संसद्‍मा रास्वपाले मिलाएको शक्ति सन्तुलन « Khabarhub

संसद्‍मा रास्वपाले मिलाएको शक्ति सन्तुलन

नेता भन्छन् : समितिका सभापतिबारे प्रश्न उठाउने ठाउँ छैन



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात् १८२ सिट ल्याए पनि प्रतिपक्षीलाई दिनुपर्ने अधिकार दिएको छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख प्रतिपक्षी दल श्रम संस्कृति पार्टीलाई दिइसकेको छ । यस्तै लेखा समितिको सभापति पनि प्रमुख प्रतिपक्षी दल दिएर शक्ति सन्तुलन गरेको देखिन्छ ।

पार्टीले शक्ति सन्तुलन गर्दै विपक्षीसँग सहकार्य अगाडि बढाउँदा नागरिकमा आशा जगाउन सफल भएको र पारदर्शी राजनीतिलाई प्राथमिकता दिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले नै सबै काम गर्यो भनेर विश्लेषण गर्नु हतारो हुन्छ । तर अहिलेसम्मको अभ्यासले पार्टीले शक्ति सन्तुलन गरेको उनी बताउँछन् ।

श्रेष्ठ नयाँ राजनीतिक दलले राजनीतिक संस्कार देखाएको र लोकतान्त्रिक सन्तुलनलाई प्राथमिकता दिएको दाबी गर्छन् । ‘प्रतिपक्षी र प्रमुख प्रतिपक्षीले पाउनुपर्ने अवसर र राजनीतिक पारदर्शिता नयाँ दलले देखाएको देखिन्छ,’ उनी भन्छन्, ‘जुन पार्टीले सुशासन, पारदर्शिता र प्रतिबद्धता गरेको थियो त्यो देखाउन खोजेको देखिन्छ । यद्यपि अरु कुराको विश्लेषण गर्नु हतारो हुन्छ ।’

उनी गृहमन्त्री लगायत अरुको कार्यशैलीमाथि केही प्रश्न गर्ने ठाउँ भए पनि सरकारको समग्र काम कारबाही ठिकै भएको जिकिर गर्छन् ।

लेखा समिति प्रमुख प्रतिपक्षीलाई दिनुपर्नेमा कांग्रेस एमाले सरकार हुँदा खबरदारी

२०८१ साल असार १७ गते मध्यरातमा ७ बुँदे सहमति भएर नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेको थियो । दुई पार्टीसहित साना दलहरू मिलेर बनेको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । प्रतिपक्षी दलको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस एमाले सरकार बनेपछि लेखा समितिको सभापति बनेका ऋषिकेश पोखरेलले राजीनामा दिनुपर्ने माग राख्यो । नेपालको राजनीतिक अभ्यास र संसदीय अभ्यास हेर्दा लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिइने गरिएको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, तत्कालीन नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने माग राख्दा पनि कांग्रेस एमालेको सरकार टसमस भएको थिएन । बरु एमाले अध्यक्ष ओलीले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई चोख्याउने काम गरेर थप सशक्त बनाएका थिए । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समितिको सभापति दिनुपर्ने नत्र बैठकै नबस्ने भन्दै निरन्तर खबरदारी गर्यो तर एमाले र कांग्रेसले समिति सभापति पोखरेललाई हटाउन चाहेन । समिति सभापति सहकारी ठगी प्रकरणमा मुछिँदा समेत पदबाट राजीनामा नदिएपछि लेखा समितिले गरेका हरेक निर्णयहरू स्वार्थ बाझिने भएको भन्दै प्रतिपक्षले निरन्तर खबरदारी गर्न छोडेका थिएनन् ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्दा सो पार्टीले कुनै दबाब बिना नै समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट समितिको सभापतिमा भरत खड्का निर्वाचित भइसकेका छन् । लेखा समिति संसदको सबैभन्दा शक्तिशाली र बलियो समिति भएकाले पार्टीले राजनीतिक पारदर्शिता र सन्तुलनको संकेत दिएको विश्लेषकहरूको दाबी छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी पनि लोकतान्त्रिक अभ्यासलाई पारदर्शी र सन्तुलित बनाउन रास्वपाले नियमभन्दा बाहिर गएर काम नगर्ने बताउँछन् ।

लेखा समिति सरकारी खर्च अनियमितता र भ्रष्टाचारको जाँच गर्ने गर्छ । प्रमुख प्रतिपक्षी अथवा प्रतिपक्षी दललाई यो समितिको सभापति बनाउँदा सरकार आफैंमा कडा निगरानी हुने र पारदर्शी रूपमा राजनीतिक अभ्यास हुने बताइन्छ ।

लेखा समिति प्रतिपक्षको भएपछि हरेक क्षेत्रमा सरकारको खबरदारी हुने र सरकार सञ्चालन गर्नका लागि मद्दत पुग्ने धेरैले विश्लेषण गरेका छन् ।

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिएर राष्ट्रिय स्वतन्त्र पार्टीले पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक सन्तुलनलाई प्राथमिकता दिएको चर्चा भइरहँदा अरु प्रतिपक्षी दलहरूलाई भने आलोचना गर्न बुझो लागेको छ ।

अरु समितिमा पनि विज्ञ व्यक्ति

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार १० वटा संसदीय समितिमध्ये ९ वटा समितिको सभापतिमा उम्मेदवारी दियो । शुक्रबार नवै जना व्यक्तिहरू समितिको सभापतिमा नियुक्त भइसकेका छन् । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिएर नौ वटा समितिको सभापति बनाएका रास्वपाका अधिकांश सांसदहरू विज्ञ र सो समितिसँग जानकार व्यक्ति देखिन्छन् ।

पार्टीमा समितिको सभापति बनाउने विषयमा केही नेताहरूबीच मनमुटाव भए पनि प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने बसेर नौ वटा समितिको सभापति योग्य व्यक्तिलाई बनाएको बालेन्द्रको सचिवालय दाबी गर्छ । प्रधानमन्त्रीको सचिवालयले दाबी गरेअनुसार समिति सभापति बन्नका लागि अन्य नेताहरूले पनि आकांक्षा गरेका थिए तर सभापति रवि र प्रधानमन्त्री बालेन्द्र बसेर नौ जना व्यक्तिहरूलाई विज्ञता र वैचारिकताका आधारमा छनोट गरिएको हो ।

‘केही समितिको सभापति बन्नका लागि अरु नेताहरूले पनि इच्छा जाहेर गर्नुभएको थियो तर विज्ञता र वैचारिकता सबै हिसाबले हामीले नौ वटा व्यक्तिहरूलाई समितिको सभापति बनायौं,’ बालेन्द्र निकट स्रोतले भन्यो, ‘संसदीय दलको बैठक बसेर बकाइदा निर्णय भएको हो । त्यस अगाडि सभापतिज्यू र प्रधानमन्त्रीले पटक पटक छलफल गरेर टुंग्याउनुभएको थियो ।’

समितिको सभापति बनाउने विषयमा प्रस्ताव राख्दा संसदीय समितिमा नौ व्यक्तिहरूको विषयमा कसैले पनि नकारात्मक टिप्पणी नगरिकन सर्वसम्मतले पारित गरिएको थियो । कानुन न्याय तथा मानवअधिकार समितिको सभापति बनेकी समीक्षा बास्कोटा पनि सो क्षेत्रसँग विगत लामो समयदेखि काम गर्दै आएकी व्यक्ति हुन् । तत्कालीन विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर समानुपातिक सांसद बनेकी उनी कानुनी र मानव अधिकार क्षेत्रमा सक्रिय काम गर्दै आएकी थिइन् ।

पार्टीले अशोक चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनाएको छ । २०७९ को निर्वाचनमा समानुपातिक सांसद रहेका उनी यसपटक मोरङबाट निर्वाचित भएका थिए । उनी यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् । पूर्वाधार विकास समितिको सभापति बनेका आशिष गजुरेल पनि पूर्वाधार सम्बन्धी जानकार व्यक्ति हुन् ।

शिक्षा समितिको सभापति बनेकी हो ओजस्वी शेरचन पनि शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी व्यक्ति हुन् । राज्य व्यवस्था समितिको सभापति बनेका हरि ढकाल पनि यस क्षेत्रसँग सरोकार राख्ने व्यक्ति हुन् । उनले यस अगाडि पनि सुशासन र सरकारका विषयहरूमा प्रश्न उठाउँदै आएका थिए ।

महिला तथा सामाजिक मामिला समिति सभापति बनेकी आकृति अवस्ती पनि महिलासम्बन्धी र सार्वजनिक विषयमा लामो समयदेखि काम गर्दै आएको व्यक्ति हुन् । संसदीय सुनुवाइ समितिको सभापति बनेका बोधनारायण श्रेष्ठ पनि यस क्षेत्रसँग सम्बन्धित व्यक्ति हुन् । राज्यका निर्देशक सिद्धान्त नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति बनेका गणेश कार्की पनि यस क्षेत्रसँग लामो समयदेखि काम गरेका व्यक्ति हुन् । विभिन्न विषयमा खरो विचार र अध्ययनशील चेत भएका उनलाई पनि यो समितिको सभापति बनाएर पार्टीले न्यायचित ढंगले अगाडि बढाएको देखिन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनसम्बन्धी जानकार रहेकी सुम्निमा हुँदा पनि यो समितिको सभापति बन्दा उनी पनि विज्ञ व्यक्ति भएको टिप्पणी भइरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा दखल राख्ने उनलाई पनि पार्टीले न्यायचित जिम्मेवारी दिएको बताइन्छ । पार्टीमा डाक्टर स्वर्णिम वाग्ले पछाडि अर्थशास्त्र विषयमा राम्रो अध्ययन र जानकार राख्ने कृष्ण हरि बुढाथोकीलाई अर्थ समितिको सभापति बनाइएको छ । अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका उनी समितिको सभापति भएपछि पार्टीमा प्रश्न उठ्ने ठाउँ छैन ।

नेकपा माओवादी केन्द्र परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका रबर अन्सारीलाई उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति बनाइएको छ । अन्सारी पनि यस क्षेत्रसँग जानकार व्यक्ति हुन् । पार्टी महामन्त्री कविन्द्र बुढाकोटी विज्ञता र क्षमताका आधारमा समितिको सभापति बनाइएकाले कुनै पनि व्यक्तिलाई प्रश्न उठाउने ठाउँ नभएको बताउँछन् । उनी सबै हिसाबले अध्ययन र अनुसन्धान गरेर जिम्मेवारी दिएकाले न्यायचित रूपमा कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ५४ बजे

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा