सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग « Khabarhub

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग



काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै आधा जलेको अवस्थामा युवतीको शरीर भेटियो । स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएपनि उनको जीवन बच्न सकेन । उनी थिइन्– सिर्जना बुढामगर ।

सोही दिन दिउँसो प्रेमी मोहम्मद आरिफ ढपालीसँग झगडा परेपछि उनी प्रहरीसमक्ष पुगेकी थिइन् । प्रेमीले पहिलेदेखि नै उनलाई कुटपिट गर्दै आएका रहेछन् । त्यसैदिन प्रहरीले आरिफलाई पक्राउ गर्‍यो । उनी दिनभरी हिरासतमा बसे । बेलुकासम्म आइन्दा झगडा नगर्ने सर्तमा दुवै जनाबीच मिलापत्र भयो । दुवै जना सँगै प्रहरी कार्यालयबाट निस्किए ।

सिर्जना र आरिफ दुई वर्षदेखि ‘लिभिङ टुगेदरमा’ बस्दै आएका थिए । आरिफ बाराको कल्याणपुरका हुन् । उनीहरु नेपालगञ्ज–८ रानि तलाउमा डेरामा बस्दै आएका थिए । २२ वर्षीया सिर्जना र २४ वर्षका आरिफबीच प्रेम भएपछि पछि बिहे गर्ने भनेर सँगै बस्दै आएका थिए ।

सिर्जनाको पहिलेको श्रीमानबाट एक चार वर्षकी छोरी छिन् । केटाकेटी उमेरमा प्रेम विवाह गरेकी उनले छोरी जन्मापछि श्रीमान् सम्पर्कविहिन भए । घरमा पनि सबैले हेला गर्न थालेपछि उनी बजारमा डेरा गरेर बस्न थालिन् ।

माइतमा पनि आमा नभएकी उनी बुवाकै भरमा घर फेर्केर जाने अवस्था थिएन । त्यसैले उनी भाडामा बस्दै आएकी थिइन् । आफैँ कलिलो उमेरकी सिर्जनालाई छोरीको जिम्मेवारी पनि थियो । एक्लै संघर्ष गरिरहेकी सिर्जनाको लागि आरिफ एक विश्वासिलो सारथी बनेर आएका थिए ।

तर पछिल्लो समय उनीहरूबीच सम्बन्धमा खटपट बढ्दै गएको थियो । सिर्जनाले प्रहरी कार्यालयमा आफूहरुबीच बारम्बार विवाद हुने गरेको बताएकी थिइन् ।

तर, आरिफ हिरासतबाट छुटेकै रात शङ्कास्पद अवस्थामा आगोले जलेको अवस्थामा सिर्जनाको शरीर फेला परेपछि प्रहरीको पहिलो शंका आरिफतिरै सोझिएको छ । घटनामा संलग्न रहेको आशंकामा आरिफसहित उसको आमा र बहिनी गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटना सार्वजनिक भएपछि मृतकका परिवार, आफन्त, अभियानकर्मीले प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । आरिफको घरलाई लक्षित गरी पनि ढुङ्गामुढा गरिएको छ । तर पनि प्रहरीले घटनामा विश्वासिलो सुराग भेट्टाउन सकेको छैन ।

मृतक सिर्जना पहिले पनि विभिन्न मुद्दामा प्रहरी हिरासतमा बसेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरिक्षक अङ्गुर जिसीले जानकारी दिए । यद्यपि पहिले सिर्जना हिरासत बस्दा परिवार वा आफन्त कोही पनि मेरो मान्छे हो भनेर जिम्मेवारी लिन नआएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘गैरकानूनी काम गरेको आधारमा उनलाई प्रहरीले पहिले पक्राउ गरेको थियो । तर उनलाई छुटाउन कहिले पनि कोही आएन । उनी सधैँजसो एक्लै थिइन् ।’

‘परिवारको साथ नपाएको महिला प्रायः अपराधीको सिकार बन्छन् । तर, कुनै शक्तिले पनि अपराधीले उन्मुक्ति पाउने छैन । मृतकलाई जिउँदो बनाउन सक्दिनँ तर उनको न्यायको लागि नेपाल प्रहरीले गर्न सक्ने सबै काम गर्छ, उनी थप भन्छन्, ‘सिर्जनालाई न्याय दिन नसके बर्दीको फुली निकालेर फालिदिन्छु ।’

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता दिपक पातलीका अनुसार आगो आफैँले लगाएको हो वा अरुले लगाएको हो भन्नेबारे अनुसन्धान जारी छ । खबरहबलाई पातलीले भने, ‘जलेको अवस्थामा भेटेपछि स्थानीयले खबर गरे । त्यतिबेला पहिचान खुलिसकेको थिएन । तर, स्थानीयको सहयोगमा अस्पताल पुर्‍याइयो । आइतबार बिहानको १ः२० मा अस्पतालले मृत घोषणा गर्‍यो ।’

‘अघिल्लो दिन नै प्रहरी हिरासतबाट निस्किएका प्रेमी आरिफसहित उनको परिवारलाई प्रहरीले पक्राउ गरेको छ । आरिफको परिवारले बच्चासहितको केटीलाई मन पराइरहेका थिएनन् भन्ने सुन्नमा आएपछि आमा र उसको बहिनीलाई पनि पक्राउ गरेर थप अनुसन्धान गरिएको छ’, थप पातली भन्छन्, ‘तर उनीहरुले नै अपराध गरेका हुन् भन्ने आधार अहिलेसम्म फेला परेको छैन ।’

केही मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले मृतक पहिलो श्रीमान् छोडेर लिभिङमा बस्दै आएकी थिइन् भने भ्रमपूर्ण समाचार सम्प्रेषण गरिरहेका छन् । तर प्रहरीका अनुसार उनी आफैँले श्रीमान् छोडेको नभइ, श्रीमान् सम्पर्कविहिन भएपछि घरबार छोडेकी थिइन् ।

प्रहरी प्रवक्ताका अनुसार सिर्जना फूपुको संरक्षकमा नै आरिफसँग सम्बन्धमा थिइन् । ‘आमा नभएकी उनको अभिभावकत्व फूपुले गर्दै आएकी थिइन् । लोग्ने बेखबर भएपछि उनी फूपुकै सहारामा बसेकी थिइन् । सानै उमेरमा प्रेम विवाह गरेकी भदैनी र नातिनी उनकै संरक्षणमा रहेको देखिन्छ । सामाजिक सञ्जालमा आएको जस्तो अफिसियल सम्बन्धविच्छेद भएको देखिँदैन । तर, पहिलेको घरपट्टिका कोही पनि जाहेरी दिन आएका छैनन् अथवा भनौँ उनीहरु सम्पर्कमा छैनन् ।’

सिर्जनाका फूपु र फुपाजुको तर्फबाट जाहेरी परेको प्रवक्ता पातलीले जानकारी दिए । ‘ज्यानसम्बन्धी कसूरमा जाहेरी आएको छ । पोस्टमार्टम भइसकेको छ । तर उनीहरुले शव बुझ्न मानिरहेका छैनन् ।’ उनले भने, ‘आरिफका परिवारलाई प्रारम्भिक सोधपुछ गरिएको छ । घटना ढपाली परिवारबाटै भएको हो भन्ने समाचारमा आएजस्तो छैन । अनुसन्धान पूरा नहुञ्जेल प्रेमीलाई अपराधी करार गर्नतिर नलागौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ७ : ५३ बजे

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य