बालेनको पक्षमा बग्रेल्ती गीत, र्‍यापर-एआईले दिए स्वर ! « Khabarhub

बालेनको पक्षमा बग्रेल्ती गीत, र्‍यापर-एआईले दिए स्वर !


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापको सुरुवात सयौं वर्ष पहिला नै भएको तथ्यहरु भेटिन्छ । एकिन मिति ठम्याउन कठिन छ । तर, एक कुरा प्रष्ट छ- क्रान्तिको आवाज उठाउन र्‍यापको प्रयोग भयो ।

सन् १९७० को दशकमा अमेरिकामा सामाजिक र आर्थिक विभेदमा परेका अश्वेतहरुले गोराहरुविरुद्ध आवाज उठाउन र्‍यापको प्रयोग गरे । यहीबाट र्‍याप मौलाएको हो ।

पछि गोराहरु पनि र्‍यापर बने र यसको अन्य व्यवसायिक पक्षसँग पनि जोडिए । अनि र्‍याप संगीतको बलियो विधामा स्थापित भयो ।

अर्थात्, र्‍याप क्रान्तिसँग जोडिएको छ । यसले परिवर्तनको लेगेसी बोकेको छ । अहिले अन्य संगीतको विधाजस्तै र्‍यापलाई मनोरञ्जनका रुपमा विश्वले स्वीकार गरेको छ ।

बालेन्द्र शाह ‘बालेन’ पनि र्‍याप पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्ति हुन् । भलै उनका र्‍याप जोडदार क्रान्तिकारी छैनन् । सामाजिक र राजनीतिक चेत बोकेका एकाध र्‍याप गाएका छन् ।

अहिले राजनीतिमा बालेनको प्रवेशलाई ‘परिवर्तनको प्रयास’का रुपमा लिइन्छ ।

पुराना दलहरुको सत्ता सिन्डिकेट तोड्ने रणनीति स्वरुप बालेनलाई उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएको छ ।

लामो समय सत्ताकै रापतापमा बसेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ मा बालेनले रास्वपाबाट उम्मेद्वारी दिएका छन् ।

ओलीविरुद्ध बालेनको उम्मेद्वारी कारण प्रष्ट छ- ओलीलाई चौथो पटक प्रधानमन्त्री बन्न रोक्ने ।

बालेन देशव्यापी राम्रो समर्थक भएका नेता हुन् । ती समर्थकहरुको बुझाइ छ– बालेन परिवर्तनको आशा हुन् । उनले सत्ताको रापतापमा राजनीति गरेर देश विकास गर्न नसक्ने नेतालाई विस्थापन गर्छन् । देशमा विकासको क्रान्ति ल्याउछन् ।

अर्थात्, एउटा ठूलो तप्काले बालेनलाई परिवर्तनको आशा घोषणा नै गरेका छन् । परिवर्तनको बिकल्पको सपना र जपनाका रुपमा उनलाई लिइएको छ ।

नेपालले लोकतान्त्रिक विधिबाटै परिवर्तनको कल्पना गर्छ । जनता यसका हकदार हुन् । दललाई सत्तामा पुग्न जनमतको भर पर्नुपर्छ । मताधिकारको स्वविवेक प्रयोग गर्न जनता पूर्ण स्वतन्त्र छन् ।

परिवर्तन पक्षधरले आफ्नो आवाज बुलन्द गर्न गीत–संगीतलाई प्रभावकारी मान्छन् । सोहीकारण केही दलले गीत-संगीतलाई स्थान दिन विभाग नै गठन गरेका हुन्छन् । राजनीतिमा संगीत हतियार बन्ने गर्छ ।

समर्थक कलाकारबाट निश्चित दल वा व्यक्तिको चुनाव केन्द्रित समर्थनमा गीत गाउने प्रवृति झन् अहिले बढ्दो छ ।

बालेनमा हकमा पनि चुनाव केन्द्रित भइ समर्थनमा गीतहरु बनेका छन् । ‘परिवर्तन आवाज’को लेगेसी बोकेको र्‍याप विधाका गीतहरु पनि उनका समर्थनमा बनेका छन् ।

कुन र्‍यापरले गाए बालेनको समर्थनमा ?

बालेनका पक्षमा र्‍याप गीत निकाल्ने मुलधारका एक्लो र्‍यापार भिओमा देखिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पनि उनले बालेनको समर्थनमा र्‍याप निकालेका थिए । यो प्रतिनिधिसभाको निर्वाचनमा उनी बालेनको पक्षमा नै देखिए ।

बालेनको समर्थनमा उनले ‘झापा ५’ शीर्षकको र्‍याप गीत निकालेका छन् ।

जसमा उनले नयाँ पुस्ताले देशको नेतृत्व गर्नुपर्ने, विकासका लागि भिजन भएको व्यक्ति, गरिब–निमुखा र सहिदको भावना समेट्न सक्ने नेताका रुपमा बालेनलाई प्रस्तुत गरेका छन् ।

राष्ट्रको आवश्यकता भएकाले बालेनलाई भोट हाल्न झापा ५ का जनतालाई आग्रह गरेका छन् । उनले बालेन आबद्ध पार्टी रास्वपालाई भोट दिन आग्रह गरेका छन् ।

आम नेपालीले चाहेको परिवर्तनको पक्षमा भिओमाले र्‍याप गाए । यस मानेमा उनको यो गीत क्रान्तिकारी नै हो ।

तर, यस परिवर्तनका सम्भावना भने उनले बालेन र रास्वपाबाटै देखे । यसलाई कसरी ग्रहण गर्ने ? त्यो दर्शककै स्वविवेकमा भर पर्छ ।

अन्डरग्राउन्ड र्‍यापर एयुक्सले पनि बालेनको समर्थनमा र्‍याप निकालेका छन् । ‘भोट फर बालेन’ शीर्षकको उक्त र्‍यापमा उनले युवा पुस्ताको आवाजका लागि, राजनीतिक विकृति अन्त्य र देशमा विकासका लागि बालेनको सत्ता आवश्यक रहको कोणबाट शब्द चयन गरेका छन् ।

अर्का र्‍यापर सुकराज खड्काले बालेनको चुनावी नारा ‘अबकी बार बालेन सरकार’लाई गीतमार्फत् हाइलाइट गरेका छन् । उनले रास्वपाको चुनाव चिह्न ‘घण्टी’को प्रचार गरेका छन् ।

र्‍यापर बीजी वीर गोर्खालीले बालेन सत्तामा आए देश विकास हुने बुझाइ राख्दै झापा ५ मा उनलाई भोट हाल्न आग्रह गर्दै र्‍याप गीत ‘झापा ५’ निकालेका छन् ।

अर्थात्, यी र्‍यापरले परिवर्तनकाको आवाजका लागि ‘र्‍याप’लाई अस्त्र बनाएका छन् । तर, उनीहरु व्यक्ति र दल केन्द्रित भने अवश्य छन् ।

सिस्टम, समस्याको जड र प्रवृतिमाथि खरो उत्रन नसक्नु उनीहरुको कमजोरी नै मान्न सकिन्छ ।

सिर्जनामा एक पार्टी र व्यक्ति आइडल बनाउनु स्वतन्त्र कलाकारको छवि होइन । किनकि कलाकार सबै जनताका हुन् ।

र्‍यापरहरुलाई प्रश्न स्वाभाविक उठ्छ– समस्याको जड र पुरानाको विरोधका शब्द चयनमा ध्यान दिएको भए मात्रै हुँदैन थियो र ? व्यक्ति र पार्टीलाई आइडल बनाउन नै आवश्यक थियो र ? नयाँ पार्टीको नारा हाइलाइट गर्नु र्‍यापरको काम हो र ?

अर्को रोचक कुरा बालेनको पक्षमा र्‍याप गीत बनाउन एआईको प्रयोग पनि बाक्लै पाइन्छ । यस्ता एआई निर्मित दर्जनौं गीत युट्युबमा छन् ।

अन्य गीत पनि बग्रेल्ती !

मैथिला र भोजपुरी भाषामा पनि बालेनको समर्थनमा गीत निस्किएका छन् । तर, ती भाषाका गीतहरु एआई प्रयोग गरी बढी बनाइएको भेटिन्छ ।

लक्ष्मीता ठाकुरको स्वराङ्कनमा ‘घण्टी व मोहर लागैदिहे ना’ बालेलको गीत सार्वजनिक भएको छ ।

गायक सूर्य खड्काले रास्वपाको समर्थनमा गाएको लोक गीत ‘घण्टी टिनिनी’ ले १० लाख बढी भ्युज पाएको छ ।

यो गीत दुई वर्ष अघि नै सार्वजनिक भएको हो । जसबेला बालेन रास्वपामा थिएनन् । एक महिनाअघि फेरि उनले यो गीत रिअपलोड गरेका छन् । थम्बनेलमा बालेन्द्रको तस्बिर थपेका छन् ।

गीतमा अहिलेका स्थापित गायक अर्जुन सापकोटा फिचर्ड छन् । यो गीत सार्वजनिक हुँदा अर्जुन चर्चामा थिएनन् ।

अन्य चर्चामा नरहेका दर्जनौं गायक गायिकाले बालेनको पक्षमा गीत गाएका छन् । एआईको प्रयोगमा तयार भएका गीत दर्जनौं छन् ।

यी गीतहरुमा पुराना नेताहरुलाई भ्रष्ट किटान गरिएको छ । रवि लामिछाने र बालेन जस्ता नेता सत्तामा पुग्नुपर्ने तर्क राखिएको छ । यी दुई र पार्टीको गुनगान गाइएको छ ।

गायिका शान्तिश्री परिवारले रविको पक्षमा गाएको गीत चुनावको संघारमा भाइरल छ । तर, उनले चुनाव प्रचारमा सहयोग गर्न उक्त गीत गाएकी होइनन् ।

६ वर्षअघि रवि लामिाछाने एक पत्रकारको आत्महत्या काण्डमा मुछिदा गायिका शान्तिश्रीले ‘हामी मरी बचाउँछौ रबि दाइ’ बोलको गीत गाएकी थिइन् । जसबेला रवि सहकारी ठगी मुछिएका थिएनन् भने राजनीतिमा आएकै थिएनन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : ५२ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र