भारतसंग सीमा जोडिएका क्षेत्रमा बर्ड फ्लूको संक्रमण देखिएका बेला कैलालीमा मरेको कुखुराको मासु खाएर २ जना बालकको मृत्यु हुँदा बर्ड फ्लूको संक्रमणले मृत्यु भएको आशंकामा त्रास फैलिएको थियो ।
तर उक्त घटनामा ‘बर्ड फ्लु’ कारक नभएको पुष्टि भएको छ । पशुपन्छी रोग अनुसन्धान प्रयोगशाला धनगढीमा गरिएको पोस्टमार्टम तथा नमूना परीक्षणमा बर्ड फ्लु ‘नेगेटिभ’ आएको प्रयोगशालाका डा.नरेश जोशीले जानकारी दिए ।
जोशीले भने, ‘यो घटना बर्ड फ्लुसँग सम्बन्धित होइन, बाहिर फैलिएको हल्ला निराधार हो ।’ उनका अनुसार कुखुरामा बर्ड फ्लू भएको कारण नभई सडेको मासु खाँदा समस्या भएको पाइएको छ ।
‘कुखुरा पहिले नै मरेको रहेछ र तीन–चार दिनसम्म त्यत्तिकै राखेर खाँदा समस्या भएको देखियो,’ उनले भने । उनले हाल आफ्नो कार्यक्षेत्र तथा सीमा आसपासका क्षेत्रमा पनि बर्ड फ्लूको कुनै संक्रमण नदेखिएको जानकारी दिँदै ‘हामीकहाँ दैनिकजसो कुखुराको नमूना परीक्षण हुन्छ, अहिलेसम्म कुनै पनि केसमा बर्ड फ्लू पुष्टि भएको छैन,’ भनेका छन् ।
कैलालीको चुरे गाउँपालिका ३ भक्तपुरमा स्थानीय विकास पोल्ट्री फर्मबाट मरेको कुखुरा लिएर खाएपछि बिरामी परेका एकै परिवारका ४ जनालाई उपचारका लागि लगिएकोमा ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको थियो ।
उक्त बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बर्ड फ्लूको आशंकामा १ लाख ३० हजार बढी पन्छी नष्ट
यता, पशु सेवा विभागको तथ्यांक अनुसार विभिन्न ६ वटा जिल्लामा बर्ड फ्लूको प्रकोप फैलिँदा नियन्त्रण क्रममा १ लाख ३० हजार ९१२ पन्छी नष्ट गरिएको छ । त्यस्तै २ लाख ३७ हजार ५ सय अण्डा र ३३ हजार ४ सय ४५ केजी दाना समेत नष्ट गरिएको विभागले जनाएको छ ।
चितवन, झापा, मोरङ, सुनसरी, नवलपरासी (पश्चिम) र बारा जिल्लामा संक्रमण फैलिएको छ । तीमध्ये सबैभन्दा बढी प्रभावित सुनसरीमा १७ र मोरङमा १० फार्म रहेका विभागको भनाई छ ।
काठमाडौंमा भने शंखरापुर र चाँगुनारायणका केही स्थानमा मात्र संक्रमण पुष्टि भएको र ती क्षेत्रमा कुखुरा नष्ट गरिसकिएको छ । नेपालमा यस वर्ष पहिलो पटक फागुन ४ मा मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा बर्ड फ्लू संक्रमण पुष्टि भएको थियो । त्यसयता संक्रमण क्रमशः : अन्य जिल्लामा पनि फैलिएको हो ।
संक्रमण फैलिने त्रासले सतर्कता
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार फार्म नजिकका अग्ला रुख, सिमसार क्षेत्र नजिक बसोबास, बायो–सुरक्षामा कमजोरी, सवारी साधन र मानिसको अनियन्त्रित आवतजावत तथा किटाणुशोधन नगरी एग क्रेट (अण्डा राख्ने बाकस) पुनः प्रयोगजस्ता कारणले संक्रमण फैलिने जोखिम उच्च रहन्छ ।
साथै, पन्छी तथा पन्छीजन्य पदार्थको व्यवस्थापन गर्दा व्यक्तिगत सुरक्षा सामग्री प्रयोग नगर्नु पनि जोखिमपूर्ण रहेको उनले बताए ।
यसैबीच, पशु सेवा विभागले ‘बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८’ अनुसार प्रभावित क्षेत्रमा निगरानी, कन्टाइनमेन्ट, सरसफाई तथा कीटाणुशोधन कार्य तीव्र बनाएको जनाएको छ । तीनै तहका सरकार र सुरक्षा निकायको समन्वयमा संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाइएको विभागले जानकारी दिएको छ ।
‘बर्ड फ्लू’ भ्रमको खेती
डा. उपाध्यायका अनुसार सामान्य अवस्थामा बर्ड फ्लू मानिसमा सजिलै सर्दैन । उनले भने, ‘मासु राम्रोसँग पकाएर र अन्डा उमालेर खाँदा संक्रमण हुँदैन ।’
नेपालमा सन २००९ देखि बर्ड फ्लु देखिँदै आएको भए पनि मानिसमा संक्रमण अत्यन्तै दुर्लभ रहेको उल्लेख गर्दै उनले अहिलेसम्म कुखुराको मासु वा अन्डा खाएर मानिसमा सरेको प्रमाण नभएको बताए ।
तर, भाइरसले मानव फ्लुसँग मिलेर नयाँ स्वरूप लिन सक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । खुला सीमाबाट हुने अवैध ओसारपसार, बसाइसराइ गर्ने जंगली पन्छीहरू र एउटै क्रेट बारम्बार प्रयोगलगायतका गतिविधिलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले औँल्याए ।
कुखुरा नष्ट गर्ने प्रक्रिया : ट्याम्पिङ आउट विधि
संक्रमण देखिएको क्षेत्रमा ‘स्ट्याम्पिङ आउट’ विधि अपनाइने गरिन्छ, जसअन्तर्गत संक्रमित फार्म र वरपरका कुखुरा नष्ट गरिन्छ ।
सामाजिक सञ्जालमा देखिएका ‘जिउँदै कुखुरा गाडिएको’ भिडियोहरू भ्रामक रहेको बताउँदै डा. उपाध्यायले स्पष्ट पारे, ‘कुखुरालाई पहिले सुरक्षित तरिकाले मारेर मात्र व्यवस्थापन गरिन्छ, जिउँदै गाड्ने अभ्यास हुँदैन ।’
नेपालमा ठूलो संख्यामा कुखुरा नष्ट गर्दा विकसित देशजस्तो बन्द संरचनामा ग्यास प्रयोग गर्ने सुविधा सीमित भएकाले उपलब्ध सुरक्षित विधि नै प्रयोग गरिने गरेको उनले बताए ।
सन्तुलित सन्देश र आग्रह
बर्ड फ्लूबारे सन्तुलित र तथ्यमा आधारित जानकारी आवश्यक रहेको बताउँदै अनावश्यक डर वा गलत प्रचारले कुखुरा व्यवसाय र उपभोक्ता दुवैमा असर पार्न सक्ने तर्फ उनले सचेत गराएका छन् ।
सामान्यतया संक्रमित कुखुरासँग नजिकको सम्पर्कमा रहने व्यक्तिहरूलाई मात्र सर्ने सम्भावना हुन्छ । ‘फार्ममा काम गर्ने कामदारहरू यदि बारम्बार संक्रमित कुखुरासँग सम्पर्कमा आए भने जोखिम हुन सक्छ,’ उनले भने ।
अन्त्यमा, उनले बजारबाट किनेर ल्याइएको मासु वा अन्डा सेवन गर्दा संक्रमण नहुने स्पष्ट पारे । ‘मासु राम्रोसँग पकाएर र अन्डा उमालेर खाँदा कुनै जोखिम हुँदैन,’ उनले पुनः जोड दिए ।













प्रतिक्रिया