भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत « Khabarhub

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

यसअघि सन् २०११ मा गरिएको जनगणनाले भारतको जनसङ्ख्या एक अर्ब २१ करोड रहेको देखाएको थियो । अहिले भने यो सङ्ख्या एक अर्ब ४० करोड नाघिसकेको अनुमान गरिएको छ, जसले भारतलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित गरेको छ ।

सन् २०२१ मै सुरु गर्ने योजना भए पनि कोभिड–१९ महामारी र व्यवस्थापकीय चुनौतीका कारण जनगणना स्थगित हुँदै आएको थियो ।

नयाँ जनगणनाको पहिलो चरण बुधबारदेखि सुरु भई सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । यस अवधिमा खटाइएका कर्मचारीहरूले घरपरिवारको अवस्था, उपलब्ध सुविधा तथा आवाससम्बन्धी विवरण सङ्कलन गर्नेछन् ।

यसपटक परम्परागत घरदैलो सर्वेक्षणसँगै डिजिटल प्रविधिको प्रयोगलाई पनि जोड दिइएको छ । बहुभाषी स्मार्टफोन एपमार्फत नागरिकहरूले स्वयं पनि आफ्नो विवरण पेश गर्न सक्नेछन्, जसमा उपग्रह–आधारित म्यापिङ प्रणालीसमेत समावेश गरिएको छ ।

दोस्रो चरण सेप्टेम्बरदेखि आगामी अप्रिल १ सम्म सञ्चालन हुनेछ, जसमा व्यक्तिको सामाजिक र आर्थिक अवस्थासहित धर्म र जातिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ । यस अभियानमा करिब ३० लाख सरकारी कर्मचारी परिचालन हुने अनुमान गरिएको छ । तुलना गर्दा, सन् २०११ मा करिब २७ लाख गणनाकर्ताले २४ करोडभन्दा बढी घरपरिवारको सर्वेक्षण गरेका थिए ।

यसपटकको जनगणनाको सबैभन्दा संवेदनशील पक्ष भनेको जातिगत विवरणको व्यापक सङ्कलन हो । भारतमा जाति प्रणाली ऐतिहासिक रूपमा गहिरो सामाजिक संरचनासँग जोडिएको छ, जसले शिक्षा, रोजगारी र आर्थिक अवसरमा पहुँच निर्धारण गर्ने गरेको छ ।

यद्यपि देशमा विभिन्न जाति समूहहरूको यथार्थ जनसङ्ख्या कति छ भन्ने विषयमा अद्यावधिक तथ्याङ्क अभाव छ । अन्तिम पटक सन् १९३१ मा, औपनिवेशिक शासनकालमा, विस्तृत जातिगत गणना गरिएको थियो ।

स्वतन्त्रतापछि सन् १९५१ देखि भारतले केवल अनुसूचित जाति र जनजाति — अर्थात् दलित र आदिवासी समुदाय — को मात्र गणना गर्दै आएको थियो ।

पूर्ण जातिगत गणनाले सामाजिक तनाव बढाउन सक्ने आशङ्का व्यक्त गर्दै अघिल्ला सरकारहरूले यसलाई टार्दै आएका थिए । तर अहिलेको प्रयासले नीति निर्माणका लागि आवश्यक यथार्थपरक तथ्याङ्क उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

जनगणनाबाट प्राप्त तथ्याङ्कले भारतको राजनीतिक संरचनामा पनि प्रत्यक्ष असर पार्न सक्छ । जनसङ्ख्या वृद्धिलाई आधार बनाएर संसद्को तल्लो सदन र राज्य विधान सभाहरूमा सिट सङ्ख्या पुनः निर्धारण गरिन सक्छ । 

सन् २०२३ मा पारित कानूनअनुसार महिलाका लागि एक तिहाइ सिट आरक्षित गरिएको छ, त्यसैले सिट विस्तार भएमा महिला प्रतिनिधित्व पनि स्वतः बढ्नेछ । रासस

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : १० बजे

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी