काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा चार प्रमुख संकल्प सार्वजनिक गरेका छन् । देशको बदलिँदो राजनीतिक तथा आर्थिक परिस्थितिलाई ध्यानमा राख्दै उनले आफ्नो जीवन नै राष्ट्र र पार्टी सुधारका मुद्दामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पौडेलले पार्टीभित्र देखिएका मतभेदलाई संवादमार्फत समाधान गर्दै काङ्ग्रेसलाई विधि र पद्धतिमा चल्ने, एकताबद्ध तथा प्रविधिमैत्री आधुनिक पार्टी बनाउने लक्ष्य राखेको बताएका छन् । साथै, नयाँ पुस्ताका विचार र सपनालाई पार्टीको मूल प्रवाहमा जोड्नेमा आफू निरन्तर सक्रिय रहने उनले उल्लेख गरेका छन्।
उनले ज्ञानमा आधारित अर्थतन्त्रको विकास र युवा उद्यमशीलतालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने योजना अघि सारेका छन् । स्वदेशमै युवालाई सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्न ठोस नीतिगत पहल र कार्यान्वयनमा जोड दिने उनको भनाइ छ ।
त्यस्तै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा उतार्ने, महँगी नियन्त्रण, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा संरचनात्मक सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन कायम राख्दै देशको दीर्घकालीन हित, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सबै दलबीच न्यूनतम साझा सहमति निर्माणमा आफूले समन्वयकारी भूमिका खेल्ने उनले बताएका छन् ।
सन्देशको अन्त्यमा पौडेलले नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीमा राष्ट्र निर्माणका लागि नयाँ ऊर्जा, सहमति र सहकार्यको भावना जागृत गराओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।













प्रतिक्रिया