के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ? « Khabarhub

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र बुधबार आयोजना गरेको दुई दिने अभिभुखिकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ उपस्थित भएनन् । मंगलबारबाट सुरू भएको दुई दिने कार्यक्रमको समापनमा पनि उनी गएनन् ।

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डैदुई तिहाइ मत प्राप्त गरेको रास्वपाका लागि यो निकै महत्वपूर्ण कार्यक्रम हो ।

प्रत्यक्ष र समानुपातिकतर्फका १८२ जना सांसदको जमघट, परिचयात्मक र सामूहिक अभ्यासको पहिलो चरण पनि हो । तर, रास्वपाबाटै भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका बालेनले यस कार्यक्रमलाई कुनै महत्व दिएनन् ।

उनीसँगै सर्लाही ४ बाट जितेका डा. अमरेश सिंह पनि अभिमुखीकरणमा देखिएनन्। अर्थात्, ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा १८० जना रास्वपा सांसद सहभागी भए ।

किन सहभागी भएनन् बालेन ?

मंगलबार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह अस्वस्थ र व्यस्त भएकाले अभिमुखीकरणको पहिलो दिन उपस्थिति हुन नसकेको जवाफ दिए । तर उनले बुधबार समापानमा सकेसम्म दुवैजनालाई सहभागी गराउने बचन उनले दिए ।

तर डीपीले भनेजस्तो भएन, बुधबारको समापन कार्यक्रममा पार्टीका सभापति लामिछाने मात्रै सहभागी भए । उनले करिब ३४ मिनेट लामो भाषण दिँदा सन्तुलित र संम्यमित सुनिए ।

उता अघिल्लो दिन उपसभापति अर्यालले भनेजस्तो रवि पनि अस्वस्थ भएजस्तो देखिएनन् । कार्यक्रममा उनले फुर्तिलो शैलीमा लामो भाषण दिए । आगामी दिनमा अघि बढ्ने योजनाबारे लामो र प्रभावशाली विचार रविले राखे ।

तर रविले समापान भाषण दिँदा पनि तिनै सांसदले दलको नेता चुन्नुपर्ने बालेन्द्र होटल रोयल टुलिपको हलमा देखिएनन् । स्रोतका अनुसार सम्भवत: नगरकोटमा बसेर आफ्ना सहयोगीसहित आगामी सरकारको रुपरेखा कोरिरहेका छन् ।

पार्टीका प्रवक्ता मनिष झाले वरिष्ठ नेता बालेन्द्र आगामी सरकारको गृहकार्यको लागि शारीरिक र मानसिक रूपमा खट्नुपर्ने भएकाले अभिमुखीकरणमा सहभागी हुन नसकेको जवाफ दिए । जुन कुरा अघिल्लो दिनमा पार्टीका उपसभापति अर्यालले कार्यक्रममा औपचारिक रूपमै भनेको कुरासँग मिल्दैन ।

उता शाह अहिलेसम्म बिमारी भएर कुनै अस्पताल भर्ना भएको कुरा पनि औपचारिक रूपमा बाहिरिएको छैन । शाहले आफ्नो इच्छा र चहानाविपरीत सञ्चार सम्पर्क पनि नगर्ने हुँदा उनको वास्तविक अवस्थाबारे जानकारी लिन सोझै भेट्न सकिने अवस्था पनि छैन । अहिले उनको सचिवालयका सदस्यहरू पनि करिब भूमिगत जस्तै छन् । अर्थात्, कसैले पनि फोनसमेत उठाउँदैनन् ।

नेता शाहका नजिकका व्यक्तिहरू कुमार बेन र भुपदेव शाहले पनि सीमित सञ्चारकर्मीलाई भन्दा अरूलाई पहुँच नदिने अवस्था छ । त्यसैले पार्टीका प्रवक्ता झाको औपचारिक भनाइकै आधारमा नेता शाह अस्वस्थ भन्दा आगामी सरकारको तयारीमा व्यस्त छन् ।

 बालेनमाथि लोकतान्त्रिक प्रश्न 

  • अहिलेसम्म रास्वपा सदस्यका रुपमा शपथ ग्रहण गरेका छैनन् ।
  • पार्टी सचिवालय बैठक पटक पटक बसे पनि अनुपस्थित छन् ।
  • समानुपातिक सांसद छान्ने सचिवालय बैठकमा सहभागी भएनन् ।
  • अहिलेसम्म पार्टी कार्यालय एक पटक पुगेका छन् । वरिष्ठ नेताको पदभार ग्रहण गरेयता फर्किएर गएका छैनन् ।
  • सबै सांसदहरूलाई पहिलो पटक भेला गरेर आयोजित अभिमुखीकरणमै सहभागी भएनन्।
  • अभिमुखीकरण लिएनन्, आफ्नो भिजन र नीतिबारे आफूलाई दलको नेता बनाउने सांसदहरूसामु कुरा राखेनन्।

भनिन्छ, लोकतान्त्रिक राजनीतिक नेतृत्व सम्बन्धित पार्टीको संगठनात्मक संरचना र जनताको आधारमा निर्माण भएको हुन्छ । तर, निर्वाचनको केही समयअघि मात्रै अर्थात् गत पुस १३ गते सात बुँदे सहमतिमा हस्ताक्षर गरेर प्रधानमन्त्री बन्ने सर्तमा रास्वपा प्रवेश गरेका नेता शाहमा लोकतान्त्रिक संस्कारमै समस्या देखिएको त होइन भन्ने आशंका पैदा भएको छ ।

किनकी नेता शाह यो पटक मात्रै नभएर पार्टीका अन्य धेरै महत्वपूर्ण कार्यक्रममा सहभागी छैनन् । रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहले गत पुस १३ गते ७ बुँदे सम्झौता गरेका थिए । उक्त सम्झौताबाट रास्वपा वरिष्ठ नेताको जिम्मेवारी प्राप्त गरेका उनले अहिलेसम्म पार्टी सदस्यले लिनुपर्ने सपथ पनि लिएका छैनन् ।

चुनावी अभियान अघि एकपटक मात्रै रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित भएका नेता शाह त्यसयता कुनै अवसरमा पुगेका छैनन् । उनी निर्वाचनपछि प्रतिनिधिसभा सदस्यको समानुपातिक सूची छनौट गर्न बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकमा पनि सहभागी भएनन् ।

फेरि पार्टीकै सांसदहरूको अभिमुखीकरणमा समेत सहभागी नभएका शाह तिनै सांसदहरूको तर्फबाट संसदीय दलको नेता छानिएर प्रधानमन्त्री बन्ने हुन् । तर, उनले तिनै सांसदहरूसँग औपचारिक कार्यक्रममा आफूलाई सामूहिकीकरण गर्न चाहेनन् । 

अनि यहीँनेर प्रश्न उब्जिन्छ, तिनै सांसदबाट बालेनको कार्यशैलीमाथि प्रश्न उठ्यो भने बालेन कसरी संसदीय दलको नेता बन्छन् ? जबरजस्ती नेता बनाउँदा हिजो महानगरमा आमजनता, कर्मचारी र जनप्रतिनिधिलाई समेत आफूसँग पहुँच नदिएका बालेनले संसद्लाई पनि पहुँच दिएनन् भने रास्वपामा कस्तो स्थिति पैदा होला ? यसले गम्भीर प्रश्न उठाउने अवस्था आएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ३६ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार