कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै « Khabarhub

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य लिएको छ । आजदेखि फागुन १ गतेसम्मका लागि जिल्लामा खोप अभियन सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार यस वर्षको अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइँदैछ । गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप लगाइने उनले जानकारी दिए ।

‘प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ’, अधिकृत कुँवरले भने, ‘विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।’

खोप अभियान सञ्चालनका लागि जिल्लाका नौवटै स्थानीय तहमा विद्यालय र स्वास्थ्य संस्था गरी जम्मा ४६५ खोप केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३६२ वटा विद्यालय र १०३ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको छ ।

भीमदत्त नगरपालिकामा सबैभन्दा बढी एक हजार ३९०, कृष्णपुर नगरपालिकामा ८४३, पुनर्वास नगरपालिकामा ७४३, बेदकोट नगरपालिकामा ६०६, शुक्लाफाँटा नगरपालिकामा ५४७ जना किशोरीलाई खोप लगाउने कार्यक्रम छ ।

त्यसैगरी, बेलौरी नगरपालिकामा ५६१, दोधारा चाँदनी नगरपालिकामा ५१०, लालझाडी गाउँपालिकामा २५० र बेलडाँडी गाउँपालिकामा २२८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको अधिकृत कुँवरले जनाकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये उच्च जोखिमयुक्त रोग हो । नेपालमा पनि महिलामा देखिने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) रहेको अध्ययनहरूले देखाएका छन् । स्वास्थ्यकर्मीका अनुसार किशोरी अवस्थामै एचपीभी खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो ।

प्रारम्भिक चरणमा लक्षण नदेखिने भएकाले ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

खोप अभियान सञ्चालनका लागि प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई परिचालन गरिएको छ ।

सबै खोप केन्द्रमा खोपसहित आवश्यक सामग्री पुर्याइसकिएको कोल्डचेन अधिकृत कुँवरले जानकारी दिए । खोप लगाउने लक्षित समूह कोही पनि नछुटुन् भनेर विशेष सावधानी अपनाइएको उनको भनाइ छ ।

सरकारले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत देशभर किशोरीलक्षित एचपीभी खोप अभियान सञ्चालन गर्दै आएको छ । (रासस)

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ०१ बजे

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो