भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’ « Khabarhub

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’



काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली कांग्रेसको द्वन्द्व मत्थर नभई चुनाव गर्न नहुने बताएका छन् । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ मै चुनाव हुने प्रतिबद्धता जनाए पनि देशको सबैभन्दा ठूलो पार्टीको अन्तरद्वन्द्वले चुनावमा प्रभाव पार्ने उनी बताउँछन् ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस जस्तो ठूलो र लोकतन्त्र स्थापनाको लागि लडेको पार्टीको अन्तरद्वन्द्वले चुनावलाई असर गर्छ । कांग्रेसले भाग लिन नपाए, अरु कसले चुनावमा भाग लिने ? अदालतमा पुग्यो भनेपनि छिटो निर्णय दिनुपर्छ । छिटो छिनोफानो गरेर जानुपर्छ । नभए सरकार वा निर्वाचन आयोगले चुनाव केही पछाडि सार्नुपर्छ ।’

२००७ सालको आन्दोलनमा भोजपुरले जनमुक्ति सेना तयार पारेको थियो । अग्रज नेताद्वय नारदमुनि थुलुङ र गंगाप्रसाद कोइरालाको प्रेरणाले कांग्रेस बनेका राई तीन पटकसम्म जिल्ला सभापति बने । ०३६ को जनमत संग्रहदेखि कांग्रेसमा लाग्दा उनी जम्मा २६ वर्षका थिए ।

नन्दमणि थप्छन्– ‘शेरबहादुरले जित्दा हार्नेहरुले स्वीकार गरेकै हो । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाले जितेका छन् । अब उनलाई सबैले स्वीकारेर जानुपर्छ । कांग्रेस अझै दुई धार भइसकेको छैन । आज पनि एक हो । विधानगत कुरा गर्ने हो भने आधिकारिकता विशेष महाधिवेशन नै हो ।’

‘दुवै पक्षले हामी आधिकारिक भनेर विवाद भएपछि यस विषयको टुङ्गो अदालतले लगाउँछ । न्यायालयले जे भन्छ, आधिकारिक त्यही हुन्छ । नियमित महाधिवेशनको म्याद मंसिरमै सकिएको हो । तर, पुरानो अभ्यास एकदेखि डेढ वर्षसम्म समय थपेर गरिँदै आएको हो । तर जेन–जी आन्दोलनपछि देशको समग्र माहोल नै परिवर्तन भएको अवस्था छ, उनले भने ।

त्यसैगरी अब नेतृत्वमा व्यक्ति मात्रै नयाँ आएर समस्याको समाधान नहुने राईको तर्क छ । भन्छन्, ‘संसद् भवन, अदालतमाथिको आक्रमण असन्तुष्टिको परिणाम हो । अब मानिस मात्रै होइन व्यवहारसमेत परिवर्तन हुनुपर्छ । नयाँ पुस्ता आउने भन्दैमा व्यक्ति मात्रै नयाँ आएर हुँदैन । नीति र विचार पनि नयाँ आउनुपर्छ । सरकार ढलेर नयाँ अन्तरिम सरकार बनेको छ । चुनाव गरेर जानुपर्ने अवस्था छ ।’

‘युवा वर्ग लगायत आम नागरिकले अब फरक हुनुपर्छ भनेर माग गरिरहेका छन् । नेतृत्व परिवर्तन र रुपान्तरणको सन्देश जनआन्दोलनले दिएको छ । नियमित अधिवेशन गर्ने भनेरै हामी सबै लागेकै हो । पुस १६ देखि गर्ने भनेर कार्यतालिका समेत निकालिसकिएको थियो’ उनी भन्छन्– ‘तर नसकेपछि विशेष अधिवेशनवालाले माग गरेअनुसार सम्बोधन गर्नुपर्‍यो । विधानले मानेको कुरालाई यसैलाई नियमित हो भनेर मान्नुपर्छ । दुईचार महिनामा यसैले नियमित अधिवेशन गर्छ । तत्काल यसैलाई स्वीकार गरेर जानुपर्छ ।’

पहिलेको कांग्रेस, अहिलेको कांग्रेस

पहिले र अहिलेको कांग्रेसमा धेरै फरक छ । पहिले सबै प्रजातान्त्रिक हिसाबले चल्थ्यो । नेताहरुले तलसम्म सम्पर्क गर्थे । वडाबाटै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर सहभागी हुन्थे । जनता र कार्यकर्तासँग भेटघाट हुन्थ्यो ।

अब अहिले केन्द्रीय सदस्य वा पदाधिकारी भएपछि तल जानै नपर्ने एकतर्फी विधान बनाएका छन् । तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्पर्क हुँदैन । त्यसकारण पनि असन्तुष्टि, भ्रष्टाचार, ढिलासुस्ती बढेर गएको हो । जेन–जी आन्दोलनको जन्म ठूला दलले गरेका हुन् । एक उमेर समूह मात्रै नभई सम्पूर्ण जनताले यस आन्दोलनलाई समर्थन जनाएका छन् ।

कांग्रेसमा एकता हुनुपर्छ । किनभने नयाँ पार्टीहरु जति खुलेपनि पार लाग्ने छैन । नेताहरु विभिन्न पार्टी खोलेर वा अन्य पार्टीसँग सहकार्य गरेर भन्दा एकता गरेर चुनावमा जाँदा उचित हुन्छ ।

गाउँका कार्यकर्ताहरु पनि परिवर्तनकै पक्षमा छन् । पुराना ढाँचाको नेतृत्व अब बदलिनुपर्छ । एमालेको प्रधानमन्त्री भएपनि सत्तामा कांग्रेस नै थियो । जनतामा जन्मिएको असन्तुष्टिलाई मध्यनजर गर्दै अघि बढ्नुपर्छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ४ : ०९ बजे

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र