काठमाडौं- विगतको निर्वाचनमा निर्धक्क देश दौडाहा गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटक आफ्नो सम्पूर्ण शक्ति झापा-५ मा केन्द्रित गरेर बसेका छन् । यसअघि मनोनयन दर्ता गराएपछि एक दुई पटक झापा पुगेर अन्त हिँड्ने गरेका उनलाई पहिलो पटक मतदातालाई फकाउनुपर्ने बाध्यता आइलागेको छ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि सत्ताच्यूत भएका ओलीलाई नयाँ पुस्ताका नेता बालेन्द्र साहले झापा-५ मा पुगेर चुनौती दिइरहेका छन् । ओलीसँग प्रतिशोध साँधिरहेका बालेनलाई उनलाई राजनीतिबाट बिदा गर्ने योजनासहित झापा पुगेका हन् । उनीसँगै नेपाल कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जित तामाङ र कांग्रेस उम्मेदवार मन्धरा चिमरियाले पनि ओलीलाई चुनौती दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेका साहले झापा-५ बाट उम्मेदवारी दिएपछि ओली अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण घडीमा छन्। २०२८ सालको झापा विद्रोहबाट राजनीतिक उचाइ लिएका उनी २०८२ सम्म आइपुग्दा राजनीतिक बिदाइको अवस्थामा छन् । विगतका एमालेका सहयोगी नै बालेनलाई जिताउन इच्छुक देखिएपछि झापा ५ को राजनीतिक जोडघटाउ रोचक भएको छ।
अहिले ओली झापा-५ मा एमालेका असन्तुष्ट पक्ष, बौद्धिक वर्ग, युवा, विद्यार्थी, रिक्सा चालकदेखि शुभचिन्तकसमेत भेटिरहेका छन् । असन्तुष्ट पक्षलाई मनाउन उनले पार्टीका नेता कार्यकर्तालाई हरेक घरमा परिचालन गरिरहेका छन् ।
अर्कोतर्फ, बालेनका समर्थकले सामाजिक सञ्जालमा पकड जमाउँदै मतदाता प्रभावित पार्न खोजिरहेका छन् । सामाजिकक सञ्जालमा बालेनको दबदबा देखिएपछि ओलीले पनि आफ्ना कार्यकर्तालाई त्यहीअनुसार परिचालित गरेकाा छन् ।
ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार पछिल्लो समय झापा-५ मा अहिले माहोल बनिरहेको छ । विगतमा ओलीसँग असन्तुष्ट पक्षहरू अहिले उनको सक्रियतापछि सूर्यमा मतदान गर्न ‘कन्भिन्स’ भएको उनी बताउँछन् ।
‘विगतमा केही भ्रम छर्ने काम भएको थियो । त्यसलाई चिरेर अगाडि बढिसकेका छौँ । अध्यक्षज्यूले पनि भ्रम परेका ठाउँमा कुरा राखेर बुझाइसक्नुभएको छ’, दाहालले खबरहबलाई भने, ‘बालेन्द्र लगायतका मान्छेहरूले समुदायमा भ्रम फैलाएका रहेछन् । उहाँहरू त्यसकारण अन्योलमा हुनुहुन्थ्यो । अहिले हाम्रो पक्षमा खुलिसक्नुभएको छ ।’
दाहालका अनुसार अब ओली घरदैलोमार्फत असन्तुष्ट पक्ष र समुदायका सम्पूर्ण नेता कार्यकर्तालाई भेट्ने योजनामा छन् ।

निर्वाचनअघि नफर्किने सम्भावना
दाहालले खबरहबलाई दिएको जानकारी अनुसार परिस्थिति फेरबदल नभएसम्म ओली निर्वाचनअघि काठमाडौं फर्किने कार्यक्रम छैन । शनिबार काठमाडौंबाट झापा आएका ओली भक्तपुरमा मतदान गर्न जान्छन् या जाँदैनन् टुंगो लागेको छैन । ओलीको मतदाता नामावली भक्तपुरमा छ ।
‘शनिबार झापा-५ आउनुभएको छ। उहाँ निर्वाचनअगाडि काठमाडौं फर्किने कार्यतालिका छैन । झापा-५ मा उहाँप्रति भ्रम छर्ने काम भएकाले समुदायसँग भेटवार्ता तयारीमा हुनुहुन्छ,’ दाहालले खबरहबलाई भने, ‘उहाँको मतदाता नामावली भक्तपुरमा छ । निर्वाचनमा भोट दिन जाने सम्भावना छ । त्यसअगाडि काठमाडौँ फर्किनुहुन्न होला । स्वास्थ्यका कारण पनि उहाँ देश दौडाहामा निस्किने अवस्था छैन ।’
ओली अन्य जिल्ला जाने कार्यतालिकाबारे दाहाल भन्छन्, ‘अहिलेसम्म कार्यतालिका बनेको छैन । तर परिस्थिति बने कार्यतालिका बनाएर कोशीका अरू जिल्ला निस्कनुहुन्छ होला । तर, स्वास्थ्यअवस्था र अन्य कारणले तत्काल निस्किने तयारी छैन ।’
ओलीको स्वास्थ्यअवस्था कारण भनिए पनि उनी झापा-५ मा आफ्नो पक्षमा माहोल बनाउन बाहिर ननिस्किने तयारीमा रहेको एमालेका अर्का नेता बताउँछन् । एमालेका ती नेताले खबरहबलाई बताएअनुसार एमालेको सर्वेक्षणमा पनि समर्थक र कार्यकर्ता समेत बालेनको पक्षमा देखेपछि ओली विशेष तयारीसहित लागेका हुन् ।
‘तल्लो तहका कार्यकर्ता एमालेको पक्षमा नउभिएपछि उहाँ आत्तिनुभएको छ । ओली यसपटक घरघर पुगेर भोट माग्नुपर्ने अवस्था आएको छ, यस्तो दृश्य अचम्म लाग्दो छ’, ती नेताले भने, ‘हामी पनि यहाँ अन्योलमा छौँ । यो पटक उहाँले चुनौती बुझेरै केन्द्रित हुनुभएको हो ।’ ती नेताका अनुसार अहिले एमालेको पक्षमा माहोल बनेको छ ।
दमकका एकजना कांग्रेस नेता पनि अहिलेको अवस्थामा निर्वाचन हुँदा बालेन बलियो रहेको बताउँछन् । ‘एमालेले धेरै सुधार गरेको छ । तर अहिले ६०/४० को अवस्था छ’, कांग्रेसका ती नेताले भने, ‘आजकै अवस्थामा निर्वाचन हुँदा बालेन्द्र अगाडि देखिन्छन् । तर ओली झापा-५ बसेर हरेक घरमा पुग्ने कार्यक्रम भएकाले झिनो मतान्तरको हारजित हुन सक्छ।’
विगतको निर्वाचनमा मनोनयन दर्ता गरेपछि चुनावी सभालाई सम्बोधन गर्न निस्किने ओली यसपटक सम्पूर्ण शक्ति झापा-५ मा केन्द्रित गराएर अन्य ठाउँ गएका छैनन् छन् । उनी अन्य जिल्ला जाने तालिका नभएकाले उनी झापा-५ मा जित निकाल्नमै लागेका छन् ।

मनोनयनपछि चार पटक झापामा
माघ ५ गतेको मनोनयन दर्तापछि उनी चौथो पटक झापा झरेका छन् । चन्द्रगढी विमानस्थलबाट उनी शनिबार चौथो पटक झापा पुगे । जेन-जी आन्दोलनमा बल प्रयोगको आरोप खेपेका ओली स्थानहद फुकुवा भएर लामो समयपछि झापा ओर्लिएका थिए ।
मनोनयन दर्ता गराउन माघ ५ गते झापा आएका ओली त्यसबेला सरकारले निर्वाचनको माहोल नबनाएको भन्दै सरोस् भन्ने मनस्थितिमा थिए ।
सरकारले निर्वाचनको माहोल नबनाएको भन्दै मनोनयन दर्ता गर्न आउँदा पन्छिन खोजेका ओली माघ ९ गते काठमाडौं फर्किए । त्यसबेला पनि उनले झापा-५ का विभिन्न व्यक्तिहरूसँग बसेर निर्वाचनको माहोल बनाउन निर्देशन दिएका थिए ।
माघ ९ गते काठमाडौं फर्किए पनि उनको मन झापा-५ मै थियो । झापा-५ मा बालेनले उनी पक्षीय नेताहरूसँग धमाधम मत मागिरहेका थिए । त्यसपछि ओली काठमाडौंमा रणनीति बनाएर दोस्रो पटक माघ २३ गते झापा आए । त्यसबेला उनले यहाँका मतदातासँग घरदैलोमै पुगेर मत मागे ।
रामकुमारी झाँक्रीसहित केही नेताहरूलाई तल्लो खटाएका उनले त्यहाँको विश्लेषण सूक्ष्म ढङ्गले लिए । एक सातापछि काठमाडौं फर्केका ओली पुनः फागुन ३ गते झापा आए ।
त्यसबेला यहाँ आएर मतदाता र शुभचिन्तकलाई भेटेर फागुन ६ गते फर्किए । फागुन ३ मा उनी झापा आउँदा ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरियो । प्रतिबद्धता पत्रमा विकास निर्माणका कामलाई निरन्तरता दिने जानकारी गराउँदै एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।
यति मात्रै होइन, अन्य शक्तिले आफूलाई चौतर्फी घेराबन्दी गरेकाले त्यसका पछि नलाग्न मतदातासमक्ष उनले प्रतिबद्धतामै जानकारी गराए । आफूमाथि सत्रु लागेको बताउने ओलीले बालेन लगायतलाई स्टन्टबाज र पपुलिस्ट चरित्रको संज्ञा दिए ।
उनले स्टन्टबाज र पपुलिस्टको कुनै दर्शन, नीति, कार्यक्रम नभहुने, केबल चर्का देखावटी नारा मात्रै हुने र नाराले सर्वसाधारण केहीलाई भ्रम पार्ने काम गरेको दाबी गरेका छन् । यति मात्र होइन, उनले विद्युतीय सञ्चार माध्यमले गलत र तथ्यहीन कुरा प्रसारण गर्दा केही मानिसको दिमागमा भ्रम पर्न सफल भएको बताए । बौद्धिक तथा कृत्रिम बौद्धिकताको नियमन अभाव रहेको पनि उनले बताए ।
पुनः शनिबार झापा आएका उनी निर्वाचनअघि फर्किने कार्यतालिकाबारे आफ्ना चुनावी कमाण्डर दाहाललाई जानकारी गराएका छैनन् । मनोनयन दर्तापछि झापा-५ मा उनले करिब १८ दिनभन्दा बढी बिताएको एमाले नेताहरू बताउँछन् । दमकका स्थानीय मतदाता सुबोध भण्डारीका अनुसार ओली २०४८ सालको निर्वाचनपछि सबैभन्दा धेरै यो पटक दबाबमा छन् ।

आफ्नै चिन्ता
०६४ सालमा साविक झापा-७, अहिलेको ५ बाट ओलीलाई माओवादीका विश्वद्दीप लिङ्देनले पराजित गरेका थिए । त्यो हारबाहेक अहिलेसम्म ओलीले अरू ब्यहोर्नु परेको छैन । त्यो निर्वाचनमा लिङ्देनले १६,९९१ मत ल्याउँदा ओलीले १४,९५१ मत ल्याए । अहिले उनै लिङ्देन कांग्रेसमा छन् ।
मतदाताहरूका अनुसार ०६४ सालमा पनि ओलीले अहिलेको जस्तो दौडिएर मत मागेका थिएनन् । गौरीगञ्जका व्यवसायी निर्मल शर्मा २०४८ सालयता ओलीलाई अहिले नै झापा-५ मा धेरै देख्न पाएको बताउँछन् । ०६४ सालमा माओवादीको लहर चल्दा पनि ओली यति धेरै नखटेको उनको दाबी छ ।
‘माओवादीको दबदबा हुँदा पनि ओलीलाई झापामा यसरी देख्न पाइएको थिएन । गौरीगञ्ज बजारमा हिजोअस्ति कुदिरहेको देखेको थिएँ’, निर्मल भन्छन्, ‘बालेन आएपछि उहाँ दबाबमा हुनुहुन्छ। जितहार कसको हुन्छ, त्यो मतलब भएन, तर यस पटक ओली दबाब यहाँका मतदाताले महसुस गरेका छन् ।’
गौरादहका मतदाता सामरानी राई २०४८ सालदेखि झापा-५ बाट मतदान गर्दै आएकी छन् । ५९ वर्षीय राई २०४८ सालपछि पहिलो पटक ओलीलाई आफ्नो क्षेत्रमा देख्न पाएको बताउँछिन् । निम्नवर्गीय परिवारकी राई ओलीका कारण आफूले विभिन्न अवसर पाए पनि निम्नवर्गीय परिवालाई वास्ता नगरेको गुनासो गर्छिन् ।
‘०४८ सालदेखि भोट दिँदै आएको छु । यस पटक बल्ल ओलीलाई देख्न पाएँ । बालेन कि के भन्ने मान्छे आएपछि उनी हरेकको घरघरमा पुग्न खोजेका रहेछन्’, सामरानी भन्छिन्, ‘हाम्रो मन राख्न यसरी हिँडेको होलान् । यस पटक देख्न पाइयो ।’
सामरानीले भनेजस्तै आठौँ पटक उम्मेदवार भएका ओलीलाई आठ-बह्रले समेत असर पार्ने स्थानीय मतदाता ठट्ट्यौली गर्छन् । ‘८-१२ फाप्दैन भन्छन् । यसपटक आठ लागेर कहिल्यै चुनाव नलड्ने स्थितिमा पुर्याउँछ जस्तो छ । यस पटक हारेपछि फेरि कसरी उठ्नु र ?,’ झापा-५ का एक मतदाताले भने, ‘गणितमा बलियो भए पनि समयले उहाँलाई कमजोर बनाएको छ । जेन-जी आन्दोलनमा दमन नगरेको भए उहाँलाई केही हुने थिएन । उहाँले आन्दोलन हुनेबित्तिकै राजीनामा दिनुपर्ने थियो ।’
आइतबारबाट ओली मतदाताका घरघर पुगेर गुनासो सुनिरहेका छन् । एमाले नेताहरूले सर्वेक्षणबाट ल्याएको तथ्यांक हेर्दै अनिश्चित मतदाता र बालेनको प्रभाव भएको क्षेत्रमा केन्द्रितत भएर डुल्ने जानकारी एमाले नेताले दिएका छन् । ओलीले अहिले पनि शुभचिन्तक र समर्थकलाई तलैसम्म खटाइरहेका छन् ।












प्रतिक्रिया