म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले « Khabarhub

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । 

हिउँदयाममा चिसो छल्न र आहराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–३ हुुचिन र सोलवाङमा पाँच महिना राखेको गोठ लेकतर्फ लैजान मुनाको जौबारीमा सारेको स्थानीय किसान यामप्रसाद पुनले बताए।

‘बेँसीका फाँटमा बर्खेबाली लगाएपछि हप्तारदश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ’, उनले भने, ‘पाँच हजार मिटर उचाइको बुकी पाटनमा बर्खामा पोषिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेँसी झार्ने गर्छौँ ।’ बेँसीबाट उकालो लागेका गोठ भदौमा हिमालको फेदीका बुकी पाटनमा पुर्याउने र असोजमा बेँसी झार्ने चलन  छ ।

गोठालाहरूले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेस्र्याएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । 

ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण र धवलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ । हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ्य, बलिया र दूधालु हुने धवलागिरि गाउँपालिका–५ मल्कवाङका देवान छन्त्यालले बताए। 

धवलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्धार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले लेकतर्फ लैजानुअघि पशुहरूलाई महामारीविरुद्धको खोप लगाइएको जानकारी दिए । खोरेत, पिपिआर, भ्यागुते, चरचरे र रेबिज रोगबाट पशुलाई बचाउन गण्डकी प्रदेशको पशुमा पूर्णखोप कार्यक्रममार्फत निःशुल्क खोप लगाइएको उनले बताए। 

प्रदेश सरकार र स्थानीय तहहरूले घुम्ती गोठ निर्माणका लागि अनुदानका लागि बजेट विनियोजन गरे पनि नीतिगत समस्याका कारण किसानले सुविधा पाउन सकेका छैनन् । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन संकटमा परेको छ ।

लेकाली क्षेत्रमा व्यक्तिगत जग्गा नभएको र सार्वजनिक जग्गामा संरचना बनाउँदा हुने खर्चलाई महालेखा परीक्षक तथा अख्तियार आकर्षित हुने हुँदा बजेट परिचालन हुन नसकेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।
 

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ३६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम