दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित « Khabarhub

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यसको प्रभाव आमनागरिकको दैनिक जीवन र सेवा प्रवाहका विभिन्न क्षेत्रमा देखिएको छ । 

विशेषगरी स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बिदाको निर्णयले सिर्जना गरेको जटिलताले अस्पतालहरूको कार्यशैली र व्यवस्थापनमा ठूलो फेरबदल ल्याएको छ ।

अस्पतालहरूमा शल्यक्रिया (सर्जरी) तालिका प्रभावित हुनु, बिरामीको चाप थेग्न कठिन हुनु र उपलब्ध जनशक्तिलाई नयाँ समयतालिकामा ढाल्नु अस्पताल प्रशासनका लागि मुख्य चुनौती बनेको छ ।

बिदाको समय तालिका र अस्पतालको जनशक्ति व्यवस्थापनबीचको तालमेल मिलाउन अहिले शिक्षण अस्पताल, ट्रमा सेन्टर र वीर अस्पतालले आफ्ना कार्यतालिका नै परिवर्तन गरेका छन् ।  

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिदाका कारण अस्पतालमा बिरामीको चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । 

‘मौसम परिवर्तन र खेतीपातीको सिजनका कारण अस्पतालमा बिरामीको चाप सधैं उच्च हुन्छ, त्यसमाथि दुई दिनको बिदाले थप दबाब सिर्जना गरेको छ’ उनले भने ।

उनका अनुसार हाल अस्पतालमा शल्यक्रियाको तालिका प्रभावित भएको गुनासो बढेको छ । ‘जब दबाब बढ्छ, सीमित क्षमताले गर्दा सबै शल्यक्रिया समयमै गर्न सकिँदैन, त्यसैले केही शल्यक्रिया पछि धकेलिनु स्वाभाविक हो’ उनले स्वीकारे । 

सेवा निरन्तरता कायम राख्न अस्पतालले हरेक शुक्रबार ‘अतिरिक्त सिफ्ट’ चलाउने योजना बनाएको छ । हाल कति शल्यक्रिया स्थगित भए भन्ने यकिन तथ्यांक संकलन भइरहेको अस्पतालले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यतालिका हेरफेर 

राष्ट्रिय ट्रमा सेन्टरले बिदाका कारण सेवा सञ्चालनमै सास्ती भएको बताएको छ । सूचना अधिकारी शिवप्रसाद निरौलाका अनुसार दुई दिनको बिदाले अस्पतालको कार्यतालिका नै बिग्रिएको छ । 

बिहान ९ देखि ५ बजेसम्मको ड्युटी समयका कारण साविकमा सञ्चालन हुँदै आएको ‘एक्सटेन्डेड हस्पिटल सर्भिस’ जसमा ५ बजेपछि शुल्क तिरेर शल्यक्रिया गरिन्थ्यो—त्यसमा पनि असर परेको छ ।

यस समस्यालाई सम्बोधन गर्न ट्रमा सेन्टरले वैशाख १४ देखि लागू हुने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तो छ नयाँ तालिका

सोमबारः अर्थोपेडिक, जनरल सर्जरी, न्युरो सर्जरी

मंगलबारः अर्थो युनिट–१, ईएनटी, सिएसआर 

बुधबारः अर्थो युनिट–२, बनर््प्लास्टिक, आर्थोप्लास्टी

बिहीबार: अर्थो युनिट–३, न्युरो, बर्नप्लास्टिक

शुक्रबारः अर्थो, ईएनटी र आर्थोस्कोपी 

साथै, ईएचएस सेवा बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गरिने र ट्रमा सर्जरीलाई उच्च प्राथमिकता दिइने सेन्टरले जनाएको छ । 

वीर अस्पतालमा ‘रोटेसन प्रणाली’ मार्फत सेवा व्यवस्थापन

वीर अस्पतालमा बिदाका कारण बिरामीको चाप केही बढेको देखिए पनि अस्पताल प्रशासनले यसलाई सामान्य रूपमा लिएको छ । 

जनरल सर्जन डा. दीपा श्रेष्ठका अनुसार अस्पतालले पहिलेदेखि नै ८ः३० देखि ४ः३० सम्म सेवा दिँदै आएको र अहिले समयमा सामान्य फेरबदल मात्र भएकाले सेवामा कमी नआएको बताइन् ।

अस्पतालले सेवालाई थप पारदर्शी र व्यवस्थित बनाउन नयाँ ‘रोटेसन प्रणाली’ लागू गरेको छ । यसअन्तर्गत युनिट १, २ र ३ ले आलोपालो प्रणालीमा ओपीडी, अपरेशन थिएटर र वार्डको जिम्मेवारी सम्हाल्नेछन् । 

अस्पतालले जारी गरेको नयाँ तालिका अनुसार सोमबारः युनिट १ (वार्ड), युनिट २ (ओटी), युनिट ३ (ओपीडी) सञ्चालन हुनेछ । त्यस्तै मंगलबारः युनिट १ (ओटी), युनिट २ (ओपीडी), युनिट ३ (वार्ड) सेवा दिईनेछ । 

साप्ताहिक जिम्मेवारीः बुधबार (युनिट १), बिहीबार (युनिट ३), र शुक्रबार (युनिट २) लाई तोकिएको छ ।

सरकारको दुईदिने बिदाको निर्णयसँगै स्वास्थ्य क्षेत्रमा देखिएको दबाबलाई कम गर्न अस्पतालहरूले आन्तरिक व्यवस्थापनमा कसरत गरिरहेका छन् । 

सम्बन्धित निकायहरूले स्वास्थ्य सेवा प्रभावित नहुने गरी कार्यतालिका मिलाउने प्रयास गरिरहे पनि आम नागरिक भने उपचारका लागि सहज पहुँचको माग गरिरहेका छन् । 

सरकारले गरेको यो अभ्यास राम्रो भएपनि सरकारी स्वास्थ्य संस्थाका लागि पर्याप्त जनशक्ति नहुँदा व्यवस्थापनमा समस्या भइरहेको अस्पतालका कर्मचारीहरू बताउँछन् । 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ७ : ५४ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको