ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क « Khabarhub

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

ललितपुर र भक्तपुर २ जित्ने दाउमा एमाले



 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले विशेष अभियान चलाइरहेका छन्। निर्वाचन आयोगले चुनावी प्रचारप्रसार र घरदैलोको समय दिएको फागुन ४ गते पछाडि काठमाडौँमा विभिन्न दलले आक्रामक प्रचार गरेको देखिन्छ । 

सानासाना दलका समूह बनाएर बिहान बेलुका साँझ चोकका गल्ली र चिया पसलमा कार्यकर्ता स्थानीयलाई मत मागिरहेका छन् । यतिसम्म कि हरेक चिया पसलमा एउटा दुईटा पार्टीका स्थानीय नेता आफ्नो पार्टीलाई जिताउनका लागि चियाको चुस्की खुवाउँदै राजनीति आश्वासन दिन्छन् । 

सहरी उपत्यकामा विगतका निर्वाचनलाई हेर्ने हो भने यहाँ नयाँ अनुहारलाई प्राथमिकता दिएको देखिन्छ ।  शिक्षित र फरकपनको अभ्यास गर्ने मतदाता भएको कारणले नै नयाँलाई रुचाइएको विगतको निर्वाचनले देखाउँछ । २०७४ को निर्वाचनमा नयाँ दलको रुपमा उदाएको विवेकशील साझा र २०७९ मा नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनताको लहरलाई हेर्ने हो भने उपत्यका नयाँ चाहन्छ भन्ने पुष्टि हुन्छ।

२०७९ कै निर्वाचनमा फर्किँदा उपत्यकाका १५ स्थानमा नेपाली कांग्रेसले सात स्थान जितेर पहिलो पार्टी बनेको थियो। चुनाव हुनुभन्दा छ महिना अगाडि खुलेको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीले उपत्यकामा पाँचवटा निर्वाचन क्षेत्रमा जितेर गर्विलो सन्देश दियो । उपत्यकावासीबाट ७९ को निर्वाचनमा नेकपा एमालेले  दुई ठाउँमा मात्र माया पायो । 

यो पटक पनि उपत्यकाको भक्तपुर र ललितपुरमा नयाँहरूको चर्चा छ। ललितपुर र भक्तपुरका पाँच क्षेत्रबाट विगतमा कांग्रेसले दुई सिट हात पारेको थियो ।  पुरानो पार्टी नेकपा एमालेले एक सिट जित्यो, रास्वपाले पनि एक सिट जित्यो ।  यता विगतबाट नै भक्तपुर एकलाई लालकिल्ला बनाएको नेपाल मजदुर किसान पार्टीले एक ठाउँमा जित्यो। 

ललितपुर १ बाट कांग्रेसका उम्मेदवार उदय शमशेर राणा विजय भएका थिए भने भक्तपुर २ बाट दुर्लभ थापा क्षेत्री विजयी भए । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्की विजय हुँदा भक्तपुर १ मा नेमकिपाबाट प्रेम सुवाल विजयी भए । ललितपुर २ बाट भने एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए। 

यो पटक यहाँ नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कसले सिट बढाउने भन्ने विषयमा प्रतिस्पर्धा चल्नेछ। भक्तपुर १ मा भने नेमकिपालाई हराउनका लागि निकै संकट देखिन्छ । अन्य चार क्षेत्रमा भने को दह्रो  हुने भन्ने विषयमा कांग्रेस र रास्वपाबीच  प्रतिस्पर्धा छ। उनीहरूलाई एमालेले चुनौती दिइरहेको देखिन्छ । 

भक्तपुरको गुण्डुमा व्यवसाय गर्दै आएका स्थानीय नानीमैया चित्रकार आफ्नो चिया पसलमा आउने अधिकांशले नयाँ पार्टीको विषयमा छलफल गरेको बताउँछिन्। नानी मैया भने कसलाई भोट हाल्ने भन्ने विषयमा अहिलेसम्म निर्णय गर्ने तहमा पुगेकी छैनन्।

 ‘मेरो पसलमा चिया पिउन आउने अधिकांश नयाँको पक्षमा देखिनुहुन्छ । कांग्रेसमा गगन आएपछि केही आशा चाहिँ छ है भन्ने खालको कुरा पनि गर्नुहुन्छ। धेरै साथीहरुले भक्तपुरमा नेमकिपालाई धेरै हेर्यौ एक्लै एक्लै सांसद भएर केही काम काट्न सक्ने अवस्था छैन ।  विकल्प खोज्नुपर्छ भन्ने पनि कुरा चलिरहेको छ’, नानीमैया भन्छिन, ‘नयाँहरूप्रति पनि उल्लास देखिन्छ । फेरि पुराना दलको नयाँ नेतृत्वहरूप्रति पनि आशा देखिन्छ। यसकारण भक्तपुरले पनि दुवै निर्वाचन क्षेत्रमा नयाँ खोज्छ कि भन्ने गफहरू पनि यहाँ गरेको सुनिन्छ।’

ललितपुरका मतदाताहरू पनि नयाँ प्रति आकर्षित छन् । तर पुरानो दलमा गगन थापा नेतृत्वमा आउनाले उनीप्रति पनि आशावादी यहाँका जनता देखिन्छ। ललितपुरमा एमालेप्रति ठूै वितृष्णा छ। भक्तपुरमा पनि ओली निवास गुण्डुको निश्चित क्षेत्रबाहेक अन्यमा एमालेप्रति जनताको उल्लास छैन। 

तर ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जनलाई भने त्यहाँका स्थानीय आदिवासी र अन्य समुदायले पनि इमान्दार नेताका रुपमा चिन्छन्। उनलाई एमालेले टिकट दोहोर्‍याएर दिएको कारण पनि जित्ने बाटो देखेरै भएको एमालेका शीर्षस्थ नेताको भनाइ छ।

ललितपुरको पाटनका स्थानीय सुखमान नकर्मी ललितपुर बासी पनि नयाँप्रति आकर्षण भएको बताउँछन्। उनी गगन थापा आएपछि कांग्रेसप्रति पनि यहाँका स्थानीय उत्साहित रहेको सुनाउँछन्। 

 ‘मैले बुझेसम्म एमालेभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसप्रति यहाँका जनताहरू उत्साहित भएको देखेको छु। कांग्रेसलाई पुरानो पार्टी भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने निकै साथ देखिन्छ,’ सुखमान भन्छन्,’ ललितपुरले कांग्रेसलाई धेरैपटक हेर्यो एकपटक नयाँलाई हेरौं भन्ने पनि बाहिर हल्लाखल्ला सुन्छु। हामी केही गर्न खोज्नेलाई नि मतदान गर्नुपर्छ कि भन्नेमा छौँ। ‘

सहरी इलाकाका मतदाताले विभिन्न विकल्प र अध्ययन गरेर पार्टीभन्दा पनि व्यक्तिलाई भोट हालेको तथ्य विगतका निर्वाचन केलाउँदा पनि देखिन्छ । योपटक पनि जनताले पार्टीभन्दा व्यक्तिवादलाई प्रधान मान्छन् भन्ने यहाँका स्थानीयको अनुमान छ। 

 दलको भित्री तयारी 

विभिन्न दलका शीर्ष नेताले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर र भक्तपुरका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रमा जित्ने भित्रै आँकलन गरेको छ । पार्टी निकट स्रोतले दिएको जानकारी अनुसार ललितपुर ३ बाट तोसिमा कार्की पहिलो नम्बरमा छन् ।  ललितपुर २ बाट समानुपातिकमा ७९ को निर्वाचनमा पहिलो दल बनेको यो पार्टी जगदिश खरेलले त्यहाँबाट निर्वाचन जित्नेमा यसपटक ढुक्क छ। अघिल्लो पटक एमालेले निर्वाचन जितेको त्यहाँ एमाले पनि नछाड्ने पक्षमा देखिन्छ । यस्तै रास्वपाले ललितपुर १ का उम्मेदवार बुद्धरत्न महर्जनले पनि निर्वाचन जित्छन् भन्ने आकलन गरेको छ। 

यता नेपाली कांग्रेस  विगतमा निर्वाचन जितेका उदयशमशेर जबराले निर्वाचन जित्ने कुरामा ढुक्क छ । कांग्रेसले पनि रास्वपा जस्तै तीनवटा निर्वाचन क्षेत्र जित्ने दाउ गरिरहेको छ। ‍यता नेकपा एमालेले विगतमा निर्वाचन जितेको ललितपुर क्षेत्र नम्बर २ जसरी पनि जित्नेमा राखेको छ। एमालेले भक्तपुर क्षेत्र नम्बर २ लाई पनि जित्नेको सूचीमा राखेको देखिन्छ । एमालेबाट भक्तपुर २ मा महेश बस्नेत र ललितपुर २ मा प्रेमबहादुर महर्जन छन्।

भक्तपुर १ : नेमकिपालाई हराउन मुस्किल

हुन त नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले यहाँ २०७४ र २०७९ को निर्वाचनमा विजय हासिल गर्दै आएका थिए। स्थानीय मणिलाल श्रेष्ठ यो पटक पनि प्रेम प्रति जनताका आकर्षण रहेको बताउँछन्। नयाँ पुराना सबै दलले उनलाई जित्न मुस्किल रहेको आकलन गर्न गाह्रो छैन । 

प्रतिनिधि सभामा पनि उनको आवाज बुलन्द हुँदै आएको थियो। अन्य सबै दलले गठजोडको सरकार बनाउँदा पनि नेमकिपा कहिले सरकारमा नबसेको र प्रतिपक्षमा दरो भूमिका खेलिरहेको देखिन्छ । ७९ को निर्वाचनमा ४२ हजार बढी मत ल्याएर निर्वाचित भएका प्रेमलाई यो पटक पनि कठिन भने नरहेको बताइन्छ। 

नेपाली कांग्रेस नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टीको मतलाई हेर्ने हो भने  अगाडिका निर्वाचनमा १० हजार मत कटाउन सकेका छैनन् । रास्वपा उम्मेदवार रुकेश रन्जितलाई यहाँका मतदाताले खासै वास्ता नगरेका कारण सुवालले  कम्फर्टेबल निर्वाचन जित्छन् भन्ने धेरैले आकलन गरेका छन् । 

यहाँबाट नेकपा एमालेले सोमप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ। उनी जनतासँग भिजेका नेता भने होइनन् । नेपाली कांग्रेसले किरण न्यौपानेलाई अगाडि सार्दा तल्लो तहसम्म कसैको संगठन नहुनुले प्रेमलाई जित्नका लागि ठूलै कायापलट हुनुपर्ने देखिन्छ। 

 भक्तपुर २ : कबिर, राजीवको चर्चा, महेश विवादित 

भक्तपुर २ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको बसोबास छ। यहाँ ओलीलाई बसोबासको प्रबन्ध मिलाउने उनकै पार्टीका युवा नेता महेश बस्नेत हुन्। ओलीको बसोबासका कारण एमालेको चर्चा छ। महेश बस्नेत विभिन्न विवादमा परेका कारण उनको चरित्रमाथि पनि प्रश्न उठाइँदै आएको छ। 

महेशलाई विभिन्न आरोप लगाउँदै आएकी शोभा पाठकले पनि उम्मेदवारी दिएपछि यहाँ रास्वपा उम्मेदवार राजीव खत्री र नेपाली कांग्रेसका उम्मेदवार कविर राणाको चर्चा देखिन्छ। २०७४ सालको निर्वाचनमा यहाँ एमालेका महेश बस्नेतले ३६ हजार ४१२ मत ल्याएर विजय भएका थिए भने २०७९ को निर्वाचनमा कांग्रेसका दुर्लभ थापा २४ हजार २३९ मत ल्याएर निर्वाचित भए। २०७९ को समानुपातिक मतलाई हेर्ने हो भने भक्तपुर २ मा एमालेले १७ हजार ८२६ ल्याएको थियो। कांग्रेसले १४ हजार ८९४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ८९६ मत ल्यायो।

यो पटक ७४ को हिसाब महेश फर्काउने दाउमा छन् तर मिडिया छोडेर राजनीतिमा होमिएका खत्री र कांग्रेसका राणाले उनीलाई चुनौती दिइरहेको देखिन्छ । भक्तपुर २ का मतदाता पनि महेशभन्दा कबिर र राजीवलाई रोज्ने पक्षमा देखिएको स्थानीय कमला दाहाल बताउँछिन् । महेशले जुनसुकै हालतमा पनि निर्वाचन जित्ने दाबी गरिरहेका छन् तर उनको अग्नि परीक्षा हुने निश्चित छ ।

ललितपुर- १ : काङ्ग्रेसका उदयलाई रास्वपाका बुद्ध रत्नको चुनौती 

ललितपुर १ मा अघिल्लो पटकको निर्वाचनमा कांग्रेसका उदयशमशेर जबरा २३ हजार ८९२ मत ल्याएर विजय भएका थिए। नेपाल प्रहरीको आइजीपी जागिर छोडिएर एमालेको राजनीतिमा होमिएका नवराज सिलवाल २०७४ को निर्वाचनमा २६ हजार ९५१ मत ल्याएर यहाँबाट विजयी भए । यो पटक कांग्रेसले जबरालाई यथावत टिकट दिएको छ भने एमालेबाट चेतनाथ सञ्जेल उम्मेदवार छन्। 

सञ्जेलले ७४ फर्काउने दाउ गरिरहेका बेला रासपाका बुद्धरत्न महर्जनको चर्चा निकै छ। ललितपुर १ मा उदय शमशेर र बुद्धरत्नको मुख्य प्रतिस्पर्धा रहने यहाँका स्थानीय बताउँछन्। २०७९ को निर्वाचनमा एमालेको भोट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिनकुमार घिमिरेलाई गएको थियो। नवराजलाई टिकट नदिएपछि त्यहाँबाट एमाले नेताहरू रुस्ट भएर राप्रपाका सन्दीप आचार्यलाई समेत मत हाल्न पुगेका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीको लहर त्यसबेलाको निर्वाचनमा नचले पनि यो पटकको निर्वाचनमा भने बुद्धरत्नलाई त्यहाँका स्थानीयले राम्रै उम्मेदवार मानेका छन् । बुद्ध रत्न र उदय शमशेरलाई त्यहाँको तल्लो तहसम्म भिजेको नेता मानिने भएका कारण मुख्य प्रतिस्पर्धा यी दुई बीच देखिन्छ। 

कतिपयले त गगन थापालाई साथ दिएको कारण उदय शमशेरले निर्वाचन जिति छोड्ने बताउँछन् । ललितपुर १ मा एमाले निर्वाचित हुने अवस्था भने छैन। ललितपुर १ मा २०७९ को निर्वाचनमा कांग्रेसले १६ हजार ३५२ समानुपातिकमा मत ल्याएर  पहिलो बनेको थियो ।  भने नेकपा एमाले १५ हजार ५०८ मत ल्याएर दोस्रो बनेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीको मत लगभग ७ हजार थियो । 

ललितपुर २ : जगदीश परीक्षणको कसीमा, एमाले ढुक्क

ललितपुर २ मा २०७४ सालको निर्वाचनमा कृष्णलाल महर्जन एमालेबाट २७ हजार ७२३ मत ल्याएर निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा पनि यहाँ एमालेका प्रेमबहादुर महर्जन नै निर्वाचित भए । विगतका निर्वाचनहरूमा एमाले बलियो रहेको ललितपुर २ मा अहिले पनि एमालेको चर्चा राम्रै छ। विगतमा दिएका प्रेमबहादुर महर्जन नै एमालेबाट प्रतिस्पर्धी हुनाले स्थानीय बताउँछन्।

 ‘विगतबाट नै एमालेको गड ललितपुर २ हो । यो पटक पनि प्रेम दाइले नै निर्वाचन जित्नुहुन्छ होला’, स्थानीय हिरामान चित्रकार भन्छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल हुनुहुन्छ उहाँको चर्चा पनि राम्रै छ। तर प्रेमबहादुरलाई टिकट दिएका कारण जगदीश परीक्षणको कसीमा हुनुहुन्छ ।’

यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले जगदीश खरेललाई टिकट दिएको छ। मन्त्री पदबाट बिदा भएर खरेल त्यस क्षेत्रमा उम्मेदवार बनेका छन्। नेवारी क्षेत्रको बक्लो बसोबास रहेको त्यस क्षेत्रमा जगदीशलाई निकै चुनौती छ किनभने कांग्रेसले पनि स्थानीय प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा चन्द्र महर्जन कांग्रेसबाट १६ हजार ९४५ मत ल्याएर दोस्रो भएका थिए तर २०७९ को निर्वाचनमा भने सुदिप शाक्य हानेपा पार्टीबाट दोस्रो भए ।

त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८६६ मत ल्याए र तेस्रो भएका थिए। ललितपुर २ मा जगदीशलाई परीक्षणको कशीमा जनताले राखेका छन्। यो त राष्ट्रिय स्वतन्त्र पार्टीले भने ललितपुर ३ मा जगदीशले जिति छाड्ने दाबीसहित टिकट दिएको हो। त्यसकारण जगदीशले आफ्नो साख बचाउन सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ। तर यहाँ एमालेका प्रेमबहादुर भने आफू निर्वाचित हुनेमा ढुक्क छन्। 

एमालेलाई विवादित बनाइएका कारण जगदीश नभए कांग्रेसका प्रेमबहादुरले चिट्ठा पार्छन् भन्ने पनि उत्तिकै देखिन्छ। तर प्रेमबहादुरको छवि स्वच्छ रहेकाले उनलाई नै निर्वाचित गराउँछन् भने मतदाता पनि स्थानीय प्रशस्तै छन्। २०७९ को समानुपातिक मत हेर्ने भने यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ८१५ ल्याएर पहिलो मत प्राप्त गरेको छ। दोस्रो मत नेकपा एमालेले ११ हजार ८९ ल्याएको छ । 

 ललितपुर ३ : तोसिमालाई हराउन चर्चित उम्मेदवार भएनन्

ललितपुर ३ का मतदाताले २०७९ को निर्वाचनमा नयाँ अनुहार अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसिमा कार्कीलाई निर्वाचित गराएका थिए । त्यसबेला कार्की ३१ हजार १२६ मत ल्याएर तत्कालीन माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललाई हराएकी थिइन्। २०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्दा भुसालले २४ हजार ३६ मत ल्याएर निर्वाचित भएको क्षेत्र ७९ मा आइपुग्दा तोसिमाले खोसिन्। 

हुन त २०७९ को निर्वाचनमा पनि लोकतान्त्रिक वाम गठबन्धनबाट पम्फालाई नै उम्मेदवार बनाएको थियो। तर त्यसबेला उनको मत झिनु थियो । उनले ८ हजार ७५९ मत मात्रै आयो। अघिल्लो पटकको निर्वाचनमा तोसिमालाई निर्वाचन आयोगले पटकपटक स्पष्टीकरण सोध्दा पनि अप्रत्याशित रुपमा विजय भएपछि उनको चर्चा छ। 

पछिल्लो समय तोसिमालाई कतिपयले अपरिपक्व र अस्थिर पार्टी नेत्री मान्छन् तर यो पटक पनि उनको लहर भने ललितपुर ३ मा घटेको छैन। ७९ को निर्वाचनमा उम्मेदवारी खारेज गर्न सर्वोच्च अदालतसम्म पुगेको तोसिमाको उम्मेदवारी यसपटक भने कुनै विवादमा छैन। २०७९ को निर्वाचनमा एमालेका अमृत खड्काले १३ हजार मत ल्याएका थिए। ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि पहिलो भएको थियो। जहाँ १६ हजार मत ल्याएको थियो।

 यसकारण यो पटक पनि तोसिमालाई नै त्यहाँका मतदाताले निर्वाचित गराउँछन् भन्ने विश्वास राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ। योपटक एमालेले सन्ध्या थापालाई उम्मेदवार बनाएको छ। यता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेकपाले राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ।

कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ उम्मेदवार रहँदा ललितपुर ३ का नेवार समुदाय र आदिवासी समुदायले तोसिमालाई मत दिँदैनन् भन्ने हल्ला देखिन्छ । तर चर्चित उम्मेदवार नभएकै कारण तोसिमाको जित सुनिश्चित हुने स्थानीय प्रजल तामाङ बताउँछन्। तामाङका अनुसार अपरिपक्वता तोसिमामा देखिए पनि मतदातालाई भने चिड्याउने काम उनले गरेकी छैनन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १० : ०० बजे

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको

पाँचौँ वर्षमा अन्नपूर्ण केबलकार, निःशुल्क स्वास्थ्य शिविरसहित सञ्चालन

पोखरा– अन्नपूर्ण केबलकार लिमिटेड चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा

जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि र विशेष संरचना तयार

काठमाडौं– अर्थ मन्त्रालयले जलवायु कोषबाट प्राप्त हुने वैदेशिक सहायतालाई सरल,

कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि

सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह (तस्बिरहरू)

काठमाडौं– आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको