काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार बिहानै गोली चलेको घटनाले सनसनी मच्चाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको जुहु क्षेत्रमा रहेको शेट्टीको निवासबाहिर अज्ञात आक्रमणकारीले चार राउन्ड गोली प्रहार गरेका हुन्।
मुम्बई प्रहरीले घटना आइतबार बिहान करिब ३ बजे भएको पुष्टि गरेको छ । गोली चलेलगत्तै शेट्टीको घर वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र क्षेत्रमा कडा निगरानी राखिएको छ ।
जुहु क्षेत्र बलिउडका थुप्रै ठूला सेलिब्रेटीहरूको बसोबास रहेको उच्च-सुरक्षा क्षेत्र मानिन्छ । यही क्षेत्रमा यस्तो घटना हुनु गम्भीर विषय भएको भन्दै प्रहरीले सीसीटीभी फुटेज, मोबाइल लोकेशन र अन्य प्राविधिक प्रमाणको आधारमा आक्रमणकारीको पहिचान गर्न अनुसन्धान तीव्र बनाएको छ ।
हालसम्म आक्रमणको उद्देश्य खुल्न सकेको छैन भने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।
यो घटना हालै बलिउड सेलिब्रेटीहरू लक्षित गरी भएका गोलीकाण्डसँग जोडेर हेरिएको छ । यसअघि सन् २०२४ अप्रिल १४ मा अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली प्रहार गरिएको थियो, जसको जिम्मेवारी कुख्यात लरेन्स बिश्नोई ग्याङले लिएको थियो ।
त्यस्तै केही समयअघि भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको क्यानडास्थित क्याप्स क्याफेमा पनि तीन पटक गोली प्रहार गरिएको थियो, जसको जिम्मेवारी पनि सोही गिरोहले लिएको थियो। लगातार भइरहेका यस्ता घटनाले बलिउड सेलिब्रेटीहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
रोहित शेट्टी घटनामा कसको हात छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र चाँडै सत्य बाहिर आउने विश्वास मुम्बई प्रहरीले व्यक्त गरेको छ ।













प्रतिक्रिया