काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच अस्पतालमै भेटघाट भएपछि वाम एकताको विषयले पुनः एक पटक चर्चा पाएको छ । दुई नेताहरूले बाम एकताको विषयमा मुख नखोले पनि अरू नेताहरु दुई जना भेटेर वाम एकताको चर्चा चलाएको दाबी गर्छन् ।
ओली र प्रचण्डको सचिवालयले पनि त्यसको संकेत गरेको छ । तर पार्टीमा वाम एकता हुँदा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनसहितको एकता हुनुपर्ने मत धेरैले राखेका छन् ।
राजनीति विश्लेषकदेखि पार्टीकै नेताहरू पनि अहिलेको नेतृत्व नै रहनेगरी बाम एकता बेमौसमी बाजा भएकाले नबजाउन आग्रह गर्छन् । पहिलो र दोस्रो पुस्ताको सम्मानजनक बिदाइपछि एकताको एजेण्डा उचित हुने युवा नेताहरुको धारणा छ ।
नेताहरू आत्मासमीक्षा गर्ने र पुनर्गठित टिमले एकताको कुरा अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । वर्तमान सरकारलाई टक्कर दिने किसिमको वाम एकता र पार्टीको ध्रुवीकरण हुनुपर्ने बताउँदै तत्कालको एकता वाम एकता नभएको र पार्टीहरूमै पुनर्गठन जरुरी रहेको बताइन्छ ।
अहिले एमालेका वैचारिक र युवा नेताले पुरानै ढर्रा र तरिकाले पार्टीहरू नचल्ने भन्दै पुस्तान्तरण र हस्तान्तरणको एजेण्डा अगाडि बढाइरहँदा पुराना पुस्ता तर्सिएका छन् । एमालेका युवा नेता सुहाङ नेम्वाङ पार्टी पुनर्गठनसहित आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य आरती लामा पनि पार्टीले गम्भीर रुपमा आत्मासमीक्षा गरेर मात्रै अन्य कुराहरू अगाडि बढाउनुपर्नेमा जोड दिन्छिन् । उनी यही नेतृत्वले वर्तमान समस्या समाधान गर्न नसक्ने बताउँछिन् ।
दुवै पार्टीका युवा पुस्ताले पनि पार्टी पुनर्गठनसहित नेतृत्व परिवर्तन र पुस्तान्तरण हुनुपर्ने माग उठाउँदै आएको छ । यस्तो माग उठाउनेमा एमालेका योगेश भट्टराई, बिन्दा पाण्डे, प्रदीप ज्ञवाली, नेकपाका नेताहरु देव गुरुङ, तत्कालीन उपाध्यक्ष पम्फा भुसाल लगायत छन् । दुई नेताको भेटघाटबीच वाम एकताको विषयमा चर्चा भएपनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा दुवै पक्ष मौन छन् ।
दुई नेताहरूले एकता गर्दा आफू नै नेतृत्वमा रहने सुर कसेको खण्डमा तेस्रो पुस्ता विद्रोह गर्न समेत तयार हुनुपर्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको मत छ । उनी अहिलेको पुस्ता नै नेतृत्वमा रहनेगरी वाम एकता गर्नुको कुनै तुक नरहेको बताउँदै पुस्तान्तरण र आत्मसमीक्षासहितको एकता भए जनताले पनि विश्वास गर्ने दाबी गर्छन् ।
हुन त २०७४ सालमा वामपन्थी शक्तिहरुबीच एकता भएको थियो । त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओली, वर्तमान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालबीचको झगडाले त्यो एकता लामो समय जान सकेन । एकता तोडिएसँगै माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमाले पनि दुई भागमा विभाजन भयो ।
हालै सम्पन्न निर्वाचनअगाडि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाए । तर, माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेतृत्वको समूहले विद्रोह गरेर अर्कै पार्टी स्थापना गरेका छन् । जनार्दनको पार्टीले पनि निर्वाचनमा एक सिट समेत जित्न सकेन ।
अहिले उनको पार्टीका नेताहरू पनि सामाजिक रूपान्तरणसहित पार्टीहरूबीच एकता हुनुपर्ने आवाज उठाउन थालेको स्रोतको दाबी छ । निरन्तर टुटफुटका कारण कम्युनिष्ट पार्टीहरु विभिन्न खेमामा विभक्त छन् । वाम राजनीतिक विश्लेषक हरि रोक्का कम्युनिष्टहरूले जुँगाको लडाईं नगरी गम्भीर आत्मासमीक्षाका साथ पार्टीहरूलाई पुनर्गठन गर्नुपर्ने बताउँछन् ।
वाम एकता भए के हुन्छ ?
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसहित अरु बामपन्थीहरू एक भए प्रतिनिधि सभामा वामहरू प्रमुख प्रतिपक्षी दल बन्ने छन् । एकता भए प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल बनेसँगै सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने अवस्थामा यी शक्ति पुग्ने देखिन्छ ।
आजकै दिनमा वाम एकता भएको खण्डमा सरसर्ती अङ्कगणित हेर्दा ६ प्रदेशमा वामपन्थी सरकार बन्नेछ भने ७५३ पालिकामध्ये ३ सय ३० भन्दा धेरैमा वामपन्थी सरकार हुने अवस्था छ । राजनीति विश्लेषक श्याम श्रेष्ठ परिपक्क वाम एकता भएमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सन्तुलित गर्न महत्वपूर्ण हुनसक्ने बताउँछन् । उनी नेपाली कांग्रेसको कलह जस्तो पार्टीभित्रै एकरूपता नभएको अवस्थामा एकताको अर्थ नहुने विश्लेषण गर्छन् ।
नेपाली कांग्रेसमा पनि आन्तरिक कलहका कारण अहिले प्रतिनिधि सभामा दह्रो प्रतिपक्षी हुने सम्भावना देखिँदैन । यता बाम एकता भएपनि अध्यक्षमा ओली अथवा प्रचण्ड नै रहेको खण्डमा प्रतिपक्षीले दह्रो भूमिका निभाउने अवस्था छैन ।
प्रतिपक्षी दह्रो नभएको खण्डमा लोकतन्त्र नै कमजोर हुने भएकाले बलियो प्रतिपक्षी बनाउनका लागि पनि पार्टीहरूले नेतृत्व हस्तान्तरण र पुस्तान्तरण सहितको एजेन्डा अगाडि ल्याएर काम गर्नुपर्ने विश्लेषक बताउँछन् ।
पार्टीभित्र नै एक मत नभएको खण्डमा वाम एकता र अन्य कुनै पनि एकता टिक्न सक्नेमा आशङ्का छन् । अहिले यसबारे एमाले र नेपाली कम्युनिस्ट पार्टीमा पनि बहस चल्न थालेको छ । पार्टीभित्र गम्भीर आत्मसमीक्षा र आत्मआलोचना भएपछि मात्रै नयाँ नेतृत्वले पार्टीमा एकताको छलफल अगाडि बढाउनुपर्ने धेरैको मत छ ।
एकता र नेतृत्व परिवर्तनको सन्दर्भमा एमाले र नेकपाका नेताहरूको आआफ्नै मत देखिन्छ । तर उनीहरू नेतृत्व हस्तान्तरण हुनुपर्ने र पार्टीभित्रै एकरुप धारणा आउनुपर्ने विषयमा एकमत छन् । यति मात्रै होइन, २०७४ सालको जस्तो अपरिपक्व एकता र स्वार्थी राजनीतिले कहीँ पनि नपुर्याउने भन्दै परिपक्क एकता र आत्मसमीक्षासहितको एकतामा उनीहरू जोड दिन्छन् ।
नेताहरू के भन्छन् ?

पुरानो तरिकाले पार्टी चल्दैन, गम्भीर निष्कर्ष निकालौँ : प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य, नेकपा एमाले
वाम एकताको विषयमा कमसेकम संस्थागत छलफल भएको र केही निर्णय भएको जानकारी मलाई छैन । एमालेले एकताको विषयमा त्यो ढंगले कुनै संस्थागत छलफल चलाएको छैन । व्यक्तिगत रुचिका आधारमा वाम एकताको हल्ला चलाइयो या साँच्चिकै नेताहरूबीच त्यस्तो कुराकानी भएको हो नेताहरूले स्पष्टीकरण दिनुपर्छ ।
वाम एकताको लागि पार्टीहरूको अनुकूल समय छ भन्ने पनि मलाई लाग्दैन । किनभने सबैभन्दा पहिले पार्टीहरूले निर्वाचनको क्रममा भएको हार र गल्तीबारे गम्भीर समीक्षा र आत्मलोचना गर्नुपर्नेछ । निर्वाचनमा कम्युनिष्ट आन्दोलन र लोकतन्त्रवादी शक्तिले यति धेरै धक्का किन खानुपर्यो भनेर निष्कर्ष निकाल्न सकेको अवस्था छैन ।
दलहरूले आफ्नो आत्मसमीक्षा नगर्दै र अगाडिको योजना पनि के हो भनेर निर्धारण गरिनसक्दै वाम एकताको छलफल हुन्छ भन्ने मलाई लाग्दैन । नेतृत्व परिवर्तन, हस्तान्तरण र नयाँ पुस्ता अगाडि आउने विषय छलफलमा छन् र हुनुपर्छ । ती विषयलाई पार्टीले क्रमशः ध्यान दिँदै गएका छन् र दिन्छन् भन्ने मलाई लागेको छ। तर पहिलो कुरा के हो भने गम्भीर रुपमा आत्मसमीक्षा गरौँ ।
पहिला पार्टी कहाँ, किन, कसरी र के कारणले चुक्यो ? अब के गर्नुपर्छ कसरी अगाडि बढ्नुपर्छ ? भन्ने विषयमा सबैको धारणा ल्याउने किसिमको छलफल थाल्नुपर्छ । मैले यति भनेँ कि पुरानै अवस्थामा पुरानै परिपाटीले अब पार्टीहरू चल्दैनन् नयाँ सोच नयाँ विचार आउनुपर्छ।
पार्टी पुनर्गठनपछिको एकता टिकाउ हुन्छ : पञ्चा सिंह, केन्द्रीय सदस्य, नेकपा

०७४ सालमा भएजस्तो परम्परागत वाम एकताको पक्षमा हामी छैनौँ । पहिला पार्टी-पार्टीबीच गम्भीर समीक्षा गर्नुपर्छ । गम्भीर समीक्षापछि पार्टी पुनर्गठन हुन जरुरी छ । नयाँ नेतृत्व पार्टीमा आएपछि त्यो कमिटीले वाम एकता लगायत अरु विषयमा निर्णय गर्न पाउनुपर्छ । गम्भीर रूपमा पार्टीबीच आन्तरिक आत्मसमीक्षा मूल्याङ्कन र सुदृढीकरण नभई एकताको विषय सम्भव छैन ।
पार्टीहरूको पुनर्गठन र रूपान्तरण अहिलेको पहिलो सर्त हो । दोस्रो वाम एकता हुँदा पनि ०७४ को जस्तो एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड माधव नेपाल लगायत नेतृत्वमा रहने कुरा अब जनताले कतिको स्वीकार्छन्, त्यो विश्लेषण हुनु जरूरी छ । समग्रमा हेर्दा अब पुरानो नेतृत्वलाई जनताले स्वीकार्दैनन् ।
पार्टीको रूपान्तरण र पुस्तान्तरण सहित नयाँ नेतृत्वले एकताको पहल गरोस् । बाम एकता जरूरी छ, तर यथास्थितिमा एकता गर्यो भने ०७४ सालकोभन्दा खराब हालत पार्टीले व्यहोर्नुपर्छ । आत्तिएर र हतारिएर भएको एकताले अहिलेको पार्टीको संकट टर्दैन ।
अहिले पार्टीहरूको पुनर्गठन हुनुपर्यो र पुनर्गठित कमिटीले वाम एकताका विषयमा प्रक्रिया अगाडि बढाउँदा ठिक होला । अर्को कुरा, नेतृत्व अब युवा पुस्ताले नै सम्हाल्नुपर्छ।
पार्टीभित्रै एकरूपता त्यसपछि वाम एकता : रामकुमारी झाँक्री, राष्ट्रिय सभा सदस्य

वामपन्थी आन्दोलन मात्र होइन समग्र लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलन नै एक हुनुपर्ने अवस्था छ । वाम एकताको कुरा पनि ठिकै छ । तर वाम एकता खण्डित हुनसक्छ त्यसकारण लोकतान्त्रिक प्रगतिशील विचारधाराहरू एक हुनुपर्छ । ०६२/०६३ सालका क्रान्तिका सहकर्मीहरू ०४६ सालको आन्दोलनका साक्षीहरू एक हुनुपर्नेछ । नेतृत्व परिवर्तन गर्ने, पुरानो पार्टीका आ-आफ्ना सिस्टम छन् । त्यसअनुसार नेतृत्व फेर्नुपर्छ । यदि फेर्न सकिँदैन भने अहिलेको आवश्यकता के हो ? त्यसलाई केलाएर त्यस अनुसार अगाडि बढ्नुपर्छ।
यो परिस्थिति किन आयो भनेर विश्लेषण नगरी अड्कल काट्न गाह्रो छ । सर्वप्रथम पहिला पार्टीभित्रै एकरुपता आउन जरुरी छ । पार्टीहरू बीचमै दुई तीनवटा विश्लेषण हुँदा पनि समस्या देखिन्छ । त्यसकारण एमालेको खास कुरा के हो भनेर अगाडि आउनुपर्छ । जब विश्लेषणमा एकरुपता आउँछ, तब मात्रै यसरी अगाडि बढौँ है भन्ने निचोड निक्लिन्छ।
पार्टीभित्रै एकरूपता नभएपछि वाम एकताको अर्थ छैन । पछिल्लो राजनीतिक परिवर्तनको सैद्धान्तिक राजनीतिक र ठोस विश्लेषणबिना गरिने एकता कतिको सम्भव छ भन्ने विषय उठ्ला । लोकतान्त्रिक पद्धतिबाट अब पार्टीको आवश्यकता के हो भनेर छलफल गर्नुपर्छ । यस्तै तरिकाले पार्टी चल्छ भनेर सोचे फेरि हामी खाडलमा पर्ने सम्भावना हुन्छ ।
पार्टीमा एकरुपता नआई भिन्न पार्टीबीच एकता सम्भव छैन । ०७४ सालमा पनि हामीले पार्टी एकता गरेर विभाजनको नमिठो चोट खेपिसकेका छौँ । सबैलाई पाखा राखेर लाज ढाक्न दुई जनाले मात्रै लुगा सिलाएर लाऊँ भन्नु चाहिँ व्यर्थको कुरा हुन्छ । समीक्षा गरेर पार्टीहरूले एक धारणा नबनाएसम्म एकताको कुनै अर्थ छैन ।
एकता हुँदा पनि यो पछिल्लो परिस्थितिलाई चिर्नसक्ने र समाजको तल्लो तहसम्म भिजेको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । मैले पुनः दोहोर्याएँ, पुरानै कार्यशैलीले पार्टीहरूलाई सञ्चालन गर्न समस्या हुन्छ । नवीनतम सोच र विचार आउन जरुरी छ । नयाँ युवा छ तर उसको सोच र विचार नवीनतम छैन, लोकतान्त्रिक पद्धति अपनाएर अगाडि नबढ्ने युवा नेतृत्व छ भने त्यसले पनि काम गर्न सक्दैन । त्यसकारण आवश्यकता, क्षमता, योग्यता के र कस्तो छ भन्ने कुरामा भर पर्छ ।
पुरानो नेतृत्व फेल भयो पुस्तान्तरण र हस्तान्तरणको एकता ठीक छ : रञ्जित तामाङ, युवा नेता, नेकपा

अहिलेको आवश्यकता पुस्तान्तरण र हस्तान्तरणसहितको वाम शक्ति र समाजवादी शक्तिहरूबीचको एकता र ध्रुवीकरण हो । ०७४ मा कम्युनिस्ट पार्टीहरू एक भइसकेपछि समाजवादको लक्ष्य सहितको एजेण्डा र मुद्दालाई जनताले अनुमोदन गरेका थिए।
तर त्यो जनताले दिएको अवसर सदुपयोग गर्न नसकेर नेतृत्वबीच सत्ताको लुछाचुँडी र आन्तरिक बेमेल हुँदा एकता टिकाउन नसक्दा अवसर चुक्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको काम कारबाही हेर्दा पुँजीवादी खेमाअन्तर्गत नै उहाँहरूले नेतृत्व गरेको देखिन्छ किनकि सम्पत्ति विवरण सार्वजनिक भएको आधारमा पनि मूल्याङ्कन गर्ने अवस्था छ।
जनताले पुरानै एजेण्डा व्यक्ति र नेतृत्व स्वीकार गर्ने अवस्था छैन । त्यसकारण पुस्तान्तरण र हस्तान्तरणसहितको समाजवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो । हिजोको कमजोरी बोकेर एकता सम्भव छैन । आजको समय र सन्दर्भअनुसार नयाँ पुस्ता र परीक्षण नभइसकेको पुस्ता नेतृत्वमा आउनु जरुरी छ ।
पुस्तान्तरणसहितको समाजवादी शक्तिहरूको एकता आजको आवश्यकता हो । समाजशास्त्रले नै इतिहासको पुनरावृत्ति हुँदैन भनेको छ । हिजोको दिनमा जुन आवश्यकता थियो, त्यो आजको आवश्यकता होइन । प्रचण्ड र केपी ओलीलाई जनताले ०७४ मा अवसर दिएको हो । उहाँहरूले त्यो अवसर चुकाउनुभयो । अब अब पुनः उहाँहरूलाई नेतृत्वमा लिएर जाने, उहाँहरूलाई नै अगाडि बढाएर जनतासामु जाने कुरालाई जनताले अनुमोदन गर्छन् कि गर्दैनन् भनेर गम्भीर विश्लेषण स्वयम्ले गर्नुपर्छ ।
नेता कार्यकर्ताले त उहाँहरूको नेतृत्व स्वीकार्लान् तर जनताले अब उहाँहरूको नेतृत्व स्वीकार्दैनन् । फेल भयो भन्ने कुराको पुष्टि भइसकेको छ । कुनै नेता कार्यकर्ताले बोल्यो, बोलेन र आफ्नो विचार राख्यो राखेन त्यो आफ्नो ठाउँमा छ । तर नेतृत्व पुस्तान्तरण हस्तान्तरण र नयाँ सोच सहितको सामाजिक एकता आजको अपरिहार्य आवश्यकता हो । यसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्छ । वर्तमान अवस्थामा वामपन्थी एक भएको खण्डमा सरकारलाई पनि निगरानी गर्न सक्छ ।













प्रतिक्रिया