सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल « Khabarhub

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गरेका छन् ।

छलफलका क्रममा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना समस्या राख्नुभएको थियो । प्रधानमन्त्री शाहले कुनै पनि विषयमा मुख्यमन्त्रीको जिज्ञासा सुन्ने बित्तिकै थप स्पष्ट पार्न र समाधानका विकल्पबारे अन्तरक्रियात्मक शैलीमा छलफल गरे ।

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्याबारे कतिपय प्राविधिक र व्यावहारिक समस्यालाई तत्काल समाधान गर्ने उपायसमेत सुझाए । नीतिगत जटिलताहरु फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘सङ्घ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ । त्यसैले तपार्इँहरुलाई छलफलका लागि मैले राजधानी बोलाएको हुँ ।’

साथै, प्रधानमन्त्री शाहले प्रदेश सरकार आफैँले तत्काल गर्नसक्ने सुधारहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गरे ।

मुख्यमन्त्रीहरु उत्साहित

प्रधानमन्त्रीसँगको अन्तरक्रियात्मक र सौहार्द व्यवहारसहित भएको छलफलबाट मुख्यमन्त्रीहरु उत्साहित देखिएका छन् । सोचेभन्दा बिल्कुलै फरक र सकारात्मक छलफल भएको छलफलपश्चात उनीहरुले प्रतिक्रिया दिए ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भन्नुभयो, “प्रधानमन्त्री शाहसँगको पहिलो भेट नै धेरै पुराना साथीहरूबीचको संवाद जस्तै सौहार्द र मित्रतापूर्ण रह्यो । उहाँले हाम्रा कुरा गम्भीरतापूर्वक सुन्नुभयो र बीचबीचमा जिज्ञासा राखेर विषयलाई अझ प्रष्ट पारे ।

पाण्डेले प्रधानमन्त्रीसँग स्थानीय तहको नेतृत्व गरिसकेको अनुभवले गर्दा प्रदेशका समस्या बुझ्न सजिलो भएको देखिएकाले आगामी दिनमा सङ्घीयता कार्यान्वयनले सहजता प्राप्त गर्नेमा आशावादी रहेको उल्लेख गरे ।

वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले पनि प्रधानमन्त्रीको व्यक्तित्वले छलफललाई सहज बनाएको टिप्पणी गरे । मैले उहाँकाबारेमा जे सुनेको थिएँ, त्यो होइन रहेछ । प्रधानमन्त्री कम बोल्नुहुन्छ, अरुको कुरा पनि सुन्नुहुन्न भन्ने सुनिन्थ्यो, तर उहाँले त पर्याप्त समय दिएर हाम्रा कुरा सुन्नुभयो, र आफ्नो कुरा राख्नुभयो’, उनले भने, ‘उहाँले आवश्यक सहजीकरणका लागि आजै आफ्नो कार्यालयमार्फत निर्देशन समेत दिनुभएकोमा खुसी लागेको छ ।’

त्यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीले संविधानको मर्मअनुसार तीन तहका सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई गहिरोसँग आत्मसात् गरेको महसुस गरेको प्रतिक्रिया दिए । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र कर्णालीका यामलाल कँडेलले अन्य मुख्यमन्त्रीहरुको प्रतिक्रियामा सहमति जनाए ।

छलफलमा मुख्यमन्त्रीहरु वाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्रराज पाण्डे, कर्णालीका यामलाल कँडेल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थिति थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने पारिवारिक कारण र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने स्वास्थ्य समस्याका कारण सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ८ : ३१ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा