्टा, टाउको, कान आँखामा पनित्यतिकै मात्रामा ख्याल गनुपर्छ ।पानीको मात्रा बढाउने व्यायाम गर्ने बानी छ भने घरभित्रै बसेर गर्ने व्यायाम तथा योगाहरु गर्न सकिन्छ ।
सकेसम्म बिहान ननुहाउने, नुहाउनै परे पनि मनतातो पानीले छिटो नुहाउने , चिसो छ भन्दैमा अत्याधिक मात्रामा माछामासु नखाने, सन्तुलित आहारमा विश्वास गर्ने, फलफूलहरु पनि एकछिन तातोपानीमा डुबाएर मात्रै खाने, बाहिर निस्किँदा न्यानो कपडाहरु लगाएर मात्रै निस्किने, फ्लू आयो भन्दैमा जथाभावी एन्टीबायोटिकहरु नखाने, नियमित औषधी सेवन गर्नेहरुले औषधी नछुटाउने, गाह्रो भएको खण्डमा घरेलु तथा विभिन्न आयुर्वेदिक औषधीहरु खाएर नबसी जतिसक्दो चाँडो अस्पताल गएर परामर्श लिन डा. शर्माको सुझाव छ ।
आगो नताप्न सुझाव
शीतलहर भइरहेका विभिन्न जिल्लाहरुमा सम्बन्धित स्थानीय निकायहरुले दाउरा वितरण गर्ने, चोक चोकमा आगो बाल्ने जस्ता कार्यहरु गरिरहेका छन् । तर डा. शर्मा भने आगो ताप्नु त्यति सुरक्षित नभएको बताउँछन् ।
उनका अनुसार चिसो भयो भनेर आगो ताप्दा दुई प्रकारका घटनाहरु बढी देखिन्छन् । एउटा बाहिर चिसोमा बसेर खुला हावामा आगो ताप्दा के हुन्छ भने शरीरको अगाडीको भागमा त तातो लाग्छ । तर टाउकोमा शीत परेको, पछाडी ढाडमा चिसो भइरहेको हामीलाई थाहा हुँदैन । त्यस्तै हावा, तुषारोमा धुलोको मात्रा एकदमै बढी हुन्छ ।
त्यस्तै अर्को घरभित्र पनि आगो, हिटर वा ग्यास फाल्ने उपकरणहरु बाल्दा झ्याल ढोका खोलेर मात्रै बाल्नुपर्छ । भेन्टिलेशन पनि नभएको बन्द कोठामा बाल्दा नाकमुख सुक्ने, सास फेर्न गाह्रो हुने, अचेत हुने र कतिपय त बेहोस भएर इमर्जेन्सीमै आएका घटनाहरु पनि आउने गरेको उनले बताए ।
त्यसैले आवश्यक परेको खण्डमा सुरक्षित तरिकाले घरभित्र झ्याल ढोका खोलेर ताप्ने हैन भने आगो ताप्न हामी त्यति सल्लाह दिँदैनौं । अत्यधिक चिसो भएको खण्डमा इलेक्ट्रिक हिटरहरु अलिकति टाढा राखेर ताप्नु सुरक्षित मानिने डा. शर्मा बताउँछन् ।













प्रतिक्रिया