काठमाडौं- यही वैशाख १३ गते उपचारका क्रममा बाँकेको वैजनाथ गाउँपालिकाकी ६२ वर्षीया बिरामी दिलसरा विकको भेरी अस्पतालमा मृत्यु भयो । हाइपोथाइराइडिज्म, टाइप–२ मधुमेह र उच्च रक्तचापको समस्या रहेकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
दिलसराको मृत्यु भएको दुई दिनपछि वैशाख १५ गते उनका आफन्तहरू कुशल दर्लामीसहितको समूहले अस्पताल प्रमुखलाई कार्यकक्षमै घेराउ गर्दै चिकित्सकहरूको लापरवाहीले आफन्त गुमाउनु परेको भन्दै उपचारमा संलग्न भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे र अस्पताल प्रमुख डा. निराजन सुवेदीमाथि दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसम्म दिए ।
उपचारमा संलग्न चिकित्सक र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टलाई कार्यकक्षमै पुगेर दुर्व्यवहार र ज्यान मार्ने धम्की दिने आशयको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भेरी अस्पतालका चिकित्सकहरूले आफूहरूमाथि दुर्व्यवहार र ज्यान मार्ने धम्की दिने समूहमाथि कारवाही तथा सुरक्षाको प्रत्याभूति माग गर्दै अस्पतालको इमर्जेन्सी लगायत अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।
चिकित्सकहरूमाथि दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा कुशल दर्लामी पक्राउ परेपछि दोषीमाथि कारवाही र सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरू ड्युटीमा फर्किएका छन् ।
त्यस्तै, उपचारकै क्रममा बिरामीको मृत्यु भएको भन्दै जनकपुरधामस्थित निजी अस्पताल कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा पनि आफन्तहरूले तोडफोड गरेका छन् ।
यही वैशाख १६ गते पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएपछि उनको उपचारमा लापरवाहीका कारण मृत्यु भएको आफन्तहरूको आरोप छ ।
यता अस्पतालले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रियापछि केही समयसम्म अवस्था सामान्य रहे पनि एक्कासी रक्तचाप घटेपछि उनको मृत्यु भएको हो ।
यी त उदाहरण मात्रै हुन् । उपचारका क्रममा बिरामीको मृत्यु भएका धेरै घटनामा उपचारमा लापरवाही भएको भन्दै अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणका घटना बारम्बार दोहेरीने गरेका छन् ।
बारम्बार यस्ता घटना दोहोरिनुको कारण के हो ?
अस्पताल तथा चिकित्सकमाथि हुने आक्रमणका घटना बढ्नुको मुख्य कारण चिकित्सक र बिरामीबीच बढ्दो दूरी, कमजोर संवाद, अवास्तविक अपेक्षा र राज्यको स्वास्थ्य क्षेत्रप्रतिको दीर्घकालीन बेवास्ता रहेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तीपाल सुवेदी बताउँछन् ।
नेपाल चिकित्सक संघ (एनएमए) को उपाध्यक्ष पदका प्रत्याशीसमेत रहेका डा. सुवेदी अस्पतालमा हुने आक्रमणका घटनालाई केवल कानुनी कमजोरीको परिणाम मात्र नभई समग्र स्वास्थ्य प्रणालीको विफलताको उपजका रूपमा व्याख्या गर्छन् । उनका अनुसार चिकित्सकमाथि हुने आक्रमणका पछाडि पहिलो कारण बिरामी र चिकित्सकबीचको समन्वयको अभाव हो ।
”चिकित्सकले हेर्ने बिरामीको चाप अत्यधिक छ, जटिलता पनि धेरै हुन्छन् । यस्तो अवस्थामा सबै कुरा विस्तारमा बुझाउन सकिने अवस्था हुँदैन,” उनले भने, “तर बिरामी पक्षले भने अन्तर्राष्ट्रिय स्तरको सेवा अपेक्षा गरिरहेको हुन्छ ।”
गुगल र च्याटजीपीटीमा देखिएको उपचारको स्तर खोजिएपनि हाम्रो देशका स्वास्थ्य संस्थाले त्यो स्तरको सेवा दिन नसकेका कारण अविश्वास र आक्रोश बढाएको उनले बताए । डा. सुवेदीका अनुसार उपचारका क्रममा स्वाभाविक रूपमा देखिन सक्ने जटिलतालाई पनि बिरामी पक्षले चिकित्सकको लापरबाहीका रूपमा बुझ्ने प्रवृत्ति बढेको छ ।
हरेक जटिलतालाई चिकित्सकको गल्ती ठानिन्छ । यसको एउटा कारण समाजमा चिकित्सकविरुद्ध बनाइएको नकारात्मक भाष्य पनि हो, उनले भने, चिकित्सकलाई ‘लुटेरा’ र ‘ठग’ का रूपमा चित्रण गरिँदा त्यसको प्रत्यक्ष असर चिकित्सक–बिरामी सम्बन्धमा परेको छ ।”
सरकार पनि जिम्मेवार
उनले चिकित्सकको कामलाई केवल ‘नौदेखि पाँच’ को जागिरका रूपमा बुझ्नु गलत भएको बताए । “चिकित्सकको फोन अफ हुँदैन, ड्युटी सकिए पनि अस्पतालबाट बोलावट आउन सक्छ । व्यक्तिगत समय पनि अस्पतालकै लागि खर्च भइरहेको हुन्छ,” उनले भने, “तर यो श्रम र मानसिक दबाबको कहिल्यै मूल्यांकन भएन ।”
डा. सुवेदीले चिकित्सकको मनोबल खस्किनुमा सरकारको व्यवहार पनि जिम्मेवार रहेको बताए । उनका अनुसार चिकित्सकलाई राज्यले ‘संवेदनशील सेवा’ दिने जनशक्तिका रूपमा नभई ‘दैनिक ज्यालादारी’ सरह व्यवहार गरिरहेको छ ।
“काम गराउने बेलामा न्यूनतम सुविधा, तर अपेक्षा भने उच्चतम । यसले सरकार र चिकित्सकबीचको दूरी पनि बढाएको छ,” उनले भने । विशेषगरी प्रसूति सेवामा आक्रमणका घटना बढी देखिनुको कारणबारे बोल्दै उनले मातृ–शिशु स्वास्थ्यबारे समाजमा रहेको गलत बुझाइलाई जिम्मेवार ठहर गरे ।
“पहिले घरमै सुत्केरी गरिन्थ्यो भन्ने तर्क गरिन्छ, तर त्यतिबेला नेपालमा प्रति लाख आमामध्ये ५३० जनाको मृत्यु हुन्थ्यो,” उनले भने, “अहिले त्यो दर १५१ मा झरेको छ । यो प्रगति देखिँदैन, तर जटिलता हुँदा सिधै चिकित्सकमाथि दोष लगाइन्छ ।”
उनका अनुसार विकसित देशमा समेत सुत्केरीका क्रममा आमा वा शिशुको मृत्यु हुने जोखिम रहन्छ, तर नेपालमा भने आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारमा लगानी नगरी चिकित्सकमाथि मात्र दोष थोपर्ने प्रवृत्ति बढेको छ ।
चिकित्सक संघ किन कमजोर?
डा.सुवेदीले नेपाल चिकित्सक संघले चिकित्सकका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको पनि स्वीकार गरे ।
“चिकित्सकको कामको समय, सेवा सुविधा, डाक्टर–बिरामी अनुपात, चिकित्सक पलायनजस्ता विषयमा संघले सशक्त आवाज उठाउनुपर्थ्यो,” उनले भने, “तर संघ कमजोर हुँदा चिकित्सकहरू एक्लिएका छन् ।”
उनले अहिले पनि धेरै दक्ष चिकित्सक स्थायित्व, सम्मान र काम गर्ने वातावरण नपाएर विदेशिन बाध्य भएको बताए । “धेरै चिकित्सक पैसा मात्रै खोजेर विदेश गएका होइनन्, उनीहरूले आफ्नो दक्षता प्रयोग गर्ने अवसर र सुरक्षित भविष्य खोजेका हुन्,” उनले भने । एनएमएलाई बलियो बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताउँदै डा.सुवेदीले संघभित्र पारदर्शिता, युवा नेतृत्वको प्रवेश र व्यापक सदस्यता विस्तारमा जोड दिए ।
“चिकित्सक संघ बलियो भए मात्र चिकित्सकको मनोबल बढ्छ, राज्यसँग संवाद बलियो हुन्छ र बिरामीसँगको दूरी पनि घट्छ,” उनले भने । उनले चिकित्सक संघलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने आवश्यकता पनि औंल्याए ।
“सरकार अनुकूल हुँदा मौन र प्रतिकूल हुँदा मात्रै आन्दोलन गर्ने प्रवृत्तिले संघ कमजोर बनायो,” उनले भने, “अब चिकित्सकको पक्षमा राम्रो निर्णय आए समर्थन गर्ने, प्रतिकूल निर्णय आए संगठित प्रतिवाद गर्ने स्वतन्त्र संस्था चाहिन्छ ।”
डा.सुवेदीका अनुसार अस्पतालमा हुने आक्रमण रोक्ने दीर्घकालीन उपाय भनेकै स्वास्थ्य क्षेत्रमा लगानी, पर्याप्त जनशक्ति, प्रभावकारी संवाद र चिकित्सक–बिरामी सम्बन्धमा विश्वास पुनःस्थापना गर्नु हो । “सम्बोधन बिस्तारै सुरु भयो भने दूरी पनि बिस्तारै घट्छ,” उनले भने ।













प्रतिक्रिया