सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि… « Khabarhub

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…



काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले यातना दिएपछि धनुषामा एक २५ वर्षीया युवतीले आफ्नै ज्यान लिएकी छिन् । चैत ३ गते मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का स्थायी मुकेश धनखोटी यादवकी श्रीमती हुन् ।

श्रीमान् मुकेश धनखोटी निजी स्कुलमा पढाउँछन् । मुकेश र विभाले ६ वर्षअघि भागी विवाह गरेका थिए । विवाहअघि प्रेम सम्बन्धमा रहेपनि सन्तान दिन नसकेको भन्दै विभामाथि घरेलु हिंसा हुँदै आइरहेको माइतीपक्षको आरोप छ । चरम यातना सहन नसकेको भन्दै माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ ।

मृतकका दाजु मनिष कुमारले खबरहबसँग कुरा गर्दै भने, ‘विवाह भएको लामो समय हुँदापनि सन्तान नभएको भन्दै बहिनीमाथि शारीरिक र मानसिक यातना हुँदै आएको थियो । शिक्षक भएपनि ज्वाईँले बहिनीमाथि यातना दिँदै आएका थिए । शिक्षकले आफ्नै श्रीमतीमाथि चरम यातना दिएको सुन्दा जोकोहीलाई पत्यार लाग्दैन ।’

‘तर, सत्य के हो भने आफैँ बिहे गरेर आएकाले बहिनीले माइतीलाई नभनी चुपचाप सहेर बसेकी थिइन् । घरबार बिग्रन्छ भन्ने डरले उसले सबै यातना सहेर बसेकी थिइन्, मनिष थप्छन्, ‘मेरो बहिनीले आफैँ पासो लगाएको होला । तर, उसलाई बाँच्नै नसक्ने स्थितिसम्म पुर्‍याउने अपराधी उसकै परिवार हो । उसकै श्रीमान् हो । उसलाई दुरुत्साहनमा कडा भन्दा कडा कारवाही हुनुपर्छ ।’

विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ । दाजु मनिषले मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीसमक्ष जाहेरी दिएका छन् । जाहेरीका आधारमा प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

घटना के भएको थियो ?

घटना हुनुभन्दा अगाडि राति २ बजे मनिषको फोनमा ज्वाईँले कल गरेका रहेछन् । तर मनिषले थाहा पाएनन् । तर, भोलिपल्ट नयाँ नम्बरबाट फेरि फोन आयो । चैत ३ गते नयाँ नम्बरबाट फेरि मनिषलाई फोन आउँछ । फोन गर्ने मान्छेले परिचय दिँदै भन्छन्, ‘म तिम्रो ज्वाईँको नाता पर्ने दाई हो । तिम्रो बहिनी र ज्वाईँबीच धेरै झगडा भइरहेको छ । बहिनीलाई सम्झाउ । नत्र पछि ठीक हुँदैन ।’ यस्तो धम्कीपूर्ण शैलीमा कुरा गरेर उक्त व्यक्तिले फोन राख्छ ।

त्यसपछि उनै व्यक्तिले मनिषलाई फेरि फोन गर्छन् । त्यस व्यक्तिले भोलि साढे ८ बजे ढल्केबरमा भेटेर कुरा गर्ने बताउँछन् । भोलिपल्टको भेटमा त्यस व्यक्तिले बहिनीलाई सम्झाउन भन्दै फेरि उस्तै धम्की दिन्छन् । यसपटक पनि उनले ‘तिम्रो बहिनीलाई जे पनि हुन सक्छ’ भन्छन् ।

मनिषलाई ती व्यक्तिले फेरि धम्की दिँदै ‘तपाईँको बहिनीको कारणले यदि मेरो भाइलाई केही भए तिमीहरुको पूरै परिवारलाई स्वाहा गर्दिन्छु भन्छ ।’ बहिनीका बारेमा बारम्बार यस्तो धम्की आएपछि विभाको माइतीपक्ष स्थानीय र आफन्तकहाँ सहयोग माग्न पुग्छन् । सबैको सल्लाहपछि माइति विभाको घर जाने निर्णयमा पुग्छन् । परिवारसँग झगडा गरेको रहेछ भने सम्झाइबुझाइ गर्ने सोचले माइती पक्ष विभाको घर पुगेको थियो । ‘ठूलै झगडा भएको रहेछ भने केही दिन माइती ल्याएर सम्झाउनुपर्ला भन्ने सोच थियो ।’ मनिषले भने ।

‘विभाको घर जाँदै गर्दा वीरेन्द्रबजार चोकमै ज्वाईँसँग भेट भयो ।’ मनिषले भने, ‘ज्वाईँसँगै एक जना अर्का साथी पनि थिए । बाटोमै भेट भएपछि सँगै घर जाने कुरा भयो ।’

भेट भएपछि ज्वाईँले भने, ‘बहिनीले केही पनि खाएको छैन ।’ त्यसपछि बहिनीलाई लगिदिने भनेर मनिषले मःमः प्याक गर्न लगाए ।

‘ज्वाईँले हामीलाई तपाईँहरु घर जानू हामी माथि गोठमा जान्छौँ भने । घरअगाडि गेटमा बाइकमा हामी रोकियौँ । ज्वाईँ र साथी अगाडि गोठतिर लागे ।’ मनिषले घटना सविस्तार सुनाए ।

‘हामी दिउँसो साढे ३ बजेको समयमा बहिनीको घर पुगेका थियौँ । घरमा बहिनीको जेठान, जेठानी, सासुहरु सबै हुनुहुन्थ्यो ।’

त्यसपछि मनिष आफ्नी बहिनीलाई नाम लिएरै चार पाँच पटक बोलाउँछन् । तर उताबाट जवाफ आउँदैन । विभा कतै भेटिन्नन् । उनको जेठाजुलाई सोधपुछ गर्दा उनले विभा माथि कोठामा रहेको जवाफ दिन्छन् । माथि गएर झ्यालबाट हेर्दा सुत्ने कोठाको सिलिङमा सलले घाँटीमा पासो लगाएको अवस्थामा मनिष आफ्नी बहिनीलाई भेट्छन् ।

‘हामीले झुन्डिएको अवस्थामा भेट्यौँ । त्यसपछि मेरो दिमागले काम गरेन । तुरुन्तै ज्वाईँलाई फोन गरेँ । उनी पनि हतारहतार आइपुगे । हामीले प्रहरीलाई पनि फोन गरेका थियौँ । तर ज्वाई र उसको परिवारले हतारमा ढोका खोलेर प्रहरीको अनुपस्थितमै पासो काटे । बहिनीको शरीर पूरै पहेंलो भइसकेको थियो । उसको शरीर फुलेको थियो ।’ मनिषले सुनाए ।

विभाको शरीरको विभिन्न अङ्गमा नीलडाम समेत देखिएको छ । त्यस कारण यो आत्महत्या नभएर हत्या हो भन्ने माइती पक्षको आरोप छ । विभाको घर पक्षले प्रहरी नै नआइ मोटरसाइकलमा राखेर विभालाई जनकपुरस्थित रामजानकी अस्पताल पुर्‍याउँछन् । अस्पतालमा चिकित्सकले मृत घोषणा गर्छ ।

भागेर बिहे गरेपनि छोरी एकपटक गइसकेपछि फिर्ता ल्याउने चलन नहुने भन्दै माइती पक्षले कुनै हस्तक्षेप गरिएको थिएन ।

‘बिहे गरेर गएको केही समय सम्म बहिनी र ज्वाईँबीच राम्रै सम्बन्ध थियो । पछि विस्तारै खटपट हुँदै गएको थियो । तर, बहिनीले घरमा भएको यातनाको बारेमा कहिले पनि भनिनन् ।’ मनिषले भने ।

विभा चार सन्तानमध्ये कान्छी छोरी हुन् । उनले स्नातक तहसम्म पढेकी थिइन् । ज्वाईँ मिर्चैयास्थित सप्तऋषि निजी स्कुलमा पढाउँछन् ।

सन्तान नभएकै कारणले श्रीमान् र घरपरिवारले कुट्ने गरेको र चरम घरेलु हिंसाबाट गुज्रिनु परेको माइतीको आरोप छ । विभाको जायजन्म नहुँदा उनलाई शारीरिक र मानसिक यातना दिइन्थ्यो । ‘सम्झाइबुझाइ गर्दै आएका थियौँ । तर, यातना सहन नसकी आत्महत्या गर्न बाध्य बनाइएकाले अपराधीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ । मनिषले भने । उनको शव यतिबेला प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले आत्महत्या दुरुत्साहनमा जाहेरीका आधारमा पति मुकेश धनखोटी यादवलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनले भने, ‘पीडित माइतीपक्षले आत्महत्या दुरुत्साहनको जाहेरी दिएको छ । हामी अनुसन्धानकै क्रममा छौँ ।’

कानूनी प्रावधान

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–१२ धारा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसूरको बारेमा स्पष्ट पारिएको छ । जहाँ भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ७ : ०९ बजे

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका