बग्दादी मारिएको त्यो १५ मिनेटको अपरेशन | Khabarhub Khabarhub

बग्दादी मारिएको त्यो १५ मिनेटको अपरेशन


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गर्दै उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेशल फोर्सको अपरेशनका दौरान विश्वका १ नम्बर आतंकवादी मारिएको घोषणा गरेका छन् ।

ट्रम्पले घोषणा गरेका छन् कि आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बकर अल बग्दादीको आतंक सकिएको छ । अर्थात् अमेरिकी कारबाहीमा बग्दादी मारिएका छन् ।

ट्रम्पले बताएका छन् कि शनिबार सैनिक हेलिकोप्टर ‘अज्ञात लोकेशन’बाट अमेरिकाको स्पेशल फोर्सका सदस्यहरुलाई लिएर साँझ ५ बजे वाशिङ्टन हुँदै उडेको थियो । वाशिङ्टनबाट हेलिकोप्टर उड्दा ट्रम्प आफ्नो कार्यालय ह्वाइट हाउसको सिचुएशन रुममा अन्य महत्वपूर्ण नेताहरुसँग थिए । हेलिकोप्टर १ घण्टा १० मिनेटसम्म आकाशमा रह्यो, जबकि अपरेशन २ घण्टासम्म चल्यो ।

अधिकारीहरुले बताएका छन् कि आइतबार नटेक्दै अमेरिकी फोर्सले सिरियाको इदलिब प्रान्तको बारिसा गाउँलाई निशानामा लिइसकेको थियो । यो टर्कीको दक्षिणी सीमाभन्दा मात्र ५ किलोमिटर टाढा छ ।

इदलिब प्रान्त सिरियाली राष्ट्रपति बशर अल–असदको विरोधीहको अन्तिम, तर मजबूद किल्ला थियो । उक्त प्रान्त जिहादी गठवन्धनहरुको गढ मानिन्थ्यो ।

अबु बकर अल बग्दादी, फाइल तस्वीर

उक्त क्षेत्रमा रुसको समर्थनमा पूर्व, पश्चिम र दक्षिणमा सिरियाली सेनाको पनि तैनाथी छ ।

ट्रम्पले भनेका छन् कि अमेरिकी खुफिया एजेन्शीहरुले बग्दादीलाई धेरै पहिलेदेखि पछ्याइरहेका थिए । बग्दादी जहाँ थिए, त्यहाँ धेरै ठाउँमा सुरुङ नै सुरुङ थिए । ट्रम्पले उक्त मिशनका लागि स्पेशल फोर्सको एक ठूलो समूहलाई सहभागी गराएका थिए । उक्त समूहमा ८ वटा हेलिकोप्टर, कैयौं पोत र प्लेनहरु थिए ।

अमेरिकी हेलिकोप्टरहरु टर्कीको आकाशमा उड्दै बग्दादी भएको इलाकातर्फ लागे । अमेरिकी हेलिकोप्टरले उक्त क्षेत्रको आकाश पनि पार गरे, जहाँ सिरियाली र रुसी सेनाको नियन्त्रण थियो । ट्रम्पका अनुसार रुसलाई अमेरिकी स्पेशल फोर्सको अपरेशनबारे कुनै जानकारी थिएन । तर, पनि रुसले अमेरिकी हेलिकोप्टरको उडानमा कुनै अवरोध गरेन । उक्त मिशनमा रुसले पनि सहयोग गरेको ट्रम्पको भनाइ छ ।

‘फ्लाइट धेरै खतरानाक क्षेत्रबाट निस्कियो र भित्र छिर्‍यो । एउटा कुराको डर थियो कि हामी आगोको चपेटमा पर्न सक्छौं । कतिबेला उडानको गति धेरै कम गर्नु पथ्र्यो भने कतिपय समयमा गतिलाई तीब्र बनाउनु पर्थ्यो,’ ट्रम्पले भनेका छन्, ‘जब हेलिकोप्टरहरु बग्दादीको इलाका नजिक पुगे, गोलाबारी शुरु भयो । यसलाई आफ्नो नियन्त्रणमा ल्याउन हामीलाई धेरै समय लागेन् ।’

बारिशा गाउँका एक स्थानीयलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ कि जमिनमा उत्रिनुभन्दा पहिले हेलिकोप्टरबाट करिब ३० मिनेटसम्म गोलाबारी भएको थियो । ‘हेलिकोप्टरबाट धेरै घरमा मिसाइलहरु पनि प्रहार भए । मिसाइल आक्रमणबाट एउटा घर पूर्ण रुपमा नष्ट भएको छ,’ बारिशा गाउँका ती स्थानीयले बीबीसीलाई भनेका छन् ।

बग्दादीविरुद्धको अपरेशनपछि बारिशा गाउँको दृश्य, तस्वीर– एएफपी

ट्रम्पले बताएका छन् कि बारिशा गाउँमा पहिले एउटा हेलिकोप्टर ल्याण्ड गरियो । त्यसपछि अमेरिकी स्पेशल फोर्सका जवानहरुले परिसरको ढोकाहरुमा छुट्टै दूलो बनाए, जसबाट आपत्कालीन अवस्थामा बाहिर निस्किन सकियोस् ।

त्यसपछि उक्त कम्पाउण्ड भित्र अपेशन शुरु भयो । ट्रम्प भन्छन् कि बग्दादी शुरुङ भित्र छिरेर भाग्न लागे, उक्त शुरुङमा भित्र छिर्ने बाहेक बाहिर निस्किने कुनै अर्को ठाउँ थिएन । अमेरिकी स्पेशल फोर्सका जवानहरु देखेर बग्दादी रोइरहेका थिए ।

‘पहिले नै पुरै कम्पाउण्डलाई खाली गरिएको थियो । या त मानिसहरुले आत्मसमर्पण गरे, या त मारिए । ११ बालबालिकालाई बाहिर निकालियो । उक्त शुरुङमा बग्दादी एक्लै भागिरहेको थियो । उसले आफूसँग तीन बच्चालाई पनि लिएको थियो । उनीहरु सबै मारिए,’ ट्रम्पले भने, ‘बग्दादी शुरुङको अन्तिम बिन्दुमा पुगेको थियो । हाम्रा कुकुरहरुले उसलाई लखेटिरहेका थिए । आखिरमा उ भूइँमा लड्यो । अन्ततः उसले आफ्नो कम्मरमा बाँधिएको विस्फोपटबाट आफूसहित आफ्नो साथमा रहेका तीन बच्चालाई पनि उडाइदियो । विस्फोटकको धमाकाबाट शुरुङ पनि ध्वस्त भयो ।’

ट्रम्पले भनेका छन् कि कम्पाउण्डमा अपरेशन शुरु गरिएको १५ मिनेट भित्रै बग्दादी मारिएका थिए । ट्रम्पले भनेका छन् मारिएका व्यक्ति बग्दादी नै हुन् भन्ने कुरा डीएनए परीक्षणबाट पुष्टि भइसकेको छ ।

अमेरिकी स्पेशल फोर्सको साथमा डीएनए परीक्षण गर्ने विज्ञहरु ल्याबसहित तैनाथ थिए । विज्ञहरुको टोलीले घटनालगत्तै शवको अवशेष परीक्षण गरेर मारिने व्यक्ति बग्दादी भएको पुष्टि गरेका हुन् ।

ट्रम्पले उक्त अपरेशनका दौरान अमेरिकी सेनातर्फ कुनै क्षति नभएको दाबी गरेका छन् । जबकि बग्दादीको समूहका धेरै जनाको मृत्यु भएको ट्रम्पले बताएका छन् ।

मारिनेहरुमा बग्दादीका २ जना श्रीमतीहरु पनि रहेका जनाइएको छ ।

बग्दादीलाई लेखट्ने क्रममा अमेरिकी सेनाको एउटा कुकुर घाइते भएको जनाइएको छ ।

उक्त अपरेशनका दौरान बग्दादीको समूहका कुनै व्यक्ति घाइते अवस्थामा (जीवित) पक्राउ परेका छन् या छैनन् भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

बग्दादी सिरिया र इराकको सीमाभन्दा सयौं किलोमिटर दूर रहेको बारिशा गाउँमा थिए । उक्त क्षेत्र मुख्यतः रेगीस्तानी इलाका हो ।

ट्रम्पका अनुसार आइएसलाई फेरि सक्रिय पार्ने गरी बग्दादीले उक्त क्षेत्रलाई रोजेका थिए । उक्त क्षेत्र बग्दादीका लागि सुरक्षित पनि थियो । तर, बग्दादीका हरेक गतिविधि खुफिया एजेन्शीहरुको निगरानीमा रहने गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।

ट्रम्पले अब आइएसको नेतृत्व कसले लिन्छ भन्ने विषयमा पनि अमेरिकालाई राम्रोसँग थाहा भएको बताएका छन् । र, अब आइएसको नेतृत्व लिने व्यक्तिको ठेगाना पनि आफूहरुसँग रहेको ट्रम्पको भनाइ छ ।


एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १२ : १३ बजे

धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना, चालक र सहचालकले गुमाए ज्यान

धनकुटा- धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको

अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

‘कार्साङ’ नायिका सिर्जना : १० वर्ष कलाकारिता, अनि मूलधारमा

काठमाडौं – नेपालको रजतपटमा लागि नौलो नाम हो– सिर्जना निङ्लेखु

दुखाइ कम गर्ने औषधि बन्यो लागुऔषध, धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन गर्न माग 

लण्डन– बेलायतस्थित नेपाली पत्रकारहरूले नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशनको माग