काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि नेपाली राजनीतिको मूल प्रवाहमा पकड जमाउँदै आएका ठूला भनिएका राजनीतिक दलको सर्मनाक हार भएको छ । विगतको तुलनामा पार्टीको विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व र आंशिक नीति बदलेको कांग्रेस पनि दुई गुणा खुम्चिएको छ ।
पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा आएको ह्वीमबाहेक अन्तर्घात पनि हारको महत्वपूर्ण कारण रहेको भन्दै कांग्रेसमा बहस हुन लागेको छ । साथै, चुनावी परिणामले कांग्रेसको विशेष महाधिवेशनको औचित्यमाथि पनि प्रश्न उठाएको भन्दै एउटा पक्षले अहिले तर्क गर्न लागेका छन् ।
निर्वाचनको नतिजा, कारण र कांग्रेसभित्र उठेका केही विषयसँग सम्बन्धित रहेर नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सभापति अमरसिंह पुनसँग खबरहबका लागि नारायण अर्यालले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त संवादको सम्पादित अंश-
चुनावमा पार्टीसँगै तपाईं पनि हार्नुभयो, चुनावी समीक्षा गर्नुभयो कि बाँकी नै छ ?
हाम्रो समीक्षा गरेका छौँ ।
तपाईं चाहिँ कसरी हार्नुभयो ? तपाईं हार्नुमा अन्तरघात वा अन्तरविरोधको भूमिका छ कि छैन ?
मेरो निर्वाचन क्षेत्र कांग्रेसको पकड भएको निर्वाचन क्षेत्र होइन, धेरै वर्षदेखि जित्न नसकेकोमा गठबन्धनकै कारणले ०७९ मा जितेको हो । तर, अहिले कसको मत कहाँ छ भन्ने थाहा नभएको, अहिले मतदाताको मन र परिस्थिति कसैले बुझ्न सकेन ।
सबैले जित्छौँ-जित्छौँ भन्ने, कार्यक्रममा सबै सहभागी हुने, सबै हिँड्ने गर्दा पनि थाहा नभएको हो । अर्को, अन्तरघात त सधैँ हुने हो । तर, अहिले मैले भनेको जस्तो ठूलो किसिमले मत एकातिर डाइभर्ट भएको, मत आकर्षण पनि कम देखिएको र पार्टीकै कार्यकर्ताको निष्क्रियताको कारणले पनि यो चुनाव हार्नु परेको हो ।
कांग्रेस लगायतका अन्य पुराना दलको पनि सर्मनाक हार भयो नि !
एउटा, भित्र पार्टी नमिलेको अवस्था हो । संगठनमा जो पायो त्यसले अर्कोलाई तह लगायो, पार्टीभित्रको संगठनले पनि काम गरेन । मतदातामा पनि यी पुराना पार्टी सबै खराब हुन् भन्ने भयो । तरपनि हामीले पार्टीमै पनि र पार्टीबाहिर मतदातालाई पार्टीभित्र सबै खराब हुँदैनन्, पार्टीभित्र पनि राम्रा मान्छे हुन्छन् भनेर बुझाउने स्थिति बनेन । जता ह्वीम भयो, त्यो ह्वीमको पछाडि लाग्ने स्थितिले पनि यो हार भएको हो ।
कांग्रेसको विशेष महाधिवेशन र गगन सरकार भन्ने नारा त जनताले अस्वीकार गरिदिए नि ? तपाईंले यसलाई कसरी लिनुभएको छ ?
विशेष महाधिवेशनलाई जनताले अस्वीकार गरेको भन्न मिल्दैन । किनभने, जुन परिस्थिति कांग्रेसमा आएको थियो, विशेष महाधिवेशन समयमै गरेको भयो त्यो परिस्थिति नै आउँदैनथ्यो । अहिले जुन भोट कांग्रेसको लागि आएको छ, कतिपय प्रचारमा नै सहभागी भएकोले भोट हालेन होला तर, विशेष महाधिवेशनको कारणले नै कांग्रेसको पक्षमा यत्तिको माहोल भएको हो ।
तर, आम नागरिक र मतदातालाई राम्रोसँग बुझाउनसक्नेगरी अलिकति हामीसँग समय भएन । सबै तयारी गरेर सबै ठाउँमा पुगेर विभिन्न कार्यक्रम गर्दै आफ्ना कुरा भन्ने पनि समय भएन ।
विशेष महाधिवेशन सम्पन्न हुने बित्तिकै कसले आधिकारिकता पाउने भन्ने कुरामा लाग्यौँ, पाउनासाथ टिकट वितरण गर्नपर्यो, त्यसमा पनि अध्ययन अनुसन्धान गरेर कसले के गर्दा हुन्छ भन्ने पनि भएन । त्यसमा पनि जे थियो त्यसलाई व्यवस्थापन गरेर टिकट वितरण गर्यौँ । समय छोटो भएको कारणले नै हामीले क्षति व्यहोरेका हौँ ।
शेरबहादुर देउवाको श्रीमान्-श्रीमती, रमेश लेखक, प्रकाशमानलाई टिकट नदिने बाहेक टिकट वितरणमा नदिनुपर्ने अरु कुनै मान्छेलाई नदिएको देख्नुभयो र ? जो मान्छेहरू विवादास्पद थिए ? सो कारणले पनि मतदाताले कांग्रेस बदलिएको देखेन कि ?
त्यस्तो कुरा पनि हुनसक्छ । हामीले बदल्यौँ भन्दैगर्दा एकैपटक सबै बदल्न त सक्दैनौँ नि । मैले अघि भनेजस्तै हामीलाई दुई दिन पनि समय थिएन । हामीले आधिकारिकता पाएपछि टिकट वितरण गर्नपर्यो, जे सिफारिस आएको थियो, हामीले त्यसैभित्र त गर्ने हो नि, त्यो बाहिर जान त सक्दैनथ्यौँ ।
त्यहाँ भएको मध्ये उपयुक्त पात्र यो होला भनेर गरेको हो, त्यसैले भएकै मध्येबाट थोरै नै बदलिएको हो । तर, अहिले जे भएको छ, त्यो पनि विशेष महाधिवेशनको कारणले भएको हो, नत्र यति पनि हुँदैनथ्यो ।
विशेष महाधिवेशनको औचित्य सकिएको र नयाँ ढंगले जानुपर्ने भनेर कांग्रेसभित्रै अर्को पक्षले दह्रोसँग भन्न लागेको छ नि ?
यो उहाँहरूले उठाएको कुरा गलत छ । नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन भएको हो ।निर्वाचन आयोगले त्यसैलाई आधिकारिकता भनिसकेको छ र सो विषय अदालतमा पनि विचाराधीन रहेकोले विशेष महाधिवेशनलाई औचित्यहीन भन्ने अधिकार कसैलाई छैन ।
नेपाली कांग्रसको विधानअनुसार नै सो विशेष महाधिवेशन भएको हो । अब केही दिनपछि हामीले नियमित महाधिवेशन पनि गर्छौँ ।
विगतमा पार्टी देखि संसदसम्म अरुलाई निकै नैतिकताको प्रश्न उठाउने सभापति थापा त निर्वाचनमा सर्मनाक हारसँगै बोल्न पनि छाड्नुभयो किन होला ? उहाँले देखाउनुपर्ने नैतिकता कति हो ?
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्छ, नेतृत्वले जिम्मेवारी लिन्छ । सभापतिले जिम्मेवारी लिनुभएको छ, लिनुहुन्छ, त्यसमा दुईमत छैन । समय परिस्थितिलाई पनि ख्याल गरेर हामीले के गर्ने भन्ने कुरा पनि बुझ्न पर्यो ।
पार्टीभित्र अन्तरघात गर्दाखेरि पहिले लुकेर गरिन्थ्यो, अहिले खुलेआम भयो । फलानो ठाउँमा मत नहाल्नू, त्यहाँ जित्नुहुँदैन भनेर भनेको कुरा उहाँहरूले पनि सुन्नुभएको होला । ठाउँ–ठाउँमा साधनस्रोत सबै चिज परिचालन भएको देखिएका छन् ।
हामी समीक्षा गर्छौँ । अहिलेसम्म निर्वाचनको प्रक्रिया पनि सकिएको छैन । समानुपातिकतर्फको नतिजाको पत्र आउला, त्यसपछि निर्वाचनको प्रक्रिया सकिएपछि कहाँ के कमजोरी भएको भन्ने कुराको समीक्षा होला र सभापतिले भन्नुहोला नि त्यसपछि ।
झण्डै एउटै अर्थराजनीतिक विचारधारा बोकेर रास्वपा आउँदा कांग्रेसको अस्तित्वमाथि चुनौती त भयो नि ?
कांग्रेसको अस्तित्वमाथि चुनौती होइन, मलाई लाग्छ अरु पार्टी विलय हुँदै जाने कांग्रेस सहित यी दुई वटा पार्टी मात्रै शक्तिशाली देखिने परिस्थिति हुनसक्छ ।
भारतमा बीजेपीले कांग्रेसलाई दशकौँ टाउको उठाउन नदिएजस्तै अवस्था त आउँदैन ?
समयले बताउला । कस्तो स्थिति आउँछ भन्ने कुरा त्यहाँ भित्रका पात्र र नेतृत्वले पनि देखाउँछ । त्यसो हुँदा अरुको विषयमा अहिले धेरै कुरा गर्नेभन्दा पनि हाम्रो पार्टी त्यस्तो हुन दिँदैनौ, त्यो खालको व्यवस्थापन गर्छौँ । हामीले गर्ने कुरामा हामी योजनाका साथ अघि बढ्छौँ । त्यसैले भारतको कांग्रेस आई जस्तो नेपालमा कांग्रेसको स्थिति आउँदैन ।
केहीले बोलेको सुनिएको छ, हिजो माओवादी बिग्रँदा हामी फेरि उठेर आयौँ, यो रास्वपा पनि बिग्रन्छ फेरि हामी उठेर आउँछौँ । के कांग्रेस एमालेको सम्भावना भनेको अरुको स्थिति बिग्रँदा मात्रै हो ?
त्यस्तो होइन, कोही बिग्रेर हामी बन्ने होइन, बरु हामी राम्रो भएर अरुको साइज घटाउने हो । त्यस कारण कोही बिग्रियोस भन्ने हाम्रो कामना चाहिँ छैन । अहिले आम मानिसको सोचअनुसार नीति र नेतृत्व बदलिएर जानपर्छ भन्ने हाम्रो सोच हो । अरु पार्टी बिग्रिएर हाम्रो पार्टी बन्छ भन्ने गलत कुरा हो । हामी आफैँ सच्चिने हो र अरुलाई सच्याउन कोसिस गर्ने हो । मतदाताको मन नै परिवर्तन गर्नेगरी हिजोको शैलीभन्दा परिवर्तन गरेर काम गर्ने हो ।
विशेष महाधिवेशनपछि बैशाखमा नियमित महाधिवेशन गर्ने भन्ने आएको थियो, अब त्यसलाई ठोस गरेर जानुपर्छ कि पर्दैन ?
बैशाखमा नियमित अधिवेशन गर्ने भन्ने कुरा तत्कालीन संस्थापनले लिएको कार्यतालिका हो । तर, विशेष महाधिवेशनपछि बैशाखमा नै नियमित महाधिवेशन गर्छौँ भनेर त हामीले भनेका छैनौँ । अधिवेशन गर्नुपर्छ तर, सबै कुरा मिलाएर मिलाएर गर्नुपर्छ ।
अहिले सबै संगठन खल्बलिएको छ, निर्वाचनमा घात अन्तरघात भएका छन् । त्यसलाई कारबाहीदेखि सबै कुरा मिलाउनुछ । अब बैशाखमा कसरी नियमित महाधिवेशन सम्भव होला र ? तर, छिटोभन्दा छिटो नियमित महाधिवेशन गर्छौँ ।













प्रतिक्रिया