झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल गएराति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर– ६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल घाइते भएका छन् । उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।













प्रतिक्रिया