शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु « Khabarhub

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोटहरू नियालिरहेका छन् । कहिले बिरुवाहरूको सूक्ष्म निरीक्षण गरिरहेका छन् भने कहिले सहयोगी कामदारहरूलाई केही निर्देशन दिइरहेका छन् । 

उनको यो चालमा एउटा दृढ आत्मविश्वास देखिन्छ- अनुभवले मात्र होइन, आफ्नै सङ्कल्पले सँगालिएको आत्मविश्वास । केही वर्षअघि उनी कक्षाकोठामा विद्यार्थीहरू सँग रमाइरहेका थिए । 

आज भने उनी खेतमा आफ्नो अनुभव बटुलिरहेका छन् । ‘सात वर्ष भयो,’ लामा भन्छन्, ‘यसअघि म सर्भिस सेक्टरमा थिएँ, एक गणित शिक्षकको रुपमा । अहिले म किसान हुँ।’

उनको शिक्षकबाट कृषि उद्यमी बन्ने यात्रा अचानक भएको भने होइन। यो अनुभव र अवलोकनबाट आएको हो । त्यसको केन्द्रमा थियो पदमपोखरी चोकमा रहेको उनका बुवाको एग्रो- भेट पसल, जहाँ किसानहरू सधैँ समस्या र समाधान खोज्दै आउने गर्थे ।

‘म त्यहाँ बस्दा किसानका कुरा सुन्थेँ’,उनी सम्झिन्छन्, ‘त्यसपछि लाग्न थाल्यो, हामीले उत्पादनतर्फ जानुपर्छ । नेपाल आयातमा निर्भर छ । आयातित बस्तुहरुको मात्रै उपभोग गरेर, उत्पादनमा नलाग्ने हो भने कसरी परिवर्तन आउँछ ?’

त्यो प्रश्नले उनलाई छोडेन । लामो समय सेवा क्षेत्रमा बिताएपछि उनलाई उत्पादनमा केही गर्ने चाहना बढ्दै गयो । उनी सिर्जनाका अवसरहरू खोजिरहेका थिए । त्यही समयमा उनले कृषि क्षेत्रमा नयाँ अवसरहरू पनि देखे, ड्रागन फ्रुटको उच्च मूल्य, बोयर बाख्राको उन्नत जात, र सयपत्री फूलको बढ्दो माग । ‘माग छ भने किन नगर्ने?’ उनी भन्छन् ।

त्यही सोचले ‘एम. एन. एस एग्रो प्रा.लि’ को जन्म भयो । करिब डेढ बिगाहा जमिनमा फैलिएको यस फार्ममा अहिले ड्रागन फ्रुट, मेवा, खरबुजा, सयपत्री फूलको उत्पादन गरिन्छ भने बाख्रा पालन पनि गरिन्छ । एउटा सानो प्रयासबाट सुरु भएको काम अहिले व्यवस्थित कृषि उद्यम बनेको छ । करिब ४ करोडको लगानीमा रहेको यस फार्मको मुख्य आम्दानीको स्रोत भने ड्र्यागन फ्रुट रहेको छ ।

तर लामाको खेती केवल बाली उत्पादनमा मात्रै सीमित छैन, यो प्रयोग र प्रणाली निर्माणको प्रयास पनि हो ।

ड्रागन फ्रुट खेतीमा उनले नवीन तरिका अपनाएका छन् । अफ- सिजनमा पनि उत्पादन बढाउन कृत्रिम बत्ती प्रयोग गरिएको छ। बत्ती सेन्सर मार्फत आफैँ बल्ने- निभ्ने व्यवस्था गरिएको छ ।

साथै, उनले परम्परागत पोल प्रणालीबाट ट्रेलिस प्रणालीतर्फ बिस्तारै ड्रागन फ्रुट खेतीलाई रूपान्तरण गरिरहेका छन्, जसले उत्पादन र व्यवस्थापन दुबैमा सुधार ल्याउँछ ।

‘सानो परिवर्तनले पनि ठूलो फरक पार्छ,’ उनी भन्छन् । यद्यपि, यो यात्रा सहज भने थिएन । ड्रागन फ्रुटजस्तो बालीमा व्यावसायिक उत्पादन आउन समय लाग्छ, कम्तीमा पाँच वर्ष । प्राकृतिक जोखिम पनि छन् । फल पाक्ने बेला चराले करिब १० प्रतिशतसम्म क्षति पुर्‍याउँछ । केही गम्भीर ढुसीजन्य रोग पनि लाग्ने गर्छ । बिरुवा पहेँलो देखिने र यसले बोटको वृद्धि रोकेर फलको उत्पादनमा ह्रास आउने गर्दछ ।

‘हामी व्यवस्थापन गर्दैछौं, बर्ड नेट र ब्यागिङको इन्स्टलेसनको काम हुँदैछ,’उनी भन्छन् । यो फार्म परिवारमै आधारित छ । उनका बुबा प्राविधिक अनुभवसहित संलग्न छन्, उनकी श्रीमतीले कृषि विषय पढेकी छन्, र लामा आफैँले पनि स्नातकोत्तर पछि जेटिए पढेर कृषि तालिम समेत लिएका छन् । यसबाहेक चार जना स्थायी कामदारहरू छन्, र सिजनमा थप कामदार पनि राखिन्छ ।

‘यो मेरो एक्लैको प्रयास भने होइन,’ उनी भन्छन्, ‘अरूलाई पनि सिकाएर काम गर्न सक्ने बनाएका छौँ ।’ उनको कामले पहिचान पनि पाएको छ, स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्मका सम्मानहरू प्राप्त गर्न सफल भएका छन् । हरेक प्रोत्साहन उनका लागि नयाँ सुरुवातको खुड्किलो बनेको छ ।

आगामी दिनमा उनी उत्पादनभन्दा अघि बढेर प्रशोधनतर्फ जान चाहन्छन् । ‘ड्रागन फ्रुटबाट जुस, क्यान्डी, वाइन बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘केही पनि खेर जानु हुँदैन ।’

तर उनी प्रणालीगत समस्याहरू पनि स्पष्ट देख्छन् । मल, गुणस्तरीय बीउ, बीमा, र स्थिर बजार अझै चुनौतीका रूपमा छन् । किसानलाई सहयोग गर्ने नीति, न्यूनतम समर्थन मूल्य, र डिजिटल बजार आवश्यक रहेको उनी बताउँछन् ।

लामा केवल व्यक्तिगत परिवर्तनको उदाहरण मात्र बन्न चाहँदैनन् । उनी नेपाली माटोले बकेको कृषिप्रधान मुलुकको अर्थ सबै युवाहरुले प्रत्याभूत गर्नुपर्नेमा जोड दिन्छन् । ‘राज्यले यसमा विशेष जोड दिनुपर्छ ।’ उनी स्पष्ट छन् ।  ‘धेरै वर्ष सेवा गरेँ, अब कृषि कर्ममा आफ्नो ऊर्जाशील समय बिताउन चाहन्छु ।’ गौतम सेन्ट जेभियर्स कलेज, माइतीघरमा स्नातक तहमा अध्ययनरत छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : ३६ बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना