काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको हुन्छ दोस्रोमा त्यहीबाट सुरु हुन्छ । सिक्वेलमा फिल्मको नामको मात्रै प्रयोग हुन्छ । ब्रान्डमा रुपमा फिल्मको शीर्षकलाई प्रयोग २, ३ थपिन्छ ।
‘नाइ न भन्नु ल’, ‘होस्टल’, ‘छक्का पञ्जा’लगायत सिरिज हुन् । ‘जारी’ र ‘कबड्डी’हरु सिक्वेल हुन् ।
ब्रान्ड बनिसकेकाले सिरिज र सिक्वेलमा दर्शकको चासो रहन्छ । सोहीकारण यस्ता फिल्मबाट कलाकारहरू चर्चित हुने सम्भावना हुन्छ ।
नायक अनमोल केसीको हकमा भने यो कुरा उल्टो भएको पाइन्छ । अनमोल फिल्म ‘होस्टल’बाट उदाए । यसको सिक्वेलबाट थुप्रै नायक नायिका स्थापित भए । तर, अनमोल स्थापित भएपछि फिल्म सिरिज ‘छड्के २’मा अभिनय गरे ।
दर्शकले रुचाएको ‘छड्के’को सिरिज गर्दा उनी नराम्ररी बजारिए । त्यसपछि उनले विश्राम लिएर सोचविचार गरी फिल्म साइन गरे । छड्के २ लाई उनले करिअरको पहिलो इनिङको अन्तिम फिल्म घोषणा गरे ।
तर, अनमोलकै ब्रान्ड बनाएको फिल्म ‘होस्टेल’ सिरिजबाट उदाउने कलाकारको सूचीमा लामो छ । यस सिरिजबाट डेब्यू गरेर चर्चित बनेकी नायिका स्वस्तिमा खड्का पनि हुन् । अहिलको अवस्थामा सबैभन्दा डिमान्डमा रहने नायिका उनै हुन् ।
सिक्वेलबाटै उदाएकी मिरुना
नायिक मिरुना मगर सिक्वेलबाट उदायकी नायिका हुन् । उनी स्थापित बन्नुको जस रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’लाई जान्छ ।
त्यसअघि मिरुनाले तीन फिल्ममा अभिनय गरेकी थिइन् । तीनै फिल्म फ्लप भयो । दर्शक हलमा नपुगेपछि उनी चर्चामा आउन सकेकी थिइनन् । जब ‘कबड्डी ४’ हिट भयो । उनी व्यस्त नायिकामा गनिन थालिन् ।
त्यसपछि ‘जारी’ र ‘ऊनको स्वीटर’ जस्ता हिट फिल्मको उनको व्यवसायिक ग्राफ थप उकालो लाग्यो । उनी क्वालिटी फिल्म दिने नायिकामा गनिन्छिन् ।
होस्टेलमा चर्चामा आएकाहरू
होस्टल सिरिजलाई नयाँ कलाकार जन्माउने ब्रान्डका रुपमा चिनिन्छन् । हुन पनि यो सिरिजमा डेब्यू कलाकारले नै मौका पाउँछन् । टिनएजर टार्गेट यो फिल्मको सबै सिक्वले व्यवसायिक रुपमा ठीकठाक हुँदा कलाकारहरूको करिअरमा फाइदै पुगेको छ । यस सिरिजमा डेब्यू गरेर सबैभन्दा बढी सफल बनेकी नायिका स्वस्तिमा खड्का नै हुन् ।
‘होस्टल २’बाट नायक स्वस्तिमासँगै नायक सुशील श्रेष्ठ र नाजिर हुसेन पनि हुन् । सुशील पनि स्थापित स्टार नायकका रुपमा गनिन्छन् । अहिले उनको एक्सन फिल्ममा बढी झुकाव देखिन्छ ।
नाजिरको हातमा फिल्मको कमी छैन । ‘होस्टल २’पछि उनी सहायक कलाकारका रुपमा संघर्ष गरे । पछिल्लो केही वर्षदेखि उनले आफूलाई शीर्ष नायकका रुपमा प्रस्तुत गर्न थालेका छन् ।
तथापि, उनी शीर्ष भूमिकामा रहेको फिल्म व्यवसायिक रुपमा सबै असफल छन् । तर, उनी अभिनय क्षमताकै कारण स्थापित कलाकारमा गनिन्छन् ।
‘होस्टल २’बाट पारस बम ‘कुल ब्वाइ’, ‘पदम तामाङ’ र ‘सिम्रन पन्त’ चर्चामा आए । ०८१ सालमा प्रदर्शनमा आएको उक्त फिल्मपछि यी कलाकारहरूको व्यस्तता बढ्दो छ । सिम्रनले अर्को हिट फिल्म ‘आबाट आमा’मा पनि अभिनय गरिसकेकी छन् ।
पदमले ‘गोबर गणेश’मा अभिनय गरिसके । पारस अहिले फिल्म ‘बेहुली’को छायाङ्कनमा छन् । उनी डिमान्ड राम्रो छ तर, चुजी देखिएका छन् ।
‘नाईं नभन्नु ल’
सबैभन्दा बढी सिक्वेल बनेको फिल्मबाट तीन कलाकार उदाएका छन्– अनुभव रेग्मी, वर्षा सिवाकोटी र आशीर्वाद क्षेत्री हुन् ।
‘नाइ न भन्नु ल २’बाट बाल कलाकारका रुपमा अनुभव रेग्मी उदाएका हुन् । उनी यस फिल्मका लिड कलाकार हुन् । यही फिल्मपछि उनको डिमान्डका बाल कलाकार बने ।
किशोर अवस्थामा पुगेपछि उनी न बालकलाकार न युवा नायकमा फिट भए । सोहीकारण उनको अहिले फिल्ममा आएका छैनन् । तर, उनको चर्चा स्थापित नायकको जस्तै हुने गर्छ ।
‘नाईं न भन्नु ल २’बाटै नायिका वर्षाले डेब्यू गरेकी हुन् । फिल्ममा उनको भूमिका सानो छ तर हिट बनेको गीतमा उनको अभिनय छ । सोहीकारण उनी दर्शक र मेकरको नजरमा परिन् । उनलाई फिल्म पाउन सहज भयो । अहिले उनी व्यस्त नायिकामा पर्छिन् ।
नायक आशीर्वाद क्षेत्रीको डेब्यू फिल्म ‘नाईं नभन्नु ल ६’ हो । यो फिल्म व्यापारिक रुपमा मध्यम भयो । तर, चर्चित सिरिजबाट डेब्यू गरेकाले अन्य मेकरको नजरमा पर्न आशीर्वादलाई सहज भयो ।
अहिले पनि उनी फिल्ममा सक्रिय छन् तर स्थापित बन्न प्रयासरत छन् । एक हिट फिल्मको खोजीमा उनी देखिन्छन् ।













प्रतिक्रिया