बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या « Khabarhub

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

'प्रतिरक्षा प्रणालीको गडबडीले एलर्जीदेखि बाथसम्मको जोखिम'


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका छन् ? यी ‘इम्युन’ (प्रतिरक्षा) रोगका संकेत हुन सक्छन्। मानव शरीरलाई ब्याक्टेरिया, भाइरस, फङ्गस तथा अन्य हानिकारक तत्त्वबाट जोगाउने मुख्य सुरक्षा संयन्त्र नै प्रतिरक्षा प्रणाली हो। यो प्रणाली कमजोर हुँदा बारम्बार संक्रमण, एलर्जी, ज्वरो र निमोनियाजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन्।

यस्ता लक्षणलाई सामान्य ठानेर लाक्षणिक उपचार मात्र गर्नुभन्दा प्रतिरक्षा प्रणालीको गहिरो जाँच गर्नु आवश्यक हुन्छ। प्रतिरक्षा प्रणालीले शरीरलाई कसरी रक्षा गर्छ र नेपालमा यसको उपचारको अवस्था कस्तो छ ? यी र यस्तै विषयमा बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रतिरक्षा प्रणाली भनेको के हो ? यसले शरीरलाई कसरी जोगाउँछ ?
प्रतिरक्षा प्रणाली भनेको हाम्रो शरीरलाई बाह्य तथा आन्तरिक विकारबाट बचाउने एउटा विशेष संयन्त्र हो। जसरी देशको सुरक्षाका लागि जल, थल र वायु सेना हुन्छन्, त्यसरी नै हाम्रो शरीरमा पनि कोष, लिम्फ ग्रन्थी र विभिन्न कण हुन्छन्। यिनीहरूले ब्याक्टेरिया, भाइरस, फङ्गस र वातावरणीय एलर्जीसँग लड्न मद्दत गर्छन्।

यसले बाहिरबाट आउने कीटाणुसँग मात्र होइन, शरीरभित्रै उत्पन्न हुने विकार, अस्वाभाविक रूपमा कोष बढेर क्यान्सर हुन सक्ने र मरेका कोषलाई निस्तेज पार्ने काम पनि गर्छ। यसरी शरीरको ‘रक्षक’का रूपमा काम गर्ने प्रणाली नै प्रतिरक्षा प्रणाली हो। यसबारे अध्ययन गर्ने विज्ञानलाई ‘इम्युनोलोजी’ भनिन्छ।

प्रतिरक्षा प्रणालीले शरीरलाई ब्याक्टेरिया, भाइरस र क्यान्सरबाट जोगाउने ‘आर्मी’ जस्तै काम गर्छ।

मुख्य प्रतिरक्षा कोषहरू कुन-कुन हुन् ?
मुख्यतः ‘इम्युनिटी’लाई जन्मजात र अर्जित गरेर दुई भागमा बाँडिन्छ । जन्मजात कुराले शरीरमा हानिकारक जीवाणु छिर्नेबित्तिकै तिनलाई निस्तेज पार्ने प्रयास गर्छ।टी–सेल र नेचुरल किलर सेलले सिधै हानिकारक कोषमा आक्रमण गर्छन्। बी–सेलले एन्टिबडी उत्पादन गर्छ, जसले जीवाणुको प्रोटिनलाई समातेर नष्ट गर्छ। यसबाहेक कलेजो, फियो र लिम्फ ग्रन्थीमा रहने विभिन्न तत्वको समष्टिगत शक्तिले नै शरीरलाई सुरक्षा प्रदान गर्छ।

प्रतिरक्षा प्रणाली कमजोर भएको कसरी थाहा पाउने ?
जब यो प्रणाली कमजोर हुन्छ, शरीरमा बाह्य आक्रमण बढ्छ। ‘ज्याफ्री मोडेल फाउन्डेसन’को मापदण्डअनुसार यदि कुनै व्यक्तिलाई वर्षमा पटक–पटक कान पाक्ने, पिनास हुने, निमोनिया हुने, छालामा पिप जम्ने वा मुखमा घाउ आउने समस्या दुई पटकभन्दा बढी दोहोरिन्छ भने त्यो ‘इम्युन’ कमीको संकेत हुन सक्छ।

लक्षण
रगतमा सेतो कोष वा प्लेटलेटको संख्या घट्नु पनि एक हो ।
गाँठागुँठी आउनु, छाला फुस्रो हुनु वा चक्रिय ज्वरो आउनु।
कलेजो वा फियोको आकार बढ्नु।
साना बच्चामा स्ट्रोक (मस्तिष्कघात) हुनु वा मिर्गौलामा समस्या देखिनु।

प्रतिरक्षा प्रणाली बलियो बनाउन के गर्नुपर्छ ?
प्रतिरक्षा प्रणालीलाई सुचारु राख्न सन्तुलित भोजन, पर्याप्त निद्रा, नियमित व्यायाम र तनावमुक्त अवस्था आवश्यक छ। तर, यी कुराले मात्र जन्मजात रहेको प्रतिरक्षा क्षमता ह्वात्तै बढ्ने भने होइन। यदि कसैमा जन्मजात ‘बी–सेल’ छैन वा एन्टिबडी बनाउन सक्दैन भने उसलाई बाहिरबाट ‘इम्युनोग्लोबुलिन’ जस्ता तत्व दिनुपर्ने हुन्छ। सन्तुलित भोजन (कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज, पानी र फाइबर) ले यो प्रणालीलाई राम्ररी काम गर्न आधार दिन्छ।

प्रतिरक्षा प्रणालीमा देखिने करिब ८० प्रतिशत समस्याहरू जन्मजात वा जिनको ‘डिफेक्ट’ का कारण हुने गर्छन्।

के यो समस्या वंशाणुगत हुन्छ ?
इम्युन कमीका कारण लाग्ने करिब ८० प्रतिशत रोग जीनमा हुने त्रुटिका कारण हुन्छन्। बाँकी २० प्रतिशत चाहिँ कुपोषण, भाइरल संक्रमण वा केही कडा औषधिको प्रयोगले हुन्छ। वंशाणुगत भन्दैमा आमाबुवामै रोग देखिनुपर्छ भन्ने छैन। कहिलेकाहीँ जीनमा नयाँ उत्परिवर्तन हुन सक्छ। कतिपय अवस्थामा आमाबुवा ‘वाहक’ मात्र हुन सक्छन् र बच्चामा २५ प्रतिशतसम्म रोग सर्ने सम्भावना रहन्छ।

बालबालिकामा देखिने मधुमेह वा क्यान्सरको सम्बन्ध योसँग छ ?
पक्कै छ। भर्खरै जन्मेको बच्चामा देखिने मधुमेह धेरैजसो ‘अटो इम्युन’ कारणले हुन्छ। जब आफ्नै प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका अंग (जस्तै: प्यांक्रियाज वा थाइरोइड) विरुद्ध लड्न थाल्छ, तब यस्ता समस्या जन्मिन्छन्। मिर्गौलाको रोग वा बाथ रोग हुनुमा पनि प्रतिरक्षा प्रणालीको गडबडी नै मुख्य कारण मानिन्छ।

नेपालमा यसको उपचार र सचेतनाको अवस्था कस्तो छ ?
पहिलेको तुलनामा सचेतना बढ्दो छ तर पर्याप्त छैन। सरकारी स्तरबाट ठोस काम हुन सकेको छैन। नेपालमा बाथ रोगका लागि केही औषधि उपलब्ध भए पनि कडा इम्युन रोगका लागि आवश्यक ३० प्रतिशतभन्दा बढी औषधि र परीक्षणहरू उपलब्ध छैनन्। धेरैजसो परीक्षणका लागि नमुना भारत पठाउनुपर्ने बाध्यता छ।

मेरो सम्पर्कमा अहिले करिब ६ हजार बाथ रोगी र ६ सय ४० जना ‘इम्युन’ कमी भएका बालबालिका छन्। तिमध्ये ट्रान्सप्लान्टको आवश्यकता भएकाहरुलाई ताइवान युके भारत लगायतका देशमा पठाउने गरिएको छ ।

बारम्बार संक्रमण, निमोनिया, वा ज्वरो आउँदा केवल एन्टिबायोटिक वा औषधीले लक्षण मात्र दबाउनुको सट्टा रोगको गहिराइ पत्ता लगाउनु अनिवार्य हुन्छ।

तपाईंको पिचारमा इम्युन रोग र उपचारबारे सरकारले तत्काल गर्नुपर्ने काम के होला ?
तत्कालै गर्नुपर्ने मैले देख्दा पब्लिक क्षेत्रमा अभिभावकहरुले रोगको लक्षणिक उपचार गर्न छोड्नुपर्छ । जस्तै कुनै अभिभावकले एउटा बच्चालाई हरेक महिना बिरामी भएर भर्ना गर्नुपर्ने, एण्टिबायोटिक दिनुपर्ने बेला बेलामा सिटी स्क्यान, एमआरआई गर्नुपर्ने अवस्था आइरहेको छ । तर त्यो क्यान्सर होइन भने त्यो इम्युन रोग हुन सक्छ ।त्यसैले इम्युनोलोजिस्टकोमा जान अभिभावकलाई सल्लाह दिन्छु ।

कुनै पनि रोग पालेर बस्दा त्यसको गहिराइको कारण पत्ता लगाइएन भने कहिले पनि त्यो सन्चो हुँदैन । त्यस्तै दोस्रो नेसनल एजुकेसन सिस्टममा हाम्रो जो एमडी पढाई हुन्छ, एमबिबिएस पढाई हुन्छ, त्यसमा इम्युन रोगलाई समेट्नुपर्छ । यसको बारेमा मैले मन्त्रालयमा पनि आवाज उठाएको छु ।

सन् २००८ देखिको अहिले सम्मको नोबेल प्राइज हेर्ने हो भने नयाँ औषधी आएको या नयाँ उपचार विधिहरु सबै इमुनोलोजीसँग या जेनेटिक्ससँग रिलेटेड भएकाले यस्तो भर्भराउदो विषयलाई सरकारले बेवास्ता गरेर बस्नु उचित हुदैन।

जसरी हृदय रोगको लागि, क्यान्सरका लागि सरकारले केन्द्र खोलेको छ त्यसैगरी इम्युनोेलोजीका बिमारीहरुको उपचारका लागि पनि केन्द्र खोलिनुपर्छ । खर्चको कुरा गर्दा क्यान्सरको उपचारभन्दा भन्दा बढी खर्चिलो छ । तर इम्युन रोगका बालबालिकाका अभिभावकले सरकारबाट केही पनि सहयोग पाउँदैनन् यो विडम्बनापूर्ण कुरा हो ।

सरकारी स्वास्थ्य स्वास्थ्य संस्थाहरुमा यसको दरबन्दी छ कि छैन ?
अहिलेसम्म छैन । भविष्यमा होला भन्ने आशा गरौँ । तर दरबन्दीको कुरा मुख्य हैन । मुख्य कुरा भनेको भौतिक साधन स्रोत र त्यस्तो सुविधा सम्पन्न केन्द्र हो ।

जस्तो अहिले हाम्रोमा प्रत्यारोपण केन्द्र खुलेको छ । त्यस्तै गरेर हृदय रोग केन्द्र खुलेको छ । त्यस्तै गरी इम्युनोलोजी पनि विशाल विज्ञान हो । यसमा एलर्जी पर्छ, इम्युन डेफिसिन्सी पर्छ, बाथ रोग विशेष गरि जेनेटिक रोगहरु पर्छन् । यी सबै रोगलाई समेट्न सक्नुपर्यो । अहिले दुर्लभ मानिएका विभिन्न रोगहरु छन् । ती वास्तवमा दुर्लभ होइनन् अनुसन्धान नगरिएका वा नसोचिएका हुन् । संसारमा जम्मा ५०–६० जनामा भएको रोग नेपालमा २४ जनामा पत्ता लागेको छ भने तिनीहरु कसरी दुर्लभ हुन सक्छन् ? हामीले त्यसको खोजी नै गरेका छैनौँ । त्यसको लागि सरकारी तवरबाट दरबन्दी मात्र क्रिएट गरेर हुँदैन निदानका विधिहरु हुनुपर्छ । अहिले २१ औँ शताब्दीमा हामीसँग जेनेटिक टेस्ट गर्ने फेसिलिटी छैन । यो भनेको हाम्रो लागि लाजमर्दो कुरा हो ।

यहाँ विशेष गरि बालबालिकासँग सम्बन्धित भएर काम गर्नुहुन्छ । प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिका अभिभावकलाई के सुझाव दिनुहुन्छ ?

अभिभावकलाई म फेरि पनि बच्चाको लाक्षणिक उपचार गरेर नबस्नुस भन्छु । जस्तै कुनै बच्चालाई एक दुई पटक भन्दा बढी एलर्जी आउँछ, चिलाउँछ र मलम दल्दा औषधी खुवाउँदा ठिक भयो । तर मल्हम दल्न छोडेपछि फेरि आउने समस्या भइरहेको छ भने दीर्घकालीन उपचार खोज्न भन्छु ।

प्लेटलेट घटिरहेको छ, डब्लुबीसी या सेतो रक्तकोषको काउन्ट कहिले एकदमै बढी छ कहिले एकदमै कम हुन्छ र बारम्बार ज्वरो आउछ, संक्रमण हुन्छ भने सामान्य जाँच गरेर बस्नु हुँदैन । त्यसको गहिराइको कारण पत्ता लगाएर जरैदेखि उखेल्न सक्छौँ । त्यसकारण कुनै पनि बच्चालाई दुई वा दुई भन्दा बढी अङ्ग या प्रणालीमा समस्या छ तर क्यान्सर होइन भने त्यतिबेला इम्युन कम हुँदा देखिएको रोग मान्न सकिन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : २९ बजे

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

एजेन्सी– मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका

मदिरा घोटाला प्रकरण : सफाइ पाएपछि अदालत परिसरममै रोए अरवीन्द केजरीवाल

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा दिल्ली अदालतले पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल