गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’ « Khabarhub

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’



एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै एकदिन भूलबस उसले पन्ध्र रुपियाँको नोट छापेछ। पर्‍यो फसाद, पन्ध्र रुपियाँको नोट त हुँदैन। उसले सोच्यो- ‘शहरमा त सबै पढेलेखेका बुझेका मानिस हुन्छन्। यहाँ पक्राउ पर्न सकिन्छ। यदि म यही पैसा लिएर गाउँमा गएँ भने त यो पैसा सहजै चलाउन सक्छु।’

उ अनकन्टार गाउँ पुग्यो। त्यहाँ उसको लोहारसँग भेट भयो । नोट साट्ने उपयुक्त पात्र सम्झिएर भन्यो- ‘ए भाइ ! मेरो एउटा नोट छ। यसलाई खुद्रा गरिदिनुपर्‍यो।’

हात पुछपाछ गरेर लोहारले नोटतर्फ हात अघि बढायो । नोट हेरेलगत्तै नोटवालाको अनुहार पढ्यो। लोहारको मसिनो परीक्षण शैलीले नोटवालाको ढुकढुकी अनियन्त्रित गतिमा बढ्दै गयो । नोट नियालिसकेपछि लोहारले विनम्रतापूर्वक सोध्यो- ‘मसँग १५ त हैन, १४ रुपियाँ छ। त्यति दिँदा हुन्छ ?’

नोटवालाले तत्काल स्वीकृतिको मुन्टो हल्लायो। लगत्तै घरभित्र पसेको लोहारले दुईवटा नोट हातमा थमाइदियो। गन्दा त सात सात रुपियाँका दुई नोट रहेछन्। शेर हुन खोजेको नोटवाला गाउँमा सवाशेर मानिस भेट्दा ‘चूँ’ नगरी बेपत्ता भयो।

मतदातालाई उल्लू सम्झिएर आत्मरतिमा उम्लिने उम्मेदवार जनताको चेतनास्तरका अघिल्तिर फिका देखिने गरेका छन्। अल्फा जेन्जीदेखि सामाजिक सुरक्षा भत्तामा जीविका चलाइरहेकासम्मले तेर्स्याउने छुरा प्रश्नले उम्मेदवारको सातो उड्ने गरेको छ।

अल्फा जेन्जीदेखि सामाजिक सुरक्षा भत्तामा जीविका चलाइरहेकासम्मले तेर्स्याउन छुरा प्रश्नले उम्मेदवारको सातो उड्ने गरेको छ।

अरु त अरु आफ्नो बोलीलाई कानुन सम्झिने केपी ओलीसमेत प्रश्नका कठघरामा उभिनु परेको रोचक दृश्य देख्न पाइन्छ। नागरिकका प्रश्न केवल चुनावी रिहर्सल नभएर नेपाली समाजमा देखिएको उच्च राजनीतिक चेतको नमूना हो।

यसले सुदृढ र सुन्दर लोकतन्त्रको हरियो बत्ती संकेत गर्छ। ६७ वर्षअघि २०१५ सालमा भएको पहिलो संसदीय चुनावको पात्रो पल्टाउनुस् त केआई सिंहले गोर्खा परिषद्को पक्षमा भोट माग्दै विपक्षी पार्टी नेपाली कांग्रेसका उम्मेदवार गणेशमानसिंहलाई हाँस्दै भनेका थिए- ‘हेर्नोस् यो मेरो बुढो जुँगाका प्रत्येक रौँ मा १२ वटा बाघका तागत छन्। त्यो कोपारा चोर पार्टीको गणेशमानसिंह भन्ने पिलन्धरेलाई भोट किन दिने ? यो देश बिगार्न।’

त्यो बेला केआईसिंहका बारेमा एउटा आहानै थियो- उनको एउटा हातले कि जुँगामा ताउ लगाउँथ्यो कि बन्दुकको ट्रिगर समाउँथ्यो। तर परिणाम केआई सिंहको उद्घोष विपरित आयो। तिनै ‘पिलन्धरे’ गणेशमान १० हजार ९ सय ८६ भोट ल्याएर विजयी भए। केआईसिंह हरुवामा पनि चौथो स्थानमा खुम्चिए।

त्यसबखत पार्टी नेतृत्वमध्ये बीपीको पुर्पुरोमा मात्र जित लेखियो। राष्ट्रिय पार्टीका सारथीहरु डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य, केशरजंग रायमाझीजस्ता घाघडान नेताहरु सोत्तर भए। भुक्न सक्ने, टोक्न नसक्ने रोगबाट उहिलैदेखि नेताहरु ग्रस्त हुँदै आएका हुन्। छाते च्याउजस्ता स्वघोषित राजनीतिक शक्तिहरु चुनावी वर्षा झेल्न नसकेर छिन्नभिन्न हुने गरेका प्रशस्त दृष्टान्त भेटिन्छ।

कुनैबेला मधेशमा अघोषित गुठी खडा गरेका मधेशी नेताहरु यतिखेर काठमाडौंमा शरणार्थीजस्तै बनेका छन्। कुनै समय थियो- एउटा मधेशी नेता यहाँ गर्जिदा भोलिपल्ट तराईबाट राजधानी भित्रिने कुनै रात्रिबसका सीसा सग्ला हुँदैनथे। उनीहरु मधेशमा आफूले चलाएको त्यो रजगज नमिठो सपना सम्झेर बिर्सन चाहन्छन्।

प्रचण्डलाई आफ्नो पहिलाको ‘क्रेज’सम्झदा आफैंलाई विश्वास लाग्दैन। तिलस्मी पात्र हुँदै राजनीतिमा अवतरण गरेका प्रचण्ड अहिले दाँत फुकालिएको र नङ्ग्रा काटिएको सर्कसको बाघजस्तै भएर राजनीति धानिरहेका छन्। नेतामा देश चलाउने इन्जिनियरिङ नहुँदाको परिणति हो यो।

असल कर्म चुनावी नाराले आविष्कार गर्ने होइन। मानव सभ्यतासँगै शास्त्रले मानवकल्याणका सन्देश दिँदै आएका हुन्। राज्यले सुरक्षाको ग्यारेन्टी गरेपछि पुरुष धनुकाँड छोड्न, महिला नङ काट्न मन्जुर भएका हुन्। कथामै सही रावणले स्वर्ग-मत्र्य सुनको सिंढीले जोड्ने, समुद्रको पानी गुलियो बनाउने, सुनमा सुगन्ध हाल्ने योजना तय गरेका थिए।

धर्म, नीति, इतिहास, विज्ञान, राजनीति, अर्थशास्त्र, साहित्य दर्शनका विषय राजनीतिज्ञबाट अपेक्षा गरिने विषय होइन। उनीहरु निःसर्त देशका रानोमौरी हुन्। यिनीहरुबाट राज्यप्रणालीमा कमभन्दा कम गुनासोको अपेक्षा गरिन्छ।

अहिले त गुगल, एआईलाई आदेश दिनासाथ प्रज्ञा र चैतन्यका हरेक सामग्री हाजिर भइहाल्छ। धर्मगुरुले सत्कर्मको दीक्षा पुस्तौंदेखि दिएकै छन्। मन्दिर, मस्जिद, गुम्बा र चर्चमा मानवधर्मका प्रवचन चलिरहेकै छ।

राष्ट्रसंघको झण्डा बोकेका शान्तिसेना विश्वभर फैलिएर युद्धविरुद्ध शंखघोष गरिरहेका छन्। विश्व खाद्य संगठनले सर्वत्र पिठो बाँडेको छ। तर विडम्बना अशान्ति बढ्दो छ, सारंगी पेट र कुपोषण लागेका घटेका छैनन्। त्यसैले ढुक्क भए हुन्छ- चुनावले दिने आशा हो, विश्वास होइन।

२०१५ सालमा दुई तिहाई जनमतप्राप्त बीपी कोइराला नेतृत्वको सरकार इतिहासमै सर्वाधिक शक्तिशाली सरकार थियो। ‘नौलो शासन व्यवस्था’को नारासहित ल्याइएको घोषणापत्रमा किसान, वन, उद्योग, मजदुर, शिक्षा, धर्म, शिक्षा, वैदेशिक नीति लगायत विषयमा कांग्रेसले प्रगतिशील योजना सामेल गरेको थियो।

‘भूमिबाट सामन्ती शोषण समाप्त गरी किसान र खेतालाको अधिकार सुरक्षित’ राख्ने विषयलाई प्राथमिकता दिइएको थियो। विर्ताको राष्ट्रियकरण, रजौटा प्रथा, जमिनदारी प्रथा समाप्ति, जमिनको सीमा निर्धारण र हदबन्दीमाथिको जमिन पुनर्वितरणलाई कार्यक्रमका रूपमा घोषणा गरेको थियो।

जिल्ला-जिल्लामा कृषि बैंक, अन्न कोष, गाउँका ‘बेकार’ जनतालाई भूमि सेनामा संगठित गर्ने, घरबारबिहीन किसानलाई बसोबासको व्यवस्था, द्रूत औद्योगिकरण, व्यक्तिगत पूँजीको जिम्मेवारी सरकारले लिने, उद्योगधन्दाको विकासको लागि विदेशी पूँजी भित्र्याउने नीति कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको थियो। अहिलेको घोषणा पनि त्यही सेरोफेरोमा घुमेको छ।

२००७ सालको क्रान्तिपछिका पटके सरकार प्रयोग, प्रयोग र प्रयोगमै सीमित भए। त्यो प्रयोगले अहिले जस्तै अनपेक्षित पात्र राजनीतिमा भित्रिए। लुगा फेरेजस्तै सरकार फेरिए। प्रधानमन्त्री बन्न राजा त्रिभुवन र जवाहरलाल नेहरुको पालैपालो फेरो लाउने बढे। सत्ताका खातिर सहोदर दाजुभाइ मातृका- बीपीको रेस्लिङ हेर्न तमाम जनता बाध्य भए।

राजनीति नीतिको बाटोमा नहिँड्दा राणाले छोडेर गएको ७ करोडको दरिलो राज्यकोष जनताको हितमा उपयोग भएन। सत्ताको परागमा आकर्षित हुने तर प्रणालीको गाँठो फुकाउनेतर्फ चासो नदिने राजनीतिक मनोविज्ञानले जनताको ध्यान तान्न सकेन।

राजनीति नीतिको बाटोमा नहिँड्दा राणाले छोडेर गएको ७ करोडको दरिलो राज्यकोष जनताको हितमा उपयोग भएन। सत्ताको परागमा आकर्षित हुने तर प्रणालीको गाँठो फुकाउनेतर्फ चासो नदिने राजनीतिक मनोविज्ञानले जनताको ध्यान तान्न सकेन।

सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ०७ सालको क्रान्तिपछि बनेको शक्तिशाली सरकारका अर्थमन्त्री सुवर्णशमशेर राणाले सरकारी संयन्त्रभित्रको भुत्तेपन यसरी उजागर गरेका थिए- ‘अर्थ मन्त्रालयबाट बराबर ताकिता गर्दा पनि यर्ता बाँकी रकमको राम्रो विवरण पाउन सकिएन। यसको अर्थ नतिजा मन्त्रालय र विभिन्न विभागका तालुकवालाले मन्त्रिमण्डल अथवा अर्थ मन्त्रालयको स्वीकृति विना खर्च गर्न पाएन। ती अधिकारबाट उनीहरूले पाएका र खर्चभएका सबै रुपैयाँको हिसाब नआएकोले अर्थ मन्त्रालयले यो वर्षमा आजसम्म भएको खर्चको निश्चय गर्नसकेको छैन। ’ विडम्बना ७५ वर्षपछि सुशीला कार्की नेतृत्वको सरकार पनि त्यही घनचक्कर काटिरहेको छ।

उनी भन्छन्- ‘हामीसँग विभिन्न कामका निमित्त चाहिने उच्च कोटिका विशेषज्ञ र व्यवसायिक निपूर्णता प्राप्त मानिस पनि चाहिए जति छैनन्। यसकारण हामीले भारत तथा अन्य देशमा तालिम पाएका मानिसहरू पुर्याउने प्रयत्न गरेका छौँ। हाम्रो मुलुकमा सबै किसिमका खनिज र तिनबाट ठूलो लाभ उठाउन सकिने प्रशस्त गुन्जायस छ। मैले आम्दानी बढाउने विभिन्न उपायहरूको सुझाव राखेको छु र जनता राष्ट्रिय सञ्चय योजनालाई उदारतासित अपनाउने छ भन्ने आशा गर्दछु। ’

राजनीतिमा सच्चाई के हो, विषयविज्ञ जानून। तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ। देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन।

राज्यले जन्मिएका मात्र होइन, दशकौं पछि जन्मिनेको पनि भविष्य सुरक्षित गरिदिनुपर्छ। धुलिमाटीबाट क, ख सिकेकादेखि आइफोन संस्कृतिमा हुर्किएकासम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनु पर्छ। निष्ठा र इमान्दारीको राजनीति गर्नेहरु देउता समान हुन्छन् भन्ने नेल्शन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकालाई खोई कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन्।

कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नो कैदमा लिन सकेनन् भने हाम्रा नेताहरुले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपना शिवाय केही होइन।

कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नो कैदमा लिन सकेनन् भने हाम्रा नेताहरुले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपना शिवाय केही होइन। मानिस भनेको प्रकृतिको निरन्तरता मात्र हो। सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको बिगार्ने अधिकार उसलाई छैन।

नेताले समाजमा असरल्ल देखिएका सानाभन्दा साना समस्या हेरे पुग्छ। सबैथोक भएर पनि मानिस खुसी छैन। समाजलाई आफ्नै आँखीझ्यालबाट हेर्नुस् त- ठूलो बंगला छ असल परिवार छैन , ज्ञान छ सीप छैन, पढाई छ शिष्टता छैन, औषधि छ स्वास्थ्य छैन , आम्दानी छ, आत्मशान्ति छैन, भीड छ आफ्नो कोही छैन। बोल्ने धेरै भए सुन्ने कोही छैन। समय छ फुर्सद छैन। सम्बन्ध छ, भरोसा छैन। सपना ठूला छन, दिशा छैन। दौड धेरै छ, गन्तव्य छैन। प्रश्न धेरै छ, उत्तर कमामा गएर टुंगिन्छ। मान्छे मै हुँ भन्छ तर संसारमा रहेका मानिसको भन्दा कमिलाको तौल बढी छ।

समाज दूध बेचेर बियर, छुर्पी बेचेर गुटखा, काठ बेचेर आल्मुनियम, मह बेचेर जाम, फलफूल बेचेर क्यान, मार्सी बेचेर लनग्रेन, अर्गानिक सिमी बेचेर सोयाबिन किन्न रमाइरहेको छ। नेताहरुले यसको ओखती खोज्नु पर्दैन ?

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १० : १४ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका