बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन विद्यार्थीले विरोध जनाए । देउवाको कुरा लगाउन जम्मा भएका विद्यार्थीलाई बीपीले जवाफ दिँदै भनेका थिए-‘सुदूरपश्चिमको यो केटो इमान्दार छ । जे कुरा पनि सिक्न खोज्छ, अरुले चासो दिँदैनन् । त्यसैले मैले उसलाई लिएर हिँडेको हुँ । भविष्यमा मैले यसको राम्रो सम्भावना देखेको छु ।’
पार्टीको अन्तर्घातबाट सभापति कृष्णप्रसाद भट्टराई पराजित भएपछि गिरिजाप्रसाद कोइराला रातारात सत्ताको उत्तराधिकारी भए । २०४८ सालमा एकै राजनीतिक छिमलका रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य चुनाव जितेर आएपछि कोइरालाले मन्त्रालय रोज्न लगाए । देउवाले निसंकोच गृह रोजे । शैलजा कृषि र रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री भए । सत्ता र शक्तिको दौडमा अरु लर्बराए, देउवाले पछि फर्केर हेरेनन । गिरिजाप्रसाद आफूमाथि हावी हुँदा पार्टी फुटाएर भाँचिन तयार भए, लत्रिएनन् । बरु राजनीतिक जीवनको उत्तराद्र्धमा गिरिजाप्रसादले पार्टी एकता गरेर चारतारा र रुखको नासो यिनैलाई सुम्पिएर बिदा भए ।
त्यसयता उनको यात्रा कहिल्यै रोकिएन । गृहमन्त्री भएकै बखत बेहुलो बन्ने सुयोग जुर्ने उनी अपवादका राजनीतिकर्मी हुन् । बिहेको लमी अमेरिकी राजदूत जुलिया चाङब्लकले रहेको चर्चाले त्यतिबेला समाचारको बजार तातेको थियो ।
ब्यालेटको राजनीतिमा एउटा व्यक्ति अविच्छिन्न साढे तीन दशक चुनिनु विश्वकै संसदीय राजनीतिमा अपवाद हो । जुनसुकै प्रतिकूल परिस्थितिमा देउवाको छाया नै नपर्दाको परिस्थितिमा समेत डडेलधुराका मतदाताले उनको नाम सदर गर्नु उनले आर्जन गरेको आस्था र विश्वासको अद्भूत नमूना हो । यस दृष्टिकोणले हेर्दा देउवा संसदीय राजनीतिका धुरी हुन् ।

सगरमाथाको आरोहण आफैंमा चुनौतीपूर्ण छ । अझ चुचुरोमा अडिनु झन् जोखिम हुन्छ । ६ दशकदेखि नेपालको राजनीतिक परिदृश्यमा देखिएका देउवाको राजनीति सिद्धान्तबाट शुरु भएर पदको आशक्तिमा विसर्जन भयो ।
देउवा सत्ताको राजनीतिमा आरोहण गर्दाको तिथि हेर्ने हो भने पनि अहिले विश्वमा राजनीति गरिरहेका प्रभावशाली व्यक्तित्व सार्वजनिक परिचयको सतहमा थिएनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसबखत कतै साधनामा थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कराँते सिक्दै थिए । चिनियाँ राष्ट्रपति कम्युनमा परेड खेल्दै थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घरजग्गाको कारोवारमा हराइरहेका थिए ।
देउवा ९० को दशकमै राज्यरोहण गरेका हुन् । उनी गृहमन्त्री हुँदा ताका अमेरिकी राष्ट्रपतिमा सिनियर जर्ज बुस थिए । बिल क्लिन्टनले दुई कार्यकाल राष्ट्रपति खाएपछि उनको छोरा जुनियर बुस बल्ल राष्ट्रपति बनेका थिए । देउवा गृहमन्त्री भएर पाँच पटक प्रधानमन्त्री हुँदा त्यहाँ दुई कार्यकाल खाएका ६ राष्ट्रपति फेरिए ।
भीपी सिंह भारतमा प्रधानमन्त्री थिए । त्यसपछि त्यहाँ आठ सरकार प्रमुख फेरिए । तिनताका रुसमा बोरिस यल्तसिन राष्ट्रपति थिए । चीनमा याङ साङकुनले राष्ट्राध्यक्ष पद सम्हालेका थिए । बेलायतमा मार्गरेट थ्याचर, जोन मेजरको युग थियो । यहाँ उल्लेख भएका कति दैवका प्यारा भए । कति अरुको सहारामा जीवन बाँचेका छन् । कतिले राजनीति छोडेपछि चैतन्य, प्रज्ञा र सिर्जनामा नयाँपुस्ता तयार गरिसकेका छन् । तर नातिपुस्ताको आक्रमणपछि नाफाको जिन्दगी बाँचेका शेरबहादुर पार्टीको टिकट सटरपटरमा उत्रिँदा जग हाँस्यो । देखिएका भन्दा नदेखिएका शेरबहादुर देशका लागि हानिकारक ठहरिए ।
फलामभित्रको खियाले फलामको अन्त्य गरेजस्तै दुई विद्रोही ठिटाले शेरबहादुरको शिर कहिल्यै उठ्न नसक्ने गरी थान्को लगाइदिए ।
फलामभित्रको खियाले फलामको अन्त्य गरेजस्तै दुई विद्रोही ठिटाले शेरबहादुरको शिर कहिल्यै उठ्न नसक्ने गरी थान्को लगाइदिए । लोकमान्य इतिहास बन्नुपर्ने देउवा खलनायकमा अनुवाद भए । भदौको जेन-जी आन्दोलनले बाहिरी रगत बग्यो । मंसिरको विशेष महाधिवेशनले त तन्तुमै हान्यो ।
यो समय आउनुमा देउवा मात्र जिम्मेवार छन् त ? अहँ होइन । रमाइलो माहोलमा जिस्किएर देउवा भन्थे रे- मैले गणेशमानजीबाट अन्टसन्ट बोल्न, गिरिजाबाबुबाट चुरोट खान र किसुनजीबाट दारु पिउन सिकेँ । कांग्रेसको राजनीतिमा फाइल, रेकर्ड बोल्दैन । नेतासँगको भेटघाट पातलियो भने उसले पार्टी छोडेको अर्थ लाग्छ ।
प्रतिबन्धित कालमा कृष्णप्रसाद भट्टराईको कमिजका खल्तीमा एकातिर पार्टी अर्कातिर व्यक्तिगत खर्चको जोहो गर्थे । गिरिजाप्रसाद कोइराला बिहानै उठेर कार्यकर्तासँग भेट्घाट थाल्थे । दुर्भाग्य के भने बिहानै त्यहाँ पुगेर जुन गफाडीले गिरिजालाई भुट्थ्यो, उनी त्यही निर्णयमा अडिग हुन्थे । त्यो अडान सैद्धान्तिक र राष्ट्रिय हितमा नहुन सक्थ्यो ।
क्यान्टोनमेन्टमा रहेका माओवादी लडाकूलाई मनलाग्दी रकम दिन प्रधानमन्त्री कोइराला हौसिन थाले । अर्थमन्त्री रहेका रामशरण महतलाई लाग्यो- माओवादी समस्या समाधानका नाममा ढुकुटीमा ब्रम्हलुट उचित होइन । डा. महतले प्रधानमन्त्रीसँग प्रतिवाद गरे । हठी गिरिजाप्रसादले अर्थमन्त्रीलाई चेतावनी शैलीमा भनिदिए– ‘ठीकै छ महतजी, तपाईं दिनुहुन्न भने अर्को अर्थमन्त्री आएर दिन्छ ।’ आफैंलाई हटाउने भएपछि अर्थमन्त्री लाचार हुन्थे । पैसा दिएर तिनीहरुको कथित क्रान्तिकारी चरित्र भुत्ते बनाउने नीति गिरिजाप्रसादको थियो । यो निर्णय प्रचण्डको नजरमा गिरिजाप्रसाद ‘हिरो’ त भए, तर जनताको पसिनामाथि भएको निर्मम प्रहारको क्षतिपूर्ति जनताले पाएनन् ।
कांग्रेसजनले इतिहासको ‘गोल्डेन काल’ भनेर व्याख्या गर्ने ०१५ सालको चुनावले दुई तिहाइ त प्राप्त गर्यो तर त्यही शक्ति दम्भमा परिणत हुँदा आफ्ना विश्वासपात्र मानिने डा. तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यप्रसाद उपाध्याय राजा महेन्द्रको कोर्टमा पुगिसकेको बीपीले पछि मात्र पत्तो पाए । कांग्रेसभित्र त्यसबखत अन्तरकलह कति डरलाग्दो थियो भन्ने बीपी आफैंले सूर्यप्रसादविरुद्ध व्यक्त गरेको आक्रोशले पुष्टि गर्छ- ‘सूर्यबाबु निम्न श्रेणीको व्यक्ति हुनुहुन्छ भन्ने त मलाई-हामी सबैलाई थाहा थियो, तर यसप्रकारको पतीत र अधम हुनुहुन्छ भन्ने विश्वास थिएन । उहाँलाई एकचोटि राजनीतिमा समाप्त भएपछि करुणा गरेर मैले आश्रय दिएँ । चुनावका दुवै ठाउँमा हारेपछि उहाँको कुनै राजनीतिक आधार थिएन । पार्टीका साथीहरुले नपत्याएको र अब चुनावमा जनताले पनि त्यागेको व्यक्तिलाई दयनीय अवस्थामा मैले महोत्तरीको गौशाला बजारमा पाएको थिएँ । केवल करुणाका भावनाले उहाँलाई मैले आश्वासन दिएँ र उहाँले पनि आफूलाई मेरो सम्पूर्ण जिम्मा सुम्पिन्छु भनेर आँसु चुहाउनु भयो, जसको दुई-तीन थोपा मेरो गोडामा पर्न गएका थिए ।’
शेरबहादुरलाई त्यो ठाउँमा पुर्याउन पार्टी, समाज, देशको ६ दशक लगानी छ । सुल्टो ढंगबाट हेर्दा दक्षिण एशियाकै सर्वाधिक पुराना लोकतान्त्रिक नेतामा उनको परिचय छ । त्यो परिचय साँध लाउने कि खिया जमाउने त्यो नयाँ नेतृत्वको हातमा छ । इतिहासले बनाएका मानिस घरका जग हुन् । उत्तेजनालाई सत्य मान्ने हो भने त पार्टीका संस्थापक नेता गणेशमानसिंह चारतारा र रुख छोडेर हात्तीछापको खुलेआम प्रचारमा लागेकै हुन् । कृष्णप्रसादले जीवनको उत्तराद्र्धमा पार्टीमोहबाट मुक्ति खोजेकै हुन् । गिरिजाप्रसादले दोष जति सुशील कोइरालामाथि र कीर्ति आफ्नो भागमा पस्किएकै हुन् । तर मानिस आफैंमा गुण र दोषको सम्मिश्रण हो । उसबाट दोष नभएर गुण पर्गेल्नु बुद्धिमानी ठहर्छ ।
शेरबहादुर आर्जन गरेर ल्याएको शिकार बिलो लगाउँदा सबै खुशी थिए । शेखर, पूर्णबहादुर, कृष्णप्रसाद सिटौला, प्रकाशमानदेखि शशांक कोइरालासम्मले अस्तिसम्म भाग लिएकै हुन् । शेरबहादुर खुसी पारेर गगनले प्रदीप पौडेललाई केपी ओली नेतृत्वको सरकारमा लगेको सबैलाई थाहा छ । प्रकृतिको नियम मान्छेमा लागू हुने हो । दिए सब हुन्छ, नदिनेको प्रताप रहन्न । नेताले चुनावताका टिकट हाताहाती बेच्छन् । दलको मुखिया हुनु भनेको हुनेबाट लिने, नहुनेलाई दिने पनि हो । उसले धेरैको घरका ताउलोमा जाउलोको व्यवस्था मिलाइदिनु पर्छ । यस अर्थमा उसले कर्पोरेट हुन वाञ्छनीय छ ।

हिमालले हिउँका टुक्रा दिएपछि खोला बग्ने हुन् । खोलाले समुद्र बनाउने हो । पहरो रसाएर आएको पानीले खेतबालीमा अन्नको सिर्जना हुने हो । खानपानको बन्दोबस्तो मिलेको बद्लामा गाईभैंसीले दूध दिने हुन् । शेरबहादुरलाई उचालेर दशकौं देखि स्वार्थको रोटी सेक्दै आएका रमेश लेखक, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमेश श्रेष्ठ, एनपी साउद, मोहनबहादुर बस्नेत सबै सबैका लागि देउवा निवास रातारात एकादेशको कथा बन्यो ।
समकालीन राजनीतिक नेतृत्वमा वचनमा अड्ने, निर्णय दिन नअलमलिने, विश्वास जितेकालाई हदै माया गर्ने र राजनीतिक चालबाजीमा नबोलेरै जित्ने क्षमता देउवामा परख गरिएका गुण हुन् । सत्ताका लागि जायज नाजायज सम्झौता गर्ने, पढेलेखेका भए पनि बौद्धिकता नझल्कने, बोलीमा आकर्षण नभएका, रिसाहा स्वभाव देउवाका छरपस्ट अवगुण हुन् । नेतालाई पुल्पुल्याएर राजामहाराजाको गुण सार्नमा कार्यकर्ताको अहं भूमिका छ । नेताका गल्तीलाई दर्शन बनाउने नेता, कार्यकर्ताको लीला अपरम्पार छ ।
सत्ताका लागि जायज नाजायज सम्झौता गर्ने, पढेलेखेका भए पनि बौद्धिकता नझल्कने, बोलीमा आकर्षण नभएका, रिसाहा स्वभाव देउवाका छरपस्ट अवगुण हुन् ।
बीपीले आफूलाई स्थापित गराउन मन, वचन, कर्म लगाए । तर त्यतिको अग्लो नेताले कागजमै किन नहोस् देश निर्माणको भिजन सहितको इन्जिनियरिङ गर्न सकेनन् । बरु राजा महेन्द्रले त्यो छनक ल्याएका थिए । २०४६ सालको बहुदल, माओवादी हिंसात्मक द्वन्द्वले ल्याएको गणतन्त्र त नेपाललाई भारत र चीनका उत्पादन बेच्ने सोरुमको लाइसेन्स दिने एजेन्सी मात्र बने । हेरौं त भारतले गाडी दिने भएपछि यहाँ चुनावको मिति तय हुन्छ । त्यही गाडी नगुडी मतपत्र गन्तव्य पुग्दैन । उसले दिएको मसी उपयोग नभई स्वस्तिक बन्दैन । डीभी नपरेको, खाडीमा मेसिनले हात ठुन्क्याएपछि उर्लिएको राष्ट्रियता र राष्ट्रिय झण्डा घाँटीमा बेरेर आगो लगाउन आएको उत्तेजनामा खासै अन्तर छैन । फर्सीले चुलेसी काटे पनि, चुलेसीले फर्सी काटे पनि आउने परिणाम त एकै हो । शेरबहादुरहरु शेर हुन नसक्नुका पृष्ठभूमि पनि यिनै गतिविधि हुन् ।













प्रतिक्रिया