मध्यपूर्वमा युद्धको दायरा विस्तार « Khabarhub

मध्यपूर्वमा युद्धको दायरा विस्तार


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पेरिस– मध्यपूर्वमा युद्धको तीव्रता थप बढ्दै जाँदा विभिन्न देशमा आक्रमण, प्रतिआक्रमण र कूटनीतिक टकराव एकैसाथ चर्किएका छन् । पछिल्ला घटनाक्रमहरूले क्षेत्रीय स्थिरता थप जटिल बन्दै गएको सङ्केत गरेका छन्, जहाँ सैन्य कारबाहीसँगै राजनीतिक चेतावनी र आरोप–प्रत्यारोप पनि तीव्र बनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको जानकारी दिएका छन् । उनका अनुसार उक्त एयरम्यान अहिले सुरक्षित अवस्थामा छन्, यद्यपि उनी घाइते भएको बताइएको छ । 

उद्धारका लागि अमेरिकी सेनाले उच्च क्षमताका दर्जनौँ विमान परिचालन गरेको उल्लेख गरिएको छ । यसैबीच, इरानी सञ्चारमाध्यमहरूले अमेरिकी खोजी अभियानमा संलग्न एक विमान इरानले नष्ट गरेको दाबी गरेका छन् ।

क्षेत्रीय प्रभाव विस्तार हुँदै जाँदा बहराइनमा इरानी आक्रमणपछि एक संरचनामा आगलागी भएको र नागरिक सुरक्षा टोलीले त्यसलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ । 

उक्त घटनामा मानवीय क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन । त्यस्तै, संयुक्त अरब इमिरेट्सले आफ्नो एल्युमिनियम उद्योगलाई लक्षित गर्दै इरानले मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ, जसको प्रतिकारस्वरूप हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको छ ।

कुवेतमा पनि इरानी ड्रोन आक्रमणले ऊर्जा पूर्वाधारमा असर पारेको छ । दुई पावर र पानी प्रशोधन केन्द्रमा क्षति पुगेको र दुई विद्युत् उत्पादन एकाइ बन्द गर्नुपरेको अधिकारीहरूले जानकारी दिए । 

कुवेत सहरको सरकारी भवनमा पनि आक्रमण हुँदा ‘महत्त्वपूर्ण’ क्षति पुगेको जनाइएको छ, तर कुनै मानवीय क्षति भने रिपोर्ट भएको छैन । कुवेती सेनाले मिसाइल र ड्रोन अवरोध गर्न निरन्तर प्रयास भइरहेको जनाएको छ ।

इजरायलतर्फ लक्षित गर्दै इरानबाट क्षेप्यास्त्र प्रहार गरिएको इजरायली सेनाले पुष्टि गरेको छ । जेरुसेलममा तीव्र विस्फोटका आवाजहरू सुनिएको र कम्तीमा छ वटा विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताए ।

अघिल्लो दिन तेल अभिव र मध्य इजरायलमा भएका आक्रमणमा पाँच जना घाइते भएको जानकारी दिइएको छ । साथै, यमनबाट इजरायलतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्र पनि पत्ता लागेको र त्यसलाई रोक्न हवाई सुरक्षा प्रणाली परिचालन गरिएको छ ।

इरानको उत्तरपश्चिमी अर्दबिल प्रान्तमा अमेरिका–इजरायलद्वारा गरिएको आक्रमणमा तीन जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

त्यस्तै, अन्य आक्रमणहरूमा आणविक संयन्त्र, औद्योगिक क्षेत्र र पेट्रोकेमिकल केन्द्रहरू लक्षित भएको बताइएको छ, जसमा पाँच जनाको मृत्यु भएको दाबी गरिएको छ । 

बुशहर आणविक केन्द्र नजिकै भएको आक्रमणमा एक सुरक्षाकर्मीको मृत्यु भए पनि विकिरण स्तरमा वृद्धि नदेखिएको अन्तर्राष्ट्रिय निगरानी निकायले जनाएको छ ।

राजनीतिक मोर्चामा तनाव थप बढेको छ । इरानले ४८ घण्टाभित्र शान्ति सम्झौता नगरे कडा कारबाही गर्ने ट्रम्पको चेतावनी अस्वीकार गरेको छ । इरानी सैन्य नेतृत्वले उक्त चेतावनीलाई असन्तुलित र अविवेकी कदमको संज्ञा दिएको छ । ट्रम्पले भने तेहरानमा भएको आक्रमणमा इरानका धेरै सैन्य नेताहरू मारिएको दाबी गरे ।

यसैबीच, खाडी क्षेत्रमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा आंशिक प्रतिबन्ध कायम राख्दै इरानले इराकी जहाजहरूलाई भने आवतजावतको अनुमति दिएको जनाएको छ । 

उता, अमेरिकी प्रशासनले इरानी जनरल कासिम सुलेमानीका परिवारका दुई सदस्यलाई आवास अनुमति रद्द गरेपछि पक्राउ गरेको जानकारी दिएको छ, यद्यपि इरानी स्रोतहरूले ती व्यक्तिहरू सम्बन्धित नभएको दाबी गरेका छन् ।

लेबनानको दक्षिणी सहर टायरमा इजरायलले पुनः आक्रमण गरेको छ, जसले अस्पतालसहितका संरचनामा क्षति पुर्‍याएको जनाइएको छ । यसैबीच, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले युद्धले भू–रणनीतिक गतिरोध निम्त्याएको उल्लेख गर्दै द्वन्द्व अन्त्यका लागि नयाँ कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । रासस
 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : ४९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु