मुस्ताङ – चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो ।
मुक्तिनाथमा फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । उनका अनुसार पुस र माघमा आशिंक रूपमा धार्मिक पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेकामा चिसो केही कम भएकाले दर्शनार्थी पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थाले पछि मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी तथा धार्मिक पर्यटकको आगमन थप वृद्धि हुने अपेक्षा गरिएको व्यवस्थाक भुसालले बताए । फागुन लागेपछि मन्दिर दर्शन गर्ने भक्तजनको उचित व्यवस्थापन, सरसफाइ, खानपानलगायत पक्षमा ध्यान दिइएको उनको भनाइ छ ।
मुक्तिनाथ दर्शन गर्नका लागि भक्तजनलाई लाईनवद्ध गराउने, दर्शनमा सहज बनाउने, स्वच्छ पानी तथा खानपानलगायत लेक लाग्ने समस्याबाट सुरक्षित रूपमा भक्तजनको सुरक्षाका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई क्रियाशील राखिएको व्यवस्थापक भुसालले जानकारी दिए । उनका अनुसार मुक्तिनाथको चिसोमा १०८ धारा र कुण्डमा स्नान गरेका दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मालम्बीको धार्मिक आस्थाको केन्द्र पवित्र धार्मिकस्थलमा दर्शन गर्नाले जानअञ्जानमा भएका गल्तीमा मुक्त भइने धार्मिक जनविश्वाश रहिआएको छ । भगवान् विष्णुको बासस्थान रहेको मुक्तिनाथधाममा बर्सेनि श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
मन्दिरसम्म पुग्ने धार्मिक पर्यटक तथा दर्शनार्थीको सुविधाका लागि पर्याप्त भक्तजनमैत्री पूर्वाधार नहुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । मन्दिरको मुख्य प्रवेशद्वार ‘सिङ्गललेन’को भएकाले भक्तजनलाई भीडभाडमा पैदलयात्रा गर्न समस्या हुने गरेको समितिका व्यवस्थापक भुसालले उल्लेख गरे ।
साथै मन्दिर परिसरमा पर्याप्त मात्रामा शौचालय र चेञ्जिङरुम (कपडा परिवर्तन गर्ने कोठा) नहुँदा पनि भक्तजनलाई समस्या पर्ने गरेको उनको बुझाइ छ ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले दर्शनार्थीको सुविधाका लागि समितिले आठ वटा योजना अघि बढाउन पुरातत्व विभागसँग स्वीकृतिका लागि प्रस्ताव पठाइसकेको जानकारी दिनुभयो । भक्तजनमैत्री पूर्वाधार निर्माणका लागि पुरातत्व विभागमा पठाइएको प्रस्ताव अनुमोदन हुन नसकेकाले पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन नसकिएको उनले उल्लेख गरे ।
झापाबाट शैक्षिक भ्रमणमा मुक्तिनाथ आएकी एञ्जल अधिकारीले यस क्षेत्रको सेताम्मे हिमशृङ्खलाले आकर्षित गरेको धारणा राखिन् । क्याम्पसका ६२ जना विद्यार्थीसँगै मुक्तिनाथ दर्शन गर्न आएकी उनले पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न पाउँदा गौरान्वित महसुस भएको बताइन् ।
यसैगरी नवलपुरका दर्शनार्थी सुनिल पाठकले मुक्तिनाथको १०८ धारामा स्नान गरी मन्दिर दर्शन गर्नाले सबै जान अञ्जानमा भए गरेका पाप पखालिने जनविश्वाश रहिआएको बताए । नेपालका धार्मिकस्थलमध्ये एक प्रमुख रहेको मुक्तिनाथ क्षेत्रमा देवीदेवताको बासस्थान रहेकाले यसस्थानको महत्व अधिक रहेको उनले उल्लेख गरे ।
पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग सहज भइसकेकाले पनि मुस्ताङ र मुक्तिनाथ दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो । मुस्ताङमा धार्मिक पर्यटकको सङ्ख्या बढेसँगै यहाँको पर्यटन व्यवसायसमेत चलायमान बन्दै जान थालेको छ । मुक्तिनाथमा दर्शन गर्न भारतीय पर्यटकको बाक्लो उपस्थिति रहँदै आएको छ ।
मुस्ताङमा चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २२ हजार ५५८ जना पर्यटक भित्रिएका छन् । यसअघि आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । गत आवमा यहाँ सात लाख पाँच हजार ७७९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ ।
मुक्तिनाथमा विशेषगरी चैते दसैँको सोह्र श्राद्धदेखि औँसी र चैते दसैँसम्म तथा बडादसैँ अघिको सोह्र श्राद्धदेखि बडादसैँसम्म धार्मिक पर्यटकको आगमन अत्यधिक हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।













प्रतिक्रिया